नउडे पनि चढ्न सकिन्छ हवाइजहाज

काठमाडौं-

झट्ट हेर्दा ह्यांगर जस्तो लाग्छ।

ह्यांगर अर्थात् जहाज पार्किङ गर्ने ठाउँ।

काठमाडौं सिनामंगलमा रहेको जहाज भने अर्को उडानका लागि ह्यांगरमा राखिएको होइन । त्यो त सपना हो वेद उप्रेतीको । दुई वर्ष अघि त्रिभुवन विमानस्थलमा ल्यान्ड गर्ने बेलामा दुर्घटनामा परेर काम बडी काम नलाग्ने भएर थन्किबसेको टर्किस एयरलाइन्सको एयरबस ए ३२० जहाजमै उनले सौन्दर्य देखे । मान्छेका रहर फुल्ने बगैंचा ठाने । त्यही सपनाको मूर्त रूप हो ‘एभिएसन म्युजियम’ ।

ठ्याक्कै पारीपट्टि रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका जहाजमा सधैँ सबै पुग्न गाह्रो हुन्छ । तर, जहाज चढ्ने मन त सबैको हुन्छ नि ! । त्यो रहर पुरा गर्ने सजिलो ठाउँ बनेको छ – एभिएसन म्युजियम ।
यही मंसिर ११ देखि सर्वसाधारणकालागि खुला गरिएको म्युजियमले एक महिनामै दर्शकको मन जितेको छ । दिनहुँ ६ देखि ७ सयले म्युजियम घुम्ने गरेको म्युजियमका कर्मचारी बताउँछन् । सार्वजनिक बिदा र शनिबारको दिन भने तिन गुणा बढी मानिसहरु आउने बताए उनले ।

नभन्दै गेटमै भेटिइन्, ९६ वर्षिया ओम कुमारी सिलवाल । उनी निकै उत्साहित थिईन्। गोदावरी स्थायी घर भएकी सिलवालले विदेश जाँदा प्लेन चढेकि त थिइन् तर नेपालमै ठुलो प्लेन हेर्न पाइन्छ भन्ने सुनेर घुम्न आएको बताईन्। उनी सँगैआएकी पचहत्तर बर्षिय पूर्ण कुमारी सिलवाल नजिकैबाट प्लेन नदेखेको भन्दै प्लेन हेर्न म्युजियम आएको बताईन्।

उडड्यन क्षेत्रबारे जानकारी दिने र राजधानीमा पर्यटक गन्तव्य विकास गर्ने उद्धेश्यले म्युजियम स्थापना गरिएको ट्रष्टका संरक्षण बेद उप्रेती बताउँछन्।

इन्डोनेसियाको वालीमा प्रशिक्षक पाइलटको रुपमा कार्यरत उप्रेतीले वालीबाट च्याटमा कुरा गर्दै भने, ‘म्युजियम सुरु गएपछि अपेक्षा गरे भन्दा धेरै राम्रो प्रतिक्रिया पाएकाले निकै उत्साहित भएको छु।’

उनले भविष्यमा संग्रहालयबाट हवाई सुरक्षाका तालिम र एयरहोस्टेजको कक्षा पनि संचालन गर्ने योजना रहेको सुनाए।

दुर्घटनामा क्षतिग्रस्त भएर बेकामे बनेको टर्किस एयरलाइन्सको एयरबस अहिले उडान अनुभवको हब बनिरहेछ ।

म्युजियममा म्यानेजर राजु महत शनिबार र सार्वजनिक बिदाको दिन म्युजियमका कर्मचारीलाई फुर्सद नै नहुने बताउँछन्। उनले कात्तिक १९ गते विद्यार्थी र मंसिर ११ गते सर्वसाधारणलाई म्युजियम खुला गरीए पछि करिब ५० हजारले म्युजियम भ्रमण गरेको बताए। गत शनिबार करिब १ हजार तिन सय कक्षा ९ देखि १२ सम्मका बिद्यार्थी र १ हजार २ सय ३७ अन्य गरि दूई हजार ५ सय ३७ जनाले म्युजियम भ्रमण गरेको महतले जानकारी दिए।

म्युजियमले विद्यालयको सिफारिस सहित आउने ९ देखि १२ कक्षाका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। उप्रेती एभिएसन उद्योग तर्फ विद्यार्थीलाई आकर्षित गर्न ९ देखि १२ कक्षा सम्मका विधार्थीलाई निःशुल्क गरेको बताउँछन्।

 

के छ म्युजियममा ?

