अष्टलक्ष्मी – अविचलित संघर्षपछि मुख्यमन्त्रीको बोझ

अष्टलक्ष्मी शाक्य

काठमाडौँ- समृद्धि र सम्पन्नताले कमै मानिसलाई संवेदनशील बनाउँछ। र, अष्टलक्ष्मी शाक्य त्यो दुर्लभ कोटीमा पर्छिन्। परिवारको आर्थिक सम्पन्नताका कारण  सुखसुविधा र शिक्षाको अवसर उनका लागि सुलभ भए पनि त्यसले छोराछोरीबीचको विभेद अथवा असमानताविरुद्ध उनको मनमा मौन आगो सल्कियो। १७ वर्षको उमेरमा त्यो आगो फैलिदै जाँदा समाजमा रहेका विसंगति र असमानताविरुद्ध आफ्नो दायित्वबोध भयो।

बुवाआमाले निर्धारित गरेको विवाहलाई अस्वीकार गरी भूमिगत राजनीतिको अनिश्चित तर अठोटसहितको यात्रामा उनी निस्किन २०३६ सालमा। ४६ सालमा प्रजातन्त्र पुर्नस्थापनापछि मात्रै उनको भूमिगत जीवन समाप्त भयो। पार्टीको पाँचौ महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएकी शाक्य अहिले ६४ वर्षको उमेरमा प्रदेश सभाको सदस्य चुनिएकी छन् बामगठबन्धनबाट। र, प्रदेश तीनको भावी मुख्यमन्त्रीको दायित्व वहन गर्न तयार रहेको बताए पनि बाम गठबन्धनको औपचारिक  निर्णयको प्रतिक्षामा छन्। परिवारिक पृष्ठभूमि, राजनीतियात्रा, संघर्ष, सफलता र भावी सपनाबारे देशसञ्चारकी दीपा दाहालसँग अष्टलक्ष्मीको बयान उनकै शब्दमा:

सम्पन्न घरमा जन्म

२०१० सालमा महाअस्टमीका दिन मेरो जन्म भएको थियो। घरमै गरगहना बनाउने कारखाना थियो। खानलाउन कुनै दुःख थिएन। बुवाको सुन व्यापारको सफलताले मेरोअघि शिक्षादीक्षासहित समृद्धि र विलासी जीवन बिताउने बाटो बेलैमा खुलेको थियो। छोराछोरीलाई पनि फस्टाउँदै गरेको सुन व्यापारमा संलग्न गराउने सपना बुन्न बुवाआमाले ढिलो गर्नु भएन। तर, सम्पन्नताले भरिएको घरमा छोराछोरीमाथि हुने गरेको विभेदले मलाई घोच्न थाल्यो।

समाज पनि असमानताबाट ग्रसित थियो। समाजको संस्कार सिकाउन छोरीलाई मात्र तालिम दिने चलन थियो। मेरा आँखाहरु विद्यालयका किताaभन्दा धेरै त्यस्तै विभेदमा जान थालिसकेको थियो पत्तो नपाई। २०२८ सालमा एसएलसी पास गर्ने बेलासम्ममा मेरो सामाजिकसँगै राजनीतिक चेतना खुलिसकेको थियो। त्यो मेरो बुवाआमाले पत्तो समेत पाउनुभएन। सम्पन्नता भएर पनि धेरै बोल्न, बाहिर अबेरसम्म रहन, भिडभाडमा हिँड्न, निर्णयमा सामेल हुन बन्देजजस्तै गरिएको समाजमा हुर्किएको मलाई त्यसबाट मुक्ति पाउन महिलाको परनिर्भरता हटाउनुपर्छ भन्ने लाग्थ्यो। छोरीले पनि काम गरेर कमाउनुपर्छ भन्ने भावना आयो।

