
बाँके – २०५१ सालदेखि संसदीय चुनावमा उम्मेदवारी दिँदै आएका नेपालगञ्जका लिलौं दर्जीले यो चुनावमा पनि प्रतिस्पर्धा गरे। सधैं चुनावमा प्रतिस्पर्धा गर्ने, भोट माग्न नजाने र अन्तिम नतिजा पनि नसुन्ने दर्जीको अनौठो बानी छ।
२०५१, २०५६ र यसपालिको चुनावमा उम्मेदवार बनेका दर्जीलाई कुनै पनि चुनावमा कति मत आयो भन्ने थाहा छैन। ‘म मतगणनास्थलमा गइन,’ बाँके क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रतिस्पर्धा गरेका दर्जीले भने।
यसपालि दर्जीको मत ६ सय ८३ आएको थियो। क्षेत्र नं. २ मा प्रतिस्पर्धा गरेका १७ जनामध्ये यो पाँचौं मत ह। सुटुक्क उम्मेदवारी दिने, कसैसँग भोट नमाग्ने, रिजल्ट सुन्न पनि नजाने दर्जीले भोजभतेर, पत्रपत्रिका र सडकभरी प्रचार प्रसार, गाडीको लस्कर लगाएर हिँड्नेको भन्दा धेरै मत ल्याएका छन्।
तपाईँको कसरी यति धेरै मत आयो ? भन्ने जिज्ञासामा दर्जीले भने, ‘मेरा चिनजानका मान्छे छन्। उनीहरुले मत दिएका हुन्। मैले भने कसैसँग भोट मागिनँ।’ दर्जीले आगामी चुनावका लागि अलि बढी मिहनेत गर्नुपर्ला भन्दै अझै चुनाव लड्ने मनसाय प्रकट गरे।
६८ वर्षीय दर्जीको २०५१ सालकै नारा अहिलेसम्म धेरैले सम्झिन्छन् । ‘भोट देऊ वा नदेऊ तुहार मर्जी, हमार नाम हो– लिलौं दर्जी’ यो नारा संसदीय चुनावलाई चाखपूर्वक नियाल्ने सबैको जिब्रोमा झुण्डिएको छ।
विगतमा तराजु, रिक्सा चुनाव चिन्ह लिएका दर्जीको यसपालि हँसिया र तारा चुनाव चिह्न थियो। सधैं स्वतन्त्र चुनाव लड्ने दर्जी यसपालि जनसमाजवादी पार्टीबाट उम्मेदवार बनेका थिए।
यो पनि हेर्नुहोस्:
‘राप्तीमा तटबन्ध नभए अर्काेपटक भोट हाल्न जान्नौं’
ज्येष्ठ नागरिकले भने, ‘हामीले भोट दियौँ अब विकास देऊ’