म्युजियमका प्रबन्धक महत टर्किसको जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट म्युजियम बनेको स्थानसम्म ल्याउन ४ महिना लागेको बताउँछन्। पेसाले एरोनोटिकल ईन्जिनियर रहेका महतले जहाज ल्याएपछि पनि म्युजिएम बन्न ९ महिना लागेको बताए। महत आफैँ र टर्किस एयरलाइन्सका प्राविधिकले जहाजलाई अहिलेको आकारमा ल्याउन काम गरेका थिए।

२ करोड ७० लाख ऋण र करिब ४ करोड ३० लाख क्याप्टेन उप्रेतीको व्यक्तिगत गरि ७ करोड रुपैयाँ लगानीमा म्युजिक निर्माण गरिएको महतले जानकारी दिए।
४ सय ४४ यात्रु बोक्ने क्षमता भएको जहाजमा हाल ७ वटा हल बनाईएको छ।

जहाजमा प्रवेश गरे लगत्तै वेलकम हलमा पुगिन्छ जहाँ राईट दाजुभाईले निर्माण गरेका जहाजका मोडलदेखि नयाँ जहाजका नमुनाहरु देख्न सकिन्छ। जहाजको ककपिट हेर्दै पाईलट र टावरले गर्ने संवाद सुन्न सकिनुको साथैं उक्त हलमा डकुमेन्ट्री पनि देखाईने गरेको छ। वेलकम हलमा क्याप्टेन उप्रेतीले खिचेका विभिन्न एरिएल फोटोहरु प्रदर्शनी गरिएको छ।

जहाज भित्र बनाईएको अर्को एयरफोर्स हलमा पहिलो विश्व युद्ध र दोश्रो विश्व युद्धमा प्रयोग गरिएका जहाजका मोडेलहरु राखिएका छन्। साथैं क्याप्टेन उप्रेतीले नै समुद्रमुनि खिचेका कलात्मक फोटोहरुको प्रदर्शनी गरिएको छ।

तेस्रो एयरलाइन्स हलमा अहिलेसम्म संसारभरि उडिरहेका चर्चित जहाजका नमुनाहरु राखिनुको साथैं नेपालका एतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थलहरुको फोटो प्रदर्शनी गरिएको छ।

चौथों हल, नेपाल एभिएसन हलमा नेपालको हवाई क्षेत्रको इतिहास, नेपाली आकासमा उडेका जहाजका नमुनाको साथैं नेपालका पर्यटकीय गन्तव्यहरुको फोटो प्रदर्शन गरिएको छ।

पाँचौ हलमा क्याफ्टेरिया संचालन गरिएको छ। क्याफ्टेरियामा पर्यटकीय गन्तव्यका फोटोका साथैं नेपाली बिद्यार्थीहरुले बनाएका बिभिन्न जहाजका नमुनाहरु राखिएको छ।

छैठों हललाई म्यूजियम कार्यालयको रुपमा प्रयोग गरिएको छ।

जहाजको लगेज राख्ने स्थानमा ३८ सिट क्षमताको आधुनिक कन्फरेन्स हल निर्माण गरिएको छ। ‘हुम्ला’ नाम राखिएको हललाई हाल डकुमेन्ट्री प्रदर्शनका लागि प्रयोग गरिएको म्युजियम प्रबन्धक महतले जानकारी दिए।

भविष्यमा ससाना व्यवसायिक कन्फरेन्स गर्न पनि हल भाडामा दिने योजना रहेको उनले बताए।

महतका अनुसार, म्युजियममा १५ जना एयरहोस्टेज सहित २५ जनाले काम गरिरहेका छन्।

ट्रष्टका संरक्षक उप्रेतीले म्युजियमलाई बिस्तार गर्दै जाने योजना रहेको बताए । उनले म्युजियम परिसरमा केहि समय भित्र बच्चाका लागि पार्क, सानो धरहरा, वाटर फाउन्टेन र केहि साना जहाजहरु थप्ने योजना रहेको बताए ।

उप्रेतीले ट्रष्ट मार्फत् कैलालीको धनगढीमा पनि ३ वर्षदेखि डेढ करोड लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गरिरहेका छन्। उनले ६ महिना भित्र कञ्चनपुरको महेन्द्रनगरमा करिब ३ करोडको लगानीमा सिद्धनाथ भगवानको प्रतिमा सँगै स्विमिङ पूल सहितको म्याजिकल म्युजियम संचालन गर्ने योजना रहेको बताए। उप्रेती भन्छन्, आफुले कमाएको केहि रकम पर्यटन पूर्वाधार विकासमा लगानी गर्दा आनन्द लाग्दछ।

कति लाग्छ शुल्क?

म्युजियम अवलोकन गर्न नेपालीका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ । विदेशीले ६ सय रुपैयाँ तिर्नुपर्नेछ। ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहने म्युजियममा अपांगता भएकाहरुलाई १५० रुपैयाँ शुल्क तय गरिएको छ । अन्य विद्यार्थीका लागि पनि ५० प्रतिशत मात्रै प्रवेश शुल्क लाग्नेछ ।

नाफा के गर्ने ?

उप्रेती भन्छन्, ‘धनगढीको म्युजियमबाट भइरहेको नाफा सुदूरपश्चिमका पहाडी क्षेत्रमा रहेका क्यान्सर पिडितको उपचार खर्च हुनुको साथैं गरिब र जेहन्दार विद्यार्थीका लागि खर्च गरिएको छ। यहाँबाट हुने आम्दानी अझै बढी पिडितको उपचार र छात्रवृत्तिमा खर्च गर्ने योजना रहेको छ।’

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्