दिपेन्द्रको किताबमा ‘परीक्षण र क्लेशहरु’

दीपेन्द्र झाको पुस्तक विमोचन कार्यक्रमका सहभागी। तस्बिर: देशसञ्चार।

नयाँ संविधान जारी हुँदै गर्दा तराई-मधेसमा उक्त संविधानको विरोधमा आन्दोलन चलिरहेको थियो। त्यही बीचमा भारतले अघोषित नाकाबन्दी लगायो। आन्दोलनको क्रममा ठाउँ-ठाउँमा गोली चल्यो, कर्फ्यु लाग्यो। त्यसको केही महिनापछि संविधान संशोधन पनि भयो।

आन्दोलनको त्यो समयजस्तो ज्वार छैन अहिले मधेसमा। एक किसिमले शान्त देखिन्छ मधेस। मधेस आन्दोलनका मुद्दा के थिए?  कति सम्बोधन भए? भन्नेबारे बहस, छलफल भइरहेको छ, हुँदै गर्ला।

मधेसी अभियन्ता भने त्यो मधेस आन्दोलनको स्मृति अभिलेखीकरणमा लागेका छन्। पछिल्लो मधेस आन्दोलनमा केन्द्रित रहेर अधिकारकर्मी एवम् अधिवक्ता दिपेन्द्र झाले लेखेको पुस्तक ‘फेडेरल नेपालः ट्रयाल्स एन्ड ट्रिबुलेसन्स’ (संघीय नेपालः परिक्षण र क्लेशहरू) नामक पुस्तक शनिबार काठमाडौंमा सार्वजनिक भयो।

यसअघि बेलायतमा विमोचन भइसकेको उक्त पुस्तकबारे मधेस आन्दोलनलाई नजिकबाट नियालेका विश्लेषक सिके लाल, पत्रकार सुविना श्रेष्ठ र लेखक उज्जवल प्रसाइँले आआफ्ना धारणा राखे।

हारको मानसिकतामा मधेस

‘अहिले मधेस हारको मानसिकतामा छ’, उज्जवल प्रसाइँले टिप्पणी गर्दै भने, ‘तर, यो क्षणिक हार हो।’

उनले हारको मानसिकताबीच पनि मधेसबारे भइरहेकाले निरास हुनु नपर्ने धारणा राखे। ‘अहिले मधेसमा युवाहरूले स्थापना गरेका ससाना समूहले काम गरिरहेछन्’, प्रसाइँले भने।

विश्लेषक सिके लालले भने मधेसमा अहिले डरलाग्दो मौनता छाइरहेको दाबी गरे। ‘मानिस बोल्छन् भने डराउनु पर्दैन। मौन छ भने डराउनुपर्छ। अहिले मधेसमा डरलाग्दो मौनता छ’, लालले भने।

दोषी सम्भ्रान्त

कार्यक्रममा मधेस आन्दोलन सधैं सम्झौतामा गएर टुंगिने गरेको टिप्पणी आएपछि सिके लालले त्यसको दोष सम्भ्रान्त वर्गलाई दिए।

‘लामो समयसम्म मधेसी जनताको राज्यसँग कुनै पनि सम्बन्ध भएन । सम्भ्रान्त वर्गको मात्र राज्यसँग सम्बन्ध भयो। सम्भ्रान्त वर्गले मधेसको नाममा संघर्ष त गर्‍यो। तर, सम्झौता सधैँ आफ्नो हितमा गर्‍यो’, लालले भने।

विश्लेषक लालले हृदयेश त्रिपाठी, बृजेश गुप्ताहरूले अहिले पनि त्यही काम गरिरहेको टिप्पणी समेत गरे।

उनले मधेस आन्दोल्न स्वशासन (सेल्फ गभर्नेन्स)को लागि भएको उल्लेख समेत गरे। ‘सन् १९९९ मै मलाई सोधिएको थियो – तिम्रो माग के हो ?’ लालले भने,  ‘मैले त्यतिबेलै जवाफ दिएको थिएँ- म मात्र त्यो स्थान चाहन्छु जहाँबाट तिमी यो प्रश्न गरिरहेछौ।’

लालले संविधानको आयु लम्ब्याउने हो भने यसलाई लचिलो बनाउनुपर्ने उल्लेख गरे। उनले संविधानमा प्रशस्त संशोधनको खाँचो भएको टिप्पणी गरे। भने, ‘यो संविधानमा गोर्खाली सम्भ्रान्त चलाख हुँदै गएका छन्। उनीहरूले सुरूमै संशोधन हुन्छ भने तर गरेनन्।’

