आगलागी हुँदा दर्जनौँ टहरा जले

खोटाङ-केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा दर्जनौँ टहरा जलेर नष्ट भएको छ।

गए राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको दर्जनभन्दा बढी टहरा जलेर नष्ट भएको हो।

राति करिब २ बजेको समयमा आगलागी भएको थाहा भएपछि स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।

बजारकैबीचमा रहेको टहरामा लागेको आगो बेलैमा निभाइएका कारण ठूलो क्षति हुनबाट जोगाइएको केपिलासगढी गाउँपालिकाका प्रमुख कृष्ण राईले बताए।

गाउँपालिका प्रमुखकै घर अगाडिबाट आगो शुरु भएको पाइएकाले घटनालाई स्थानीयवासीले शंकास्पद मानेका छन्।

टहरामा भएको आगलागीका कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए।

 

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्