चिनियाँ भाषाको मोह र दक्षता

एसएलसीको नतिजा आउन केही महिना लाग्ने भएपछि चिनियाँ भाषा सिक्न थाले। सुलोचना मानन्धर मिल्ने साथी, उनीसँगै चिनियाँ भाषा सिक्नेक्रम अघि बढ्यो। भाषामा दक्षता भए अन्तर्राष्ट्रिय मुलुकलाई बुझ्न सकिने उनले चिनियाँ भाषा सिकेपछि अनुभव गरे। चिनियाँ भाषाले मलाई चीनको राजनीतिक व्यवस्थालाई बुझ्न सहयोग गर्‍यो। त्यहाँको विभेदरहित समाजले मलाई उक्सायो। नेपालमा पनि परिवर्तनको आवश्यकता छ भन्ने महसुस मैले चर्चित व्यक्तिको जीवनी र उनीहरुको योगदानसम्बन्धी किताब अध्ययन गरेपछि  गरेँ।

घरमै बन्धक

लुकिछिपी राजनीति गरिरहेको थिएँ। चिनियाँ भाषा सिकेपछि राजनीतिमा सक्रियता बढिसकेको थियो। बाहिर समय धेरै बिताउने, घरमा अबेर आउन थालेपछि बुवाआमाले शंका गर्न थाल्नुभयो। छिमेकीले मेरो कुरा काट्न थाले। मैले इज्जत फाल्छु भन्ने डर बुवाआमालाई भयो। मेरो हिँडडुलमा अंकुश लाग्न थाल्यो। मलाई विवाह गरेर पठाउने एकल निर्णय भयो । बुवाआमाले सुपारीसमेत लिइसकेको मलाई पत्तो भएन। त्यो बेला विवाह गर्दा मेरो राजनीतिक यात्रा अन्धकारमा धकेलिने निश्चित थियो।

मलाई विवाह गर्ने केटाको बहिनीलाई बोलाएर सुटुक्क सुपारी फिर्ता गरेँ, विवाह नगर्ने निर्णय सुनाएँ। त्यसपछि मेरो घरमा भाँडभैलो भयो। विवाह नगर्ने निर्णय गर्दा सबैभन्दा ज्ञानी र असल छोरी मानिने म परिवारमा सबैभन्दा नराम्री सावित भएँ। मलाई कोठामै ताल्चा लगाएर खाना समेत नदिएर थुनियो। एक महिनासम्म बन्धक बनेँ। कोठामा थुनिँदा मैले मजस्ता धेरै महिला थुनिएको अनुभव गरेँ।

बुवालाई चिठी, भूमिगत यात्रा

बन्धक हुँदा म कमजोर होइनँ, झन निडर भएँ। यसरी नै बन्धक भइराख्यो भने राhनीतिक यात्रा अघि बढ्दैन भन्ने लाग्यो। साथीहरुलाई पत्र पठाएर घर छोड्ने निर्णय गरेँ। मैले भूमिगत भई पूर्णकालीन बनेर राजनीति गर्ने निधो गरेँ। त्यसका लागि म बन्धकमुक्त हुन चाहन्थेँ। र, सुरु गरेँ नाटक मञ्चन। अब कतै जान्नँ तपाईँहरुले भनेको मान्छु भनेर आमालाई फकाएँ।  घरमै बसेर काम गर्न थालेपछि भोजमा जाने अनुमति मिलेको थियो।

मलाई विवाह गर्ने केटाको बहिनीलाई बोलाएर सुटुक्क सुपारी फिर्ता गरेँ, विवाह नगर्ने निर्णय सुनाएँ। त्यसपछि मेरो घरमा भाँडभैलो भयो। विवाह नगर्ने निर्णय गर्दा सबैभन्दा ज्ञानी र असल छोरी मानिने म परिवारमा सबैभन्दा नराम्री सावित भएँ। मलाई कोठामै ताल्चा लगाएर खाना समेत नदिएर थुनियो। एक महिनासम्म बन्धक बनेँ।

