प्रचण्डले भने, ‘जनताले चाहे संविधान फेर्न सकिन्छ’

काठमाडौं-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको फैसलाभन्दा ठूलो केही नहुने बताएका छन्।
 देशभक्त गणतान्त्रिक मञ्चले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले संविधानको व्याख्यामा अनेक तर्क गरिए पनि जनमतलाई कसैले नकार्न नसक्ने बताएका छन्।  ‘जनताले चाहेमा संविधानलाई राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताबाहेक सबै परिवर्तन गर्नसक्ने हाम्रो संविधानमा नै उल्लेख छ,’ उनले भने।
प्रचण्डले वाम गठबन्धनको एजेण्डा जनताले अनुमोदन गरेको भन्दै अब विकास र समृद्धितर्फ लाग्नुपर्ने बताए। ‘जनताले वाम गठबन्धनको एजेण्डालाई अनुमोदन गरेका छन्। अब हामीले संयुक्त घोषणापत्रमा उल्लेख गरे अनुसारको काम गरेर देशलाई समृद्धितर्फ लानुपर्छ,’ उनले भने।
पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्न गरेको संघर्षपछि मुलुकका लागि सबैभन्दा बढी संघर्ष गर्ने जनताले आफूलाई दिएको अवसर कहिले नबिर्सने उनले बताए।  ‘म आफूलाई भाग्यमानी ठान्छु। मैले आधुनिक नेपालका लागि भएको सबै संघर्षमा नेतृत्व गर्ने मौका पाएको छु र त्यो मौका मलार्ई जनताले दिएका हुन्। ऐतिहासिक जनयुद्धको नेतृत्व गर्ने मौका जनताले दिए। शान्तिप्रक्रियाको मौका पनि पाएँ। मैले आधुनिक नेपालको जनताको लामो प्रतिक्षाको संविधान लेख्ने मौका पनि पाएँ’, उनले भने, ‘यो अवसर बिरलै नेताहरुले प्राप्त गर्छन्। यस अर्थमा म भाग्यमानी रहेछु।’
प्रचण्डले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न अब सबै एक हुनुपर्ने बताए। उनले भने, ‘राष्ट्रिय पार्टी बन्ने पाँच पार्टीलाई जनताले देश विकासका लागि अवसर दिएका छन्। त्यसमा पनि हामी वाम गठबन्धनलाई जनताले अलिक धेरै जिम्मेवारी दिएका छन्। यस अर्थमा हामी गम्भीर र संवेदनशील भएर अघि बढनु पर्छ।’

यो पनि हेर्नुहोस्:

‘प्रचण्डको नेतृत्व मा रगत बगायाैँ, ओलीको नेतृत्वमा पसिना बगाउँछौँ’

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्