दुई खेलपछि काठमाडौंलाई अंक

काठमाडौँ- एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटमा बिहीबार चितवन टाइगर्सलाई तीन विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलेभेनले लगातार दुई हारको क्रम तोडेको छ। पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४२ रन जोडेको थियो।

चितवनको पालीमा दिलिप नाथले ४६, साबेज खानले २७, योगेन्द्र कार्कीले १७ र कमल ऐरीले १२ रन बनाए। काठमाडौँले १९.२ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। काठमाडौँको पालीमा कप्तान फार्विज माहरुफले ३९, अमित श्रेष्ठले ३८, सागर कुमारले २३ रन जोडे। काठमाडौँले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो।

काठमाडौंले तीन खेलबाट दुई अंक जोडेको छ। चितवनले दुई खेल खेले पनि अंक जोड्न सकेको छैन। त्यसअघि बिहीबार भएको पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई चार विकेटले हराउँदै भैरहवा ग्लाडिएर्टसले लगातार दोस्रो जित हात पार्‍यो। रोमान्चक खेलमा भैरहवाले एक सय ४२ रनको लक्ष्य अन्तिम बलसम्म खेलेर पूरा गर्‍यो। भैरहवाको पालीमा पुनित विष्टले ५०, रोहित कुमारले अविजित ३१ र आरिफ शेखले २७ रन बनाए।

अन्तिम बलमा एक रन आवश्यक भएका बेला कृष्ण कार्कीले चौका प्रहार गरेका थिए। उनले सामना गरेको त्यो पहिलो बल थियो। ४९ रन जोड्दा चार विकेट गुमाएको भैरहवाले पाँचौं विकेटका लागि ५९ र छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरेको थियो।

पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४९ रन जोडेको थियो। ललितपुरको पालीमा योगेश नागरले ५४ र कप्तान ज्ञानेन्द्र मल्लले ४२ रनको योगदान गरे। जयकिशन कोल्सवालाले १४ रन बनाए।

ललितपुरका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नागरले ३३ बलमा एक छक्का र सात चौका प्रहार गरे। मल्लले २९ बलमा तीन छक्का र दुई चौका हिर्काए।

भैरहवाका दिपेश श्रेष्ठले तीन तथा आरिफ शेख र पुनित मिश्राले दुई दुई विकेट लिए। शरद भेषावकरले पनि एक विकेट हात पारे। भैरहवाले आफ्नो पहिलो खेलमा बुधबार काठमाडौँ‍लाई हराएको थियो। दुई खेलबाट विराटनगर वारियर्स र भैरहवाको समान चार अंक छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले तीन खेलबाट दुई अंक जोडेको छ। ललितपुरले लगातार दोस्रो हार ब्यहोरेको हो।

यो पनि हेर्नुहोस्:

भैरहवाको लगातार दोस्रो जित

काठमाडौंद्वारा एक सय १९ रनको लक्ष्य प्रस्तुत

पारसको टीम विराटनगर वारियर्स विजयी

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्