२०३६ साल पुस ६ गते (संयोगले आजकै दिन) मलाई अब नखोज्नुहोला तर आफ्नो ख्याल गर्नुहोला भनेर चिठी लेखेँ र त्यो चिठीबहिनीलाई बुवाको सिरानीमुनी राख्न लगाएँ। आमालाई भने साथीको भोजमा जानु छ भनेँ र सबै गरगहना झोलामा हालेँ। यतैबाट लगाएर जानेहोला नि, आमाले भन्नु भयो। मैले साथीकोमै पुगेर लगाउँछु भनेँ। कहिल्यै नफर्कने गरी घर छोड्दै थिएँ। मन भारी भइरहेको थियो। आँसुले आँखा भरिसकेका थिए। पाइला भने अघि बढिरहे। भोजको बहानासँगै मेरो कठीनपूर्ण राजनीतिक यात्रा सुरु भयो। मलाई सिन्धुपाल्चोकको विकट पिस्कर गाउँ पठाइयो जहाँ थामी समुदायको बस्ती थियो।

खानपान, रहनसहन, भूगोल सबै भिन्न थियो। सहरको याद आउँथ्यो तर सम्पन्नताको वहानामा बोकिने खोक्रो आदर्शभन्दा गाउँको साधारण र इमानको जीवनले मलाई तान्न धेरै बेर लागेन। भूमिगत जीवन (२०३६ देखि ४६ सालसम्म) मा मैले सिन्धुपालचोकदेखि झापासम्मका गाउँ छिचोलेँ। मेची अञ्चलकै महिला संघको नेतृत्व गरेँ। त्यतिञ्जेल म समाज र व्यक्तिगत स्वार्थभन्दा माथि उठिसकेको थिएँ।

बोहोराबाट सदस्यता, उनीसँगै विवाह

भूमिगत भएकै बेला पार्टीका सिनियर नेता अमृत बोहोरा र म नजिकियौं। निस्ठापूर्ण जीवन र इमानको राजनीतिले गर्दा म उहाँप्रति आकर्षित भएको थिएँ।  उहाँ भने मेरो सहरको सुविधासम्पन्न जीवन त्यागेर गाउँको दुःख छिचोल्न पुगेको जीवनमा तानिनुभएको थियो। जात नमिले पनि सिद्धान्त मिल्दा हामी एक हुने निर्णय गर्यौ। वर्गीय भावनाबाट हामी नजिकै थियौं।  विवाहबारे हाम्रो निर्णय पार्टीले स्वीकृत गर्नुपर्ने थियो। त्यसमा साथ पायौं र पार्टीको झण्डामुनि सँगसँगै राजनीतिक जीवन अगाडि बढाउने सपथका साथ विवाह गर्‍यौँ। र, अहिलेसम्म हामी त्यो वाचामा अडीग छौं।

विवाहपछि राजनीतियात्रा अघि बढाउन मलाई पारिवारिक जिम्मेवारीले कठिन नभएको होइन। तर उहाँको सहयोगमा म निरन्तर अघि बढिरहेँ। महिलासंघको कार्यक्रम गर्दा इलाममा जेल जीवन बिताएँ। तर पनि अघि बढिरहेँ। २०४६ सालमा झापामा पार्टी कमिटिको बैठक भइरहेका बेला हामी सबै पक्राउ पर्‍यौँ। नेता भन्ने थाहा पाएपछि मलाई प्रहरीले जेलभित्रै सिस्नुपानी लगाउन थाल्यो। यातनापूर्ण जीवन अब कहिले सकिन्छ भन्ने सोचिरहेका बेला मुलुकमा बहुदल स्थापना भयो। र, सबै साथीहरु झण्डा फहराएर हामीलाई जेलमुक्त गर्न आए।

भूमिगत भएकै बेला पार्टीका सिनियर नेता अमृत बोहोरा र म नजिकियौं। निस्ठापूर्ण जीवन र इमानको राजनीतिले गर्दा म उहाँप्रति आकर्षित भएको थिएँ।  उहाँ भने मेरो सहरको सुविधासम्पन्न जीवन त्यागेर गाउँको दुःख छिचोल्न पुगेको जीवनमा तानिनुभएको थियो। जात नमिले पनि सिद्धान्त मिल्दा हामी एक हुने निर्णय गर्यौ।

