यौनकाण्डमा मुछिएपछि उपप्रधानमन्त्रीको राजीनामा

डेमियन ग्रिन।

लन्डन- यौनकाण्डको आरोपमा बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले पदबाट राजीनामा दिएका छन्। यौन दुर्व्यवहार गरेको भनी गरिएको छानबिनमा दोषी पाइएपछि उनले राजीनामा दिएका हुन्।

बेलायतकी प्रधानमन्त्री टेरेसा मेका निकटस्थ मानिने उपप्रधानमन्त्री डेमियनले राजीनामापछि फेरि अर्काे एउटा दुर्घटना निम्तिने विश्लेषण गर्न थालिएको छ। उनलाई आचारसंहिता उल्लंघन गरेको भन्दै केही वर्षदेखि अनुसन्धान गरिएको थियो।

उनलाई उक्त अनुसन्धानले दोषी ठहर गर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो। उनको राजीनामा प्रधानमन्त्री मेले बिहीबार नै स्वीकृत गरेकी छन्।

उनले आफ्नो राजनीतिक दलका एकजना सहकर्मी महिलालाई दुर्व्यवहार गरेको र अश्लील दृश्यहरू कम्प्युटरमा पठाएको आरोप लागेको थियो। सन् २००८ मा भएको भनिएको यस घटनामा उनीमाथि अनुसन्धान भएको थियो।

उनको कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लील सामग्रीबाट नै यो प्रमाणित भएको थियो। डेमियनले ती सामग्रीबारेमा झूटो जानकारी दिएको अनुसन्धानको निष्कर्ष थियो। अश्लील सामग्रीका अतिरिक्त उनले आफ्नै दल कन्जरभेटिभकी एक महिलालाई दुर्व्यवहार गरेको दाबी गरिएको थियो। त्यसबारे पनि उनीमाथि अनुसन्धान भइरहेको थियो। उपप्रधानमन्त्री डेमियन प्रधानमन्त्री मेका निकटस्थ राजनीतिज्ञ हुन्। डेमियनले पनि आफूले त्यस्तो कुनै गल्ती नगरेको दाबी गर्दै आएका थिए।

यो पनि हेर्नुहोस्:

राजीनामा दिएर फर्केका उपाध्याय हारेपछि गाउँगाउँमा

पाक सेनाप्रमुखद्वारा राजीनामा दिने चेतावनी

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्