राष्ट्रिय सभाको अध्यायदेश पास भएपछि शेरबहादरले छाड्नुहुन्छ : शेखर

विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग शुक्रबार कुरा गर्दै शेखर कोइराला। तस्बिर: देशसञ्चार।

विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले राष्ट्रपतिले शीघ्र एकल संक्रमणीय अध्यायदेश पास गर्नुपर्ने सुझाव दिएका छन्। अध्यादेश पास भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पदबाट राजीनामा दिन उचित हुने कोइरालाको भनाइ छ। समानुपातिक समावेशी कांग्रेसको मुख्य मुद्दा रहेकोले यसको एक भाग एकल संक्रमणीय अध्यादेश र यसलाई रोकिराख्नु मुलुकका लागि सही नहुने कोइरालाको तर्क छ।

विराटनगरस्थित कोइराला निवासमा शुक्रवार सञ्चारकर्मीहरुसँग निर्वाचन रिभ्युका क्रममा कोइरालाले प्रधानमन्त्री देउवाको राजीनामा किन अल्झेको भन्ने सन्दर्भमा भने, ‘शेरबहादुरजीसँग  मेरो कुरा त भएको छैन, तर राष्ट्रिय सभाको अध्यादेश पास भएपछि उहाँले छोड्नु हुनेछ।’

हाल कांग्रेसमा विशेष अधिवेशनको माग आइरहेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘केन्द्रीय समितिको बैठकपछि विशेष महाधिवेशनको कुरा आउछ, प्रक्रियाबाट। अहिले भन्दैमा त्यो बाटो पक्रनु भन्दापनि विधिसम्मत अघि बढ्नुपर्‍यो। अहिलेकै संरचनामा विशेष अधिवेशन गराउनुको कुनै अर्थ छैन।’

अब कांग्रेस नेतृत्व परिवर्तनको संघारमा आएको हो भन्ने प्रश्नमा उनले भने,  ‘अब कार्य समिति बैठक बस्ने र त्यसपछि प्रक्रियागत रुपमा अधिवेशन र निर्वाचन हुन्छ। त्यसपछि जसले नेतृत्व लिन्छन् लिन्छन्।’

पार्टी नेतृत्वका लागि उनले भने, ‘राजनीति गर्ने मान्छेले इच्छा राखेको हुन्छ त्यसबाट म टाढा छैन।’

केन्द्रीय समिति बैठक बस्ने विषयमा नेतृत्वले अस्वीकार गरे आफुहरु हस्ताक्षर गरिकन केन्द्रीय समिति बैठक डाक्न तयार रहेको उनले बताए। ‘नेतृत्व परिवर्तन पनि प्रक्रियाबाट हुन्छ, खेला गरेर होइन्,’ उनले भने।

निर्वाचनपछि पनि कांग्रेसले स्फूर्ति नदेखाएको विषयमा उनले भने, ‘कांग्रेस शिथिलताका साथ अघि बढिरहेको छ। अझै पनि पार्टी शिथिल रुपमा अघि बढ्ने हो भने भोलिका दिनमा यसले पार्टी पंक्तिलाई राम्रो गर्दैन।’

यो पनि हेर्नुहोस्:

राष्ट्रियसभा गठनबारे मिल्न दलहरुलाई राष्ट्रपतिकोआग्रह

‘म पिँजडाको सुगा होइन, राष्ट्रपति बन्दिनँ’

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्