अरूणा लामाः हिन्दुस्तानी गायिका

सिके लालले आफ्नो सम्बोधनको क्रममा चर्चित गायिका अरूणा लामा हिन्दुस्तानी गायिका भएको टिप्पणी गरे। लामाको गीत ‘पोहोर साल खुशी फाट्यो’ सँग मधेस आन्दोलनका विभिन्न चरण दाज्ने क्रममा उनले अरूणा लामालाई हिन्दुस्तानी गायिका भनेका थिए। उनले अरूणा लामाले हिन्दुस्तानी भाषामा गाएको समेत टिप्पणी गरेका थिए।

‘अरूणा लामाको नेपाली भाषामा गीत छ एउटा। अरूणा लामा भनेको हिन्दुस्तानको बडो प्रतिष्ठित गायिका। हिन्दुस्तानकै भाषामा गाएकी हुन् उनले। नेपाली हिन्दुस्तानको संविधानमा मान्यता पाएको भाषा हो। त्यसैले, एउटा हिन्दुस्तानीले हिन्दुस्तानको भाषामा गाएको गीत हो यो। लेख्ने चाहिँ हाम्रा नेपाली परेछन्’, गीतकार राजेन्द्र थापाको गीतको प्रसंग कोट्याउँदै सिके लालले भनेका थिए।

अरूणा लामाको स्वर र अम्बर गुरूङको संगीत रहेको राजेन्द्र थापाको उक्त गीतको पहिलो हरफ यस्तो छः

पोहोर साल खुशी फाट्दा जतन गरी मनले टालेँ

त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ

यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने

लालले पहिलो मधेस विद्रोहमा खुशी फाटेको, दोस्रो मधेस विद्रोहमा माया फाटेको र तेस्रो मधेस विद्रोहमा मन नै फाटेको जिकिर गरे । ‘अब के ले सिउने? के ले टाल्ने ?’ राज्यसँग मधेसको सम्बन्ध टाढिँदै गएको संकेत गर्दै लालले प्रश्न गरे।

अप्ठ्यारो नेपाली

अंग्रेजी भाषामा लेखिएको र भारतको प्रकाशन संस्था आकार बुक्सले प्रकाशन गरेको झाको पुस्तकबारे बोल्न उभिएकी अल जजिराकी पत्रकार सुबिना श्रेष्ठलाई भने नेपाली भाषा नै अप्ठेरो भइदियो ।

ललितपुरको नेवार समुदायकी सुविनाले नेपालीमा बोल्न सुरू गरे पनि नेपाली राम्रो छैन भन्दै अंग्रेजीमा बोलिन्। उनले पछिल्लो मधेस आन्दोलनको क्रममा भयग्रस्त भनेर काठमाडौंका पत्रकार जान हिच्किचाए पनि आफूले कुनै अप्ठ्यारो भोग्न नपरेको अनुभव सुनाइन्।

श्रेष्ठले कर्मचारीतन्त्रमा जस्तै पत्रकारितामा पनि खस-आर्य ब्राह्मणकै बाहुल्य रहँदा मधेस आन्दोलनबारे गलत बुझाइ रहेको बताइन्।

पुस्तक अंग्रेजीमा लेखिएकोबारे टिप्पणी गर्दै विश्लेषक लालले शिक्षादिक्षा अंग्रेजीमा भएकाले अंग्रेजीमै लेख्न सजिलो भएको हुनसक्ने टिप्पणी गरे। उनले मैथिली भाषामा पुस्तक अनुवाद भइरहेको बताए।

रेकर्डका लागि किताब

लेखक दिपेन्द्र झाले मधेस आन्दोलनको रेकर्डका लागि पुस्तक लेखेको बताए। ‘यति ठूलो आन्दोलन भयो। कतै रेकर्ड नहोला भन्ने लाग्यो । त्यसैले यो पुस्तक लेखेको हुँ’, उनले भने।

उनले पछिल्लो संविधान कत्तिको रक्तरञ्जित छ भन्ने बताउन पनि पुस्तक लेखेको स्पष्ट पारे। ‘दिस इज नट ब्लडलेश कन्स्टिच्युसन’, झाले भने।

लालले किताबमा तथ्य र तथ्यांक एक अधिवक्ताको जस्तो नभए पनि व्यक्तिगत अनुभव र भोगाइको आधारमा लेखिएको धारणा राखे। ‘यो किताब नेपालको संविधान र व्यवस्थाको न्यारेटिभ (व्याख्या) हो’ लालले भने, ‘यो पुस्तकलाई तथ्य र तर्कको सन्दर्भको रूपमा नभई वृतान्तको रूपमा लिनुपर्छ।’

पुस ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्