बाँझिएको काँसघारी बन्यो काउलीबारी

काँकडभिट्टा-मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अर्ग्यानिक कृषि फार्म शुरु गरेका छन् ।

युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रुपमा काउली, बन्दागोभी र रायोको साग बजारमा ल्याइसकेको छ ।

‘हाम्रा सबै उत्पादन विषादीरहित हुन्छन्’, फार्मका सञ्‍चालक धुलाबारी निवासी तेजबहादुर आचार्यले भने, ‘सबैको साथ पाए नमूना कृषि फार्मका रुपमा मुलुकभर चिनाउने योजना छ ।’

आचार्यसँगै रामहरि नेपाल, तेजबहादुर आचार्य, धननारायण श्रेष्ठ, इन्दिरा कार्की, राजेन्द्र कडरिया, चिरञ्जीवी भट्टराईलगायत समूहले रु २२ लाखको लागतमा यसैवर्षदेखि फार्म सुरु गरेको हो ।

अनुत्पादक कासघारीका रुपमा रहेको बाँझो जमिन भाडामा लिएर उनीहरुले तरकारी उत्पादन गरेका हुन्। उत्पादन भएको काउली र रायो फार्मबाटै बिक्री भइरहेको सञ्चालक चिरञ्जीवी भट्टराई बताए।

फार्ममा लसुन, आलु, खुर्सानीलगायत तरकारी हुर्किरहेको छ। छिट्टै हाइटेक टनेल निर्माण गरेर बाह्रमासे सब्जी र नर्सरी उत्पादनको तयारी भइरहेको उनले बताए।

फार्ममा झापा, सोलुखुम्बु र ताप्लेजुङका गरी १६ जना जेटिएका विद्यार्थी अध्ययनरत छन्। उनीहरुले फार्ममै अध्ययन तथा बालीको रेखदेख र स्याहार गर्दैआएको सञ्चालक रामहरि नेपालले बताए। उनी भन्छन्, ‘ बजारको समस्या छैन।’

 

 

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्