
विराटनगर- सुनसरीको इटहरीमा शुक्रबार प्रहरी र सिटी सफारी चालकबीच झडप भएको छ।
राजमार्ग सडकखण्डमा सिटी सफारी सवारीसाधनलाई कुद्न नदिने प्रहरीले जनाएपछि त्यसको विरोध हुँदै आएको थियो। ‘गरी खान देऊ’ भन्दै रिक्साचालकहरुले दिउँसो केहीबेर इटहरीको मुख्यचोकमा धर्ना दिँदै यातायात अवरुद्ध गरेका थिए।
सडक राजमार्ग कसैले पनि अवरुद्ध गर्न नमिल्ने बताएका जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख गोपालप्रसाद पराजुलीले प्रहरीले चालकमाथि केही अश्रुग्यास प्रहार गरेको स्वीकार गरे। उनले भने, ‘सिटी सफारी अब रुट अनुसार चल्नुपर्यो। यहाँ सडक जाम गर्न पाइँदैन, त्यसबाट अन्य जनता प्रभावित हुनुभएन।’
सिटी सफारी चालकमाथि गरिएको प्रहरीको दमनबारे उनले स्पष्ट पार्दै भने, ‘अहिले अवस्था सामान्य छ। घटनामा के कति हताहत भए, बुझ्ने क्रममा छु।’
यसको विषयमा चाँडै नगरपालिका र यातायात कार्यालयसँग छलफल गरी निकास निकाल्न आफू प्रतिवद्ध रहेको उनले बताए।
अर्कोतर्फ, विभिन्न चारवटा सिटी सफारी चालक संघका पदाधिकारीले दिउँसो सिडिओ पराजुलीलाई समस्याबारे अवगत गराएको, नेपाल यातायात मजदुर संघ आवद्ध ईरिक्सा चालक संघ सुनसरीका अध्यक्ष पूर्ण प्रधानले बताए।
विगतमा उप–महानगरपालिकाले क्षमताभन्दा बढीको संख्यामा ईरिक्सा भित्र्याउन दिएको र अहिले राजमार्गबाहिर गाडी चलाउनु भन्नु तर्कसंगत नभएको उनको भनाइ छ । उनले भने, ‘प्रहरीले ईरिक्सा चालक संघको उपाध्यक्ष गणेश कार्कीलाई कुटपिट गरी पक्राउ गरेको छ, उनलाई यथाशीघ्र रिहा गरिनुपर्छ।’
इटहरीका प्रहरी नायब उपरीक्षक सञ्जयकुमार राउतले एम्बुलेन्ससमेत अवरुद्ध हुनेगरी सडकजाम गरेको हुँदा प्रहरीले सामान्य बल प्रयोग गरेको बताएका छन् । ‘सामान्य धरपकड भएको हो, घाइतेको विवरण यति नै हो भन्ने आइसकेको छैन,’ उनले स्पस्ट पारे।
घटनापूर्व विभिन्न राजनीतिक दल आवद्ध सिटी सफारी चालक संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी पराजुलीलाई निकास पहिल्याउन माग गरेका थिए। यसअघि शुक्रबारसमेत केही घण्टा सिटी सफारी चालकले इटहरीचोकमा धर्ना दिएका थिए।
हाल इटहरीमा उत्तरतर्फ तरहरा, पूर्वतर्फ सुन्दरहरैंचा नगरपालिका, पश्चिममा रामधुनी, झुम्का, दक्षिणमा दुहबीसम्मबाट सिटी सफारी चल्छन्। ४ वर्षदेखि इटहरी उपमहानगरपालिकामा करिब १ हजार ईरिक्सा छन्।
यो पनि हेर्नुहोस्:
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही