प्रदेश राजधानीको आन्दोलनमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन

धनगढी- राष्ट्रिय जनमोर्चा कैलालीले प्रदेश राजधानीका लागि हुने कुनै पनि आन्दोलनमा सहभागी नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ।

प्रदेश नम्बर ७ को राजधानीका लागि चर्चा परिचर्चा सुरु भइरहेका बेला राष्ट्रिय जनमोर्चाले राजधानीका बारेमा हुने कुनै पनि आन्दोलनमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन जारी गरेको हो।

जिल्ला अध्यक्ष लक्षिराम आचार्यले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै देशमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भर्खरै सम्पन्न भएका बेला प्रदेश राजधानी कहाँ बनाउनेबारे चर्चा परिचर्चा भइरहेको र त्यसले क्षेत्रीय विवाद पैदा हुने भएकाले त्यस्ता आन्दोलनमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिनुभएको हो।

‘हाम्रो पार्टी क्षेत्रीय विवादलाई गलत मान्छ, हामीले सुरुदेखि नै सरकारले एउटा अधिकार सम्पन्न आयोगको गठन गरी त्यसले प्रदेशको भौगोलिक स्थिति र अन्य सबै पक्षमाथि ध्यान दिएर नै प्रदेशहरुका राजधानीका लागि सुझाव दिनुपर्नेमा जोड दिँदै आएकोले उपरोक्त प्रकारका कुनै पनि आन्दोलनमा राष्ट्रिय जनमोर्चाका सदस्यहरु संलग्न नहुन निर्देशन गर्दछु’, जारी विज्ञप्तिमा छ।

कैलालीको अत्तरियामा राजधानी माग गर्दै केही दिनअघि दबाब समूहले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाएको थियो। उक्त समूहले अत्तरियामा राजधानी माग गर्दै आन्दोलन गर्ने जनाएको छ।

यो पनि हेर्नुहोस्:

रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

 

 

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्