खानेपानीको पाइप चुहिएर पोखरामा सडक भासियो

पोखरा- पोखराको जिरो किलोमिटर फिर्केमा बिहीबार बिहान भासिएको सडक खानेपानीको पाइपबाट पानी चुहिएका कारण भासिएको बताइएको छ।

सडक किनारको खानेपानीको मुख्य पाइपको जडान खुकुलो हुन गई पानीसँगै माटो बग्न थालेर सडक भासिएको नेपाल खानेपानी संस्थानका ओभरसियर लक्ष्मण पाण्डेले बताए।

केही दिनअघि मात्रै निर्माण सम्पन्न सडकमा किनारमा बाहिरी माटो ल्याएर सडक छेऊछाऊको भुभाग पुरिएको थियो। सडक मर्मतका बेला प्रयोग भएका हेभी साधनको डोजर र रोलरको कम्पनको कारणले पानीको मुख्य लाइनमा जोडिएको भाग खुकुलो हुन जाँदा पानी चुहिएर सडक भासिन पुगेको पाण्डेले जानकारी दिए। उनले छिट्टै ‘वासआउट’ राखेर यसको समाधान गर्ने बताए।

‘यो समस्या अन्त पनि देखिन सक्छ’, उनले भने, ‘हामीसँग समस्याको पहिचान गर्ने प्रविधि र साधन छैन, समस्या देखिएपछि मात्रै समाधान गर्ने हो।’

त्यसो त पोखराको भुगर्भिक अवस्थाले धेरै पोखरेलीलाई चिन्तित बनाउँदै आएको छ। बेला बेला शहरका मध्यभागमै देखिने यस्ता भ्वाङहरुले पोखरा साँच्चै भुबनावटको हिसाबले कमजोर नै हो त भन्ने प्रश्नहरु आइरहेका हुन्छन्।

चार वर्षअघि पोखराको अर्मलास्थित ठुलीबेसीफाँटमा विभिन्न ठाउँमा जमिन भासिएको थियो। त्यसैगरि पोखराका केही भागको भूसंरचना कमजोर रहेको विज्ञहरुले भन्दै आइरहेका छन्। पोखराको न्युरोड, नदीपुर, लेकसाइड, छोरेपाटन , फूलबारी, नयाँबजार, अर्मलालगायतका क्षेत्रको भुसंरचना कमजोर रहेको तथ्यांकले देखाएको छ।

यी बाहेकका केही ठाउँमा पनि बेलाबेला भ्वाङ देखिँदै आएका छन्। पोखराको जमिनमा कमेरो माटोको मात्रा धेरै भएकाले पनि वर्षायाममा यो बग्दै जाँदा जमिन भासिने समस्या देखिने गरेको भुगर्भविद् डा. कृष्ण केसी बताउँछन्।

पोखराको भौतिक संरचनालाई सेती नदीको गल्छी, डेभिस फल्स, महेन्द्र गुफा, चमेरो गुफाभित्र ‘अण्डरग्राउण्ड इरोजन’ ले पनि जमिनको भुभागलाई कमजोर पार्दै लगेको केसीको भनाइ छ। भुगर्भिक संरचनाको अवस्थालाई वेवास्ता गर्दै निर्माण गरिएका संरचनाले जुनसुकै बेला पनि विपत्ति निम्त्याउन सक्ने डा. केसीको भनाइ छ। केसीले जोखिम न्यूनिकरणका लागि पूर्वसर्तकता अपनाउन जरुरी रहेको बताए।

सन् १९९८ को प्रतिवेदनले पोखरामा सेती नदीको डिल (नदीपुर देखि रातो पैह्रो सम्म ) फिर्के खोला छेउछाऊ गुप्तेश्वर गुफा, अर्मला क्षेत्र उच्च जोखिमको क्षेत्र भनिएको छ। यस्तै नदीपुर, महेन्द्रपुल, तेर्सापट्टी, चिप्लेढुङ्गा, न्युरोड, पुरानो बसपार्क, हरियो खर्क, पार्दी, लामाचौरका केही भाग, दीप लगायतका क्षेत्रलाई जोखिम क्षेत्रको रुपमा उल्लेख गरेको थियो। उच्च जोखिमका क्षेत्रमा बढी भार हुने खालका संरचना निर्माण नगर्न प्रतिवेदनले सुझाएको भए पनि अहिलेसम्म यस क्षेत्रमा संरचना निर्माणको काम रोकिएको छैन।

‘पोखराको सबै क्षेत्र जोखिममा परेको होइन,’ भुगर्भविद् केसी भन्छन्, ‘केही ठाउँ उच्च जोखिममा छ, यसतर्फ सचेत हुन सके कुनै क्षति ब्यहोर्नु पर्दैन।’

यो पनि हेर्नुहोस्:

पोखरामा सडक भासियो

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्