बोटे समुदायको डुंगा चलाउने पेशा संकटमा

फाइल फोटो

पाल्पा- कालीगण्डकीका विभिन्‍न घाटमा डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका बोटे समुदायको पेशा संकटमा परेको छ।

कालीगण्डकीको डुंगा सञ्‍चालन हुने विभिन्‍न घाटमा अहिले धमाधम पुल निर्माण हुन थालेपछि उनीहरुको पेशा संकटमा परेको हो।

बिहान उज्यालो भएदेखि राति अबेरसम्म कालीनदीका विभिन्न घाटमा आजभन्दा दुई दशक अघिदेखि सञ्चालनमा आएको डुंगा अहिले भने पूर्णरुपमा विस्थापित हुन पुगेको छ ।

बोटे समुदायको पहिचानका रुपमा रहेको डुंगा चलाउने पेशा विभिन्न घाटमा पुल बन्न थालेपछि पेशा नै विस्थापित भएको हो। कालीगण्डकीको आँधिघाट, खोरियाघाट, केलादीघाट, पुट्टारघाट, घुमारीघाट, भुजातघाट, असेर्दीघाट, बालीघाटलगायतका विभिन्‍न दर्जनौँ घाटमा डुंगा सञ्चालनमा थियो । तर अहिले यी घाटमा झोलुंगे तथा पक्की पुल बनेपछि बोटे समुदायको डुंगा चलाउने पेशा नै खोसिएको छ।

रामपुर नगरपालिका–३ बोटेगाउँ बस्ने ८० वर्षीय नरबहादुर बोटेले कालीगण्डकीको केलादीघाटमा ३५ वर्षसम्म डुंगा चलाए। अहिले सोहीघाटमा झोलुंगे तथा पक्की पुल बनेपछि पेशा नै खोसिएकोमा चिन्ता व्यक्त गरे।

उमेरले डाँडापारिको घाम बन्दै जानुभएका बोटे बाउबाजेले परम्परादेखि नै गर्दै आइरहेको डुंगा चलाउने पेशा खोसिदा बोटे समुदायको चिनारी नै हराउँदै गएकोमा उनी चिन्तित बन्‍ने गरेको छ। त्यस्तै अर्का ७२ वर्षीय विष्णुबहादुर बोटेले पनि लामो समयसम्म सोही घाटमा डुंगा चलाए। वर्षायामको भेल पनि नभनी जोखिम मोलेर यात्रुलाई सुरक्षित तवरले नदी वारिपारी डुंगा तार्ने काममा उनी निकै सिपालु थिए।

‘केलादी घाटमा दिनमा दुई वटा डुंगा नियमित चल्थ्यो एकछिन पनि फुर्सद हुन्‍थ्यो, जनताको सेवा गर्न पाउँदा निकै रमाइलो लाग्थ्यो’ उनले भने। दैनिक ३०० सम्म यात्रुलाई नदी वारपार गराउँदै आएको बोटेको भनाइ छ।

६२ वर्षीय बुद्धबहादुर बोटे डुंगा चलाउने पेशा खोसिएपछि अहिले कृषि कार्यमा लागेका छन्। ‘आफूले गर्दै आइरहेको पेशा खोसियो, बच्चाबच्ची हुर्काउन पढाउन पर्‍यो, अहिले कृषि कार्य गरेर जीविका चलाउँदै आएको छु’ उनले भने। उनले १५ वर्ष जति कालीगण्डकीका विभिन्‍न घाटमा डुंगा चलाए।

आफ्नो गरी खाने पेशा खोसिएपछि खिमबहादुर बोटे १५ वर्ष जति विदेशमा रोजगारीका निम्ति बसे। ‘आफूसँग भएको सिप डुंगा चलाउनुबाहेक अरु केही थिएन, पेशा बन्द भयो लामो समयसम्म आम्दानीका लागि मरुभूमिमा बसे’ उनले भने। डुंगा चलाउन सिपालु युवापुस्तका अर्का कृष्णबहादुर बोटे पनि अहिले घरायसी कामकाज कृषि कार्यमा तल्लीन छन्।

यहाँ अहिले बोटे समुदायभित्र झण्डै ३६ घरपरिवार रहेका छन्। कालीगण्डकीका विभिन्‍न घाटमा छरिएर डुंगा चलाएर राम्रैसँग गुजारा चलाउने गर्थे। धमाधम विभिन्‍न घाटमा पुल निर्माण कार्यले समुदायको राम्रो पहिचान बनेको पुर्खौली पेशा नै लोप हुन थालेपछि समुदायका पाकापुस्ताले चिन्ता व्यक्त गरिरहेका छन्। रासस/सुशीला रेग्मी 

यो पनि हेर्नुहोस्:

१४४ मेगावाटको कालीगण्डकीबाट आधामात्र बिजुली

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्