झापाको यो ज्यानमारा कल्भर्ट

सुरुंगा– झापा देशभरमा सुगम ठाउँ भनेर चिनिन्छ। धेरजस्तो सवारी दुर्घटना दुर्गम स्थानका सडकहरुमा हुने गरेका समाचारहरु प्रकाशमा आउने गरेका छन्। अहिलेसम्मको प्रहरी तथ्यांकका आधारमा भन्ने हो भने दुर्घटनामा मृत्यु हुनेहरुको संख्या सुगम स्थानमा भन्दा दुर्गममा नै बढी छ। तर झापामा यस्तो एउटा स्थान छ जहाँ सवारी दुर्घटना भइसक्दा हतपति मान्छे बाँच्दैनन्। त्यो स्थान हो, पूर्वपश्चिम राजमार्गमा पर्ने झापाको कनकाई नगरपालिका वडा नं ८ मा पर्ने जुके कल्भर्ट।

सोही कल्भर्टमा गत मंसिर १ गते बालाचतुर्दशीका दिन अर्जुनधारा जलेश्वर धाममा सद्विउ छरेर फर्कँदै गरेका दमकका ढकाल दम्पतीको ज्यान गयो । विहानै बा. ३ ख ८५८७ नम्बरको माइक्रोबसले ठक्कर दिँदा दमक नगरपालिका ३ का रंगलाल ढकाल र उनकी श्रीमती मनमाया ढकालको ज्यान गएको थियो।

जुके कल्भर्टमा करिब १९ बर्षदेखि पसल गरेर बस्ने खेममाया अधिकारी त्यहाँ भएका दुर्घटनाको साक्षी छिन्। केही वर्षअघि एक जना बाइकवाला त्यही दुर्घटनामा परेर मृत्यु भएको घटनासमेत उनले विर्सिन सकेकी छैनन्। केही महिनाअघि सुरुंगाकै एकजना बाइकवाला पनि त्यहीँ दुर्घटनामा परेर मृत्यु भएको लगायत त्यस्ता अनेकौं घटनाको फेहरिस्त अधिकारीले सुनाइन्। उनले भनिन्, ‘मैले यहाँबाट अनेकौं दुर्घटना देखेकी छु। १९ वर्षदेखि यहाँ सवारी साधन जुध्छन्। दिनदिनै यहाँ दुर्घटनाको संख्या बढदो छ।’

अधिकारीका अनुसार साँघुरो सडक र छेउछाउमा मानिस हिँड्ने बाटोसमेत नभएकाले उक्त स्थानमा दुर्घटनाको जोखिम छ। त्यसमाथि पनि जामुनखाडी सीमसार क्षेत्र जाने बाटो र राजमार्ग दक्षिणतिरका बस्ती जाने बाटो कल्भर्ट नजिकै भएकाले पनि दुईवटा गाडी वारपार हुन गाह्रो हुन्छ त्यहाँ। एक किलोमिटर पूर्व र एक किलोमिटरकै दुरीमा पश्चिसम्म सिधा बाटो भएकाले त्यस स्थानमा सवारी साधनको गति अति तीब्र हुने अधिकारीको भनाइ छ।

जुके कल्भर्टमै विगत एकबर्षदेखि डेरी पसल सञ्चालन गरेर बसेकी पवित्रा अधिकारी पनि त्यस्ता दुर्घटनाको प्रत्यक्षदर्शी हुन्। उनले जामुनखाडी मान्छे लैजान बसेका इरिक्साका कारण पनि बढी दुर्घटना हुने गरेको बताइन्। कतिवटा इरिक्सालाई त बसले उछिट्याई दिएका घटना पनि उनले सुनाइन्। उनका अनुसार त्यहाँ दुर्घटनामा पर्नेहरु हतपति बाँचेका छैनन्।

उनले भनिन्, ‘मैले एक वर्ष गरेको अनुभवमा यहाँ दुर्घटनामा परेकाहरु बाँचेका छैनन्। ‘स्पट डेथ’ नै भएको छ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार उक्त स्थानमा दुर्घटनामा पर्नेहरु हतपति बाँचेका छैनन्। ट्राफिक प्रहरीले त्यहाँ दुर्घटना रोक्न ड्रम लगायतका बस्तु सडकमा राखेर सवारी साधनको गति सीमित गर्न प्रयास गरे पनि सफल हुन नसकेको प्रहरी नायव निरीक्षक कालिदास रेग्मीले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको तथ्यांकअनुसार जुके कल्भर्टमा गत साउन महिनायता ९ वटा दुर्घटना भएका छन् । त्यस्मा ७ जनाले ज्यान गुमाएका छन् भने ७ जना सख्त घाइते भएका छन्।
कन्काई नगरपालिका ८ को जुके कल्भर्ट।

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्