निर्देशक अवतारमा नगरकोटी

बिहिबार ‘लालपुर्जा’को ट्रिजर रिलिजपछि दरबारमार्गस्थित एक क्याफेमा कुमार नगरकोटी । तस्विरः भुपेन्द्र खड्का

काठमाडौं-

उनले जस्तै पोशाक लगाएको अर्को मान्छे भेट्न गाह्रो छ ।

उनले जस्तै लेख्ने अर्को नेपाली लेखक भेट्न पनि गाह्रो छ ।
उनले जस्तै शोख राख्ने अर्को शौखिन भेट्न पनि गाह्रो छ ।

अरूसँग नमिल्ने लेखाइले उनी साहित्य जगतमा स्थापित भए ।
अरूले भन्दा बोल्ड र खुला अन्तर्वार्ता दिएर सञ्चारमाध्यममा छाए ।
अरूले भन्दा बेग्लै अभिनयका साथ रंगमञ्चमा उपस्थित भए ।
हुँदा हुँदा फिल्मको अतिथि लेखक र अतिथि कलाकारसम्म भए ।

आफ्नो बेग्लैपन र प्रयोगशील यात्रालाई अर्को खुड्किलोमा पुर्‍याउने भएका छन् कुमार नगरकोटीले फिल्मको निर्देशक र लेखक बनेर ।

बिहिबार काठमाडौंको क्युज सिनेमा हलमा उनीको अतिथि लेखन र अतिथि अभिनय रहेको चलचित्र ‘लालपूर्जा’को टिजर र गीत सार्वजनिकीकरण कार्यक्रममा ‘नेगेटिभ बुद्ध प्रोडक्सन’का निर्माता विक्रमसिंह थारूले आगामी फिल्मको निर्देशक र लेखक कुमार नगरकोटी हुने उद्घोष गरे । जसको सह-निर्देशन लालपूर्जाका निर्देशक निगम श्रेष्ठले गर्नेछन् ।

लालपूर्जा सोही प्रोडक्सनको ब्यानरमा निर्माण भएको जसमा सौगात मल्ल, विपिन कार्की, मिरूना मगर, हरिहर शर्मा, मेनुका प्रधान, कामेश्ववर चौरासिया, कमलमणि नेपाल, अनिल पाण्डे लगायत कलाकारहरूले अभिनय गरेका छन् । विक्रमसिंह थारू र उमेश श्रेष्ठ निर्माण गरेको उक्त चलचित्रको मूल लेखक विक्रमसिंह थारू र निगम श्रेष्ठ हुन् । चलचित्रमा नाइट ब्याण्डले संगीत दिएको छ । चलचित्र माघ ४ गते रिलिज हुँदैछ ।

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्