बेनी, म्याग्दी- बेनी नगरपालिका–४ सिंगास्थित धौलागिरि माविले शुक्रबार आयोजना गरेको भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रमबाट एक करोड दुई लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थीले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आर्थिक सहयोग गरेका हुन्। कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी डा. मीनबहादुर श्रेष्ठले प्राविधिक शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधार विस्तारसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन दक्ष जनशक्ति र पर्याप्त पूर्वाधार हुनुपर्ने बताए।
प्रदेशसभाका नवनिर्वाचित सांसद विनोद केसीले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकास तथा नीतिगत सुधारका लागि आफू प्रतिबद्ध रहेको बताए। गत वर्ष कक्षा ११ को मान्यता प्राप्त गरेपछि शिक्षा र व्यवस्थापन संकाय सञ्चालन गरिरहेको विद्यालयले अर्थ संकलन गरी भौतिक पूर्वाधारका साथै प्राविधिक कक्षा सञ्चालन गर्ने भएको छ।
उता रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले व्यक्तिगत रुपमा तीन लाख ५० हजार रुपैयाँ खर्च गरेर गाउँपालिका–६ पाखापानीमा सडक निर्माण गरेका छन्। पाखापानीको फुलडाँडा–औल गाउँ जोड्ने करिब डेढ किमी सडक विस्तार भएपछि ३५ घरधुरी लाभाविन्त भएका छन्।
करिब ३७ लाख रुपैयाँ लगानीमा बेनी–झीँ– पाखापानी सडक, १३ लाख रुपैयाँको लागतमा पाखापानी–कुइनेमंगले सडकका साथै गाउँपालिकाभित्रका बस्तीमा सहायक सडकको पनि विस्तार भइरहेको छ। (रासस)