राजनीतिले टुटाएको सम्बन्ध परिवर्तनले जुटायो

भूमिगत हुँदा एकपटक मात्रै मैले बुवालाई भेट्ने मौका पाएको थिएँ। त्यो पनि जेलभित्र। बहुदल स्थापनासँगै हामी काठमाडौं आयौं। तर हामीसँगै केही थिएन, न त परिवारका सदस्य सम्पर्कमा थिए। डेरा लिएर हामी बस्न थाल्यौँ। तितरवितर परिवार खोज्न लागेँ। मैले छोडेपछि घरमा ठूलो संकट आएछ। बुवाआमामा झगडा सुरु भएछ र भिन्दाभिन्दै बस्न थाल्नु भएको रहेछ। मैले परिवारका सबै सदस्यलाई जम्मा गरेँ र सम्झाएँ। त्यतिञ्जेल म सांसद भइसकेको थिएँ। उहाँहरुलाई पनि मैले केही राम्रो गरेको अनुभव भएको थियो। अन्ततः सबै परिवार एकै ठाउँमा बस्न थाल्नु भयो। त्यसले मलाई धेरै नै खुसी दियो।

प्रजातन्त्रको पुर्नस्थापनापछिको यात्रा

म पार्टीको पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य भएँ। नवौँबाट पार्टीको उपाध्यक्ष पनि। पार्टीको निर्णय अनुसार निस्ठा पूर्णरुपमा जीवनभर काम गरेँ। आफ्नो जिम्मेवारीबाट अलग कहिल्यै भएन। दुईपटक मन्त्री पनि भइसकेको छु। प्रतिनिधि र राष्ट्रिय सभाको सदस्य पनि भएँ। यसपालिको चुनावमा नलड्ने सोच थियो। तर साथीहरुले मानेनन्। मलाई राजनीतिक यात्राले पछुतो हैन, सधै गर्व गर्ने ठाउँ छ।

राजनीतिक चुनौती

नेपाली जनताको ठूलो त्याग र तपस्यापछि नेपाल अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ। संविधानले सबै नागरिकको सबै अधिकार सुनिश्चित गरेको छ। परिवर्तनका आवाज पनि बुलन्द भएका छन्। तर पनि अहिलेसम्मको उपलब्धि गुम्ने हो कि भन्ने डर छ। आर्थिक समृद्धिको ढोका नखुलेसम्म नेपाली जनतामा खुसी नआउने मेरो निष्कर्ष छ। अब सबै राजनीतिक दलका नेताहरु मिलेर राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र समतायुक्त समाजको निर्माण गर्नु पर्छ।

मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न तयार

संघीयता कार्यान्वयन गर्न प्रदेशसभाको ठूलो भूमिका छ। साथै केन्द्र र स्थानीय तहलाई जोड्न पनि। प्रदेश निर्वाचन मेरै नेतृत्वमा सम्पन्न भएको हो। मुख्यमन्त्रीको जिम्मेवारी दिए सहजतापूर्वक स्वीकार गर्छु। ममा अठोट पनि छ नेतृत्व गर्ने। यो प्रदेशलाई गरिबी र बेरोजगार मुक्त बनाउने मेरो अभियान हुने छ। मुख्यमन्त्रीको रुपमा मात्रै होइन, सिंगो सरकार आयो भने के गर्ने, हामीले समृद्धिको खाका हामीले कोरेका छौँ। जलस्रोतका हिसाबले अपार धनी छ यो प्रदेश। पर्यटन क्षेत्रलाई अत्यन्तै व्यवस्थित गर्नु पनि छ। किनभने यो प्रदेश प्राकृतिक सुन्दरताले भरिएको  छ। यी सबैको उपयोग गर्न सकेमा हामीले सोचेको समृद्धि आउने छ।

तस्बिरहरु: दीपा दाहाल

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्