अत्तरिया सडकमा कमसल ईटाको प्रयोग, स्थानीयको विरोध

कैलालीमा अत्तरिया-मोहना ६ लेन सडकको नाली निर्माणका लागि प्रयोग भएको कमसल इटा। तस्बिर: दीपक जोशी/देश सञ्‍चार

धनगढी- कैलालीमा अत्तरिया-मोहना ६ लेन सडकको नाली निर्माणका लागि मापदण्ड विपरीत दुई नम्बरको कमसल ईटाको प्रयोग गरेको पाईएको छ।

गोदावरी फ्लोर मील आसपासमा निमार्ण भईरहेको नालीका लागि कमसल ईटाको प्रयोग भएको पाईएपछि नगरबासीले विरोध गरेका छन्।

लुम्बीनीरराजेन्द्र/डाँफे निर्माण कम्पनीले लिएको ठेक्कामा धनगढीको राजेन्द्र निमार्ण सेवाले काम गरिरहेको छ।

तर कमसल ईटाको प्रयोग भएको पाईएपछि नगरवासीले सामाजिक सञ्‍जालहरु मार्फत पनि चर्को विरोध गरेका हुन्।

धनगढीका मदन भट्टले ६ लेन सडकको काममा कमसल ईटाको प्रयोग भएको पाईए पनि जनप्रतिनिधिहरु चुप लागेर बसेको भन्दै आक्रोस पोखे। उनले भने, ‘ नाली बनाउन कमसल इट्टा प्रयोग भइरहेको देख्दा-देख्दै पनि जनप्रतिनिधिहरु मुखमा बुजो लगाएर बसेका छन्।’

यता, अत्तरिया मोहना सडक आयोजनाका प्रमुख मनिषकुमार शाहले आयोजना कार्यालयमा पनि त्यसको गुनासो आएको बताए। उनले भने, ‘ नगरवासीले गुनासो गरेपछि अनुगमन गर्दा हामीले कमसल ईटा नै भेट्टायौ। त्‍यसपछि यसलाई रोक्‍न लगाएका छौ।’

निर्माण व्‍यावसायीलाई यसको बारेमा जानकारी गरिसकिएको र व्‍यावसायीले उक्त ईटा फिर्ता लिने भनिसकेको उउनले बताए। यस्तै निर्माण कम्पनीका प्रमुख कार्यकारी निर्देशक ईन्जिनियर रोशन भट्टले पनि ईटा आपूर्तिकर्ताले कमसल ईटा पठाएको दाबी गरे। उनले भने, ‘ इट्टा व्‍यावसायीले हामीलाई कम गुणस्तरको इट्टा पठाएको छ। तर अब उक्त इट्टा नालीमा प्रयोग हुँदैन।’

उनले सडक विभागका कर्मचारी सहितको टोलीले जनगुनासो आएपछि उक्त ईटाको ल्याब टेस्ट गरेको बताए।

 

पुस ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्