शरणार्थीका डाक्टर: जसका लागि आए,उनीहरुले नै छोडेर गए

शरणार्थीका रुपमा भुटानबाट नेपाल आएका डा. भम्पा राई। तस्बिर: देशसञ्‍चार

दमक-जसका लागि भनेर डा. भम्पा राई भुटानबाट नेपाल आए, तिनीहरुले नै अहिले उनलाई करीब एक्लो बनाइदिए। ९० प्रतिशत भन्दा बढी भुटानी शरणार्थी तेस्रो देश पुनर्स्थापना कार्यक्रम अन्तर्गत अमेरिका लगायत विभिन्‍न मुलुकहरुमा पगे । तर शरणार्थीका रुपमा भुटानबाट नेपाल आएका डा. भम्पा राईलाई कतै जाने इच्छा लागेन । उनी अहिले पनि शरणार्थीको स्वास्थ्य सेवामा खटिइरहेका छन् ।

डा. राई अहिले आफ्ना गाउँघरका साथीभाइ सबै टाढिएपछि निकै दुःख लागेको अनुभूति सनाउँछन् । तर उनको एक्लो प्रयासले सबै भुटानी शरणार्थीलाई रोकेर राख्‍ने अवस्था पनि थिएन । त्यसैले डा. राई भन्छन्, ‘म एक्लोले उनीहरुको माग र आवश्यक्ता पूरा गर्नसक्ने अवस्था रहेन । मेरा साथीभाइ सबै तेस्रो मुलुक पुनस्र्थापनामा गए । तर उनीहरुको म सम्मान गर्छु । दुःख चाहीँ लाग्दो रहेछ ।’

डा. राई अहिले पनि स्वदेश फिर्तीकै आन्दोलनमा छन् । उनको अनुभवमा शरणार्थी समुदायमा देशका लागि तथा आफ्नो पहिचानका लागि संकल्प गर्नेहरुको संख्या न्यून रह्यो । उनले भने, ‘देश के हो ? हाम्रो भूमिका के हो ? अनि हामी कसरी बस्‍ने भन्‍ने कुराको अभाव भयो ।’

भुटान सरकारका कन्सल्टेन्ट सर्जन् रहेका उनलाई भुटान सरकारले नखेदाएपनि त्यत्रा विघ्न नेपालीभाषी भुटानीहरु खेदिएपछि उनलाई भुटानीहरुको स्वास्थ्य चिन्ताले नेपालतिरै तान्यो । करीब २० बर्षदेखि उनी भुटानी शरणार्थीहरुको स्वास्थ्य सेवामा खटिएका छन् ।

विशेषज्ञ डाक्टरले चिल्ला चिल्ला गाडी चढने र विरामीबाट महंगो शुल्क लिने प्रचलन छ । डा. भम्पा राई झापाको दमक बजारमा रहेको डेरादेखि पैदलै हिँडेर झापाको दमक चोकदेखि करीब १०० मिटर उत्तर बेल्डाँगी रोडमा रहेको क्लिनिकमा पुग्छन् । उनका विमारी प्रायः भूटानी शरणार्थी नै हुन्छन् । जचाउन आएका भुटानी शरणार्थीहरुले रोग बताउन हिच्किचाए उनी गाली समेत गर्छन् । जचाउन आएका विरामीहरुलाई राम्ररी सम्भाइ बुझाइ पठाउने उनको आदत छ । राईले भने, ‘कसै कसैलाई त गाली पनि गर्नुपर्छ । कुरो बझाउनै अप्ठ्यारो हुन्छ ।’ शिविरहरुमा शरणार्थीको संख्या घट्दै गएपछि उनको क्लिनिकमा विरामीको चाप हुन छाडेको छ ।

भुटानी शरणार्थीहरुलाई उनले जाँचेको शूल्क र आफ्ना हातले गरेको सेवाको पारीश्रमिक लिँदैनन् । त्यसैले उनी शरणार्थी समुदायमा प्यारा छन् । अन्यत्र गएर ठिक नभएकाहरु पनि डा. राई कहाँ आत्म सन्तुस्टिका लागि आउँछन् । ठीक नहुने विरामीहरु पनि उनी कहाँ केही उपाय लाग्छ कि भनेर आउने गरेका छन् ।

बंगलादेशको ढाका विश्वविद्यालयमा चिकित्सा शास्त्र अध्ययन गरेका डा. राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्‍न छन्। सन् १९७९ देखि भुटान सरकारको कन्सल्टेन्ट सर्जनको रुपमा काम गर्दै आएकोमा जब भुटानबाट नेपाली भाषीहरुलाई लखेट्न शुरु गरियो तब आफ्ना दाजु भाइको स्वास्थ्य चिन्ताले उनलाई पनि नेपालतिर तान्यो । राईले भने, ‘मलाई जा भनेर त भनेको होइन। तर यत्रा धेरै दाजुभाइ दिदी बहिनी विरामी परे भने कस्ले हेर्छ भनेर नै म पनि शरणार्थी भएर आएको हो ।’

उनीसँगै आएका धेरै चिकित्सक तथा बुद्धिजिवीहरु व्यवसायिक बने । पैसा कमाए। ठूल्ठूला घर बनाए । चिल्ला चिल्ला गाडी किने। उनलाई पनि विदेश गएर पैसा कमाउन अवसर आयो तर उनी गएनन् । कम भन्दा कम भुटानी शरणार्थीहरु शिविरहरुमा रहुन्जेल उनीहरुकै सेवामा लाग्ने उनको निर्णय छ। उनी भन्छन्, ‘म त यिनीहरुलाई छोडेर कहाँ जान सक्छु र । न विरामी जचाउन यिनीहरुसंग पैसा छ । मैले सकेको सेवा गर्छु ।’

अचेल प्रायः डाक्टरहरु शहर केन्द्रित भइरहेका बेला उनी डाक्टरको नैतिकता पैसा कमाउन मात्र नभएको बताउछन् । विगत १८ बर्षदेखि भुटानी शरणार्थीहरुको स्वास्थ्य उपचारमा संलग्न रहेका डा. राईले अन्यत्रबाट आएका असक्त तथा बृद्धबृद्धालाई समेत निशुल्क सेवा दिन्छन् ।

पुस ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्