जेसिज महाधिवेशन भैरहवामा, प्रचण्डबाट उद्घाटन 

भैरहवा- नेपाल जेसिजको ४४ औं महाधिवेशन शनिबार भैरहवामा सुरु भएको छ।

पुस ८, ९ र १० गते भैरहवास्थित महेन्द्रसभा गृहमा हुने उक्त महाधिवेशनमा भाग लिन देशैभरका जेसिज शाखाबाट २ हजार ५ सय भन्दा बढी प्रतिनिधि पर्यवेक्षक भैरहवा आइपुगेका छन्।

शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने मूल नारालाई आत्मसात् गर्ने जेसिजको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। अध्यक्षका लागि अहिलेसम्म ३ जनाले प्रतिस्पर्धा गर्नेगरी चरणबद्ध कार्यक्रममा सहभागी भएको नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले जानकारी दिए।

अध्यक्ष अधिकारीका अनुसार अध्यक्षका लागि रामग्राम जेसिज नवलपरासीका श्रीधर बस्याल, तिलोत्तमा जेसिज रुपन्देहीका विनोद सुवेदी र इटहरी जेसिजका महेश पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यसैगरी ४ पद कार्यकारी उपाध्यक्षका लागि १४ जनाले र १२ पद उपाध्यक्षका लागि २१ जनाले उम्मेदवारी दिने देखिएको छ।

जेसिज महाधिवेशनको पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी) केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गरेका छन्।

यो पनि हेर्नुहोस्:

कसरी होला एमाले र मा‌ओवादीबीच सैद्धान्तिक मिलन?

 

पुस ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्