
काठमाडौं- संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश अनुमोदन गर्न आग्रह गरेका छन्।
आइतबार राष्ट्रपतिलाई भेटी यादवले उक्त अध्यादेश अनुमोदन नहुँदासम्म निर्वाचनपछिको प्रक्रिया अघि बढ्न नसक्ने हुँदा त्यो प्रक्रिया अघि बढाउन पनि राष्ट्रपतिले त्यसलाई गम्भीरतासाथ लिन आग्रह गरे।
देशसञ्चारसँग यादवले भने, ‘मैले राष्ट्रपतिलाई यसबारे गम्भीर र चिन्तित पाएँ तर उहाँको कुनै स्पष्ट आश्वासन भने मैले पाइनँ।’
अहिलेको राजनीतिक गतिराेधमा निकै सक्रिय र बाम गठबन्धनका नेता केपी ओलीले समेत सरकारमा सामेल हुन निमन्त्रणा पाइसकेका यादवले सरकारमा प्रवेशबारे केही सर्त अघि सारेका छन् भने अध्यादेशको पक्षमा भने उनी कांग्रेससँग बिनासर्त जोडिन पुगेका छन्।
‘मैले अध्यादेश पढेको छैन तर सबै प्रक्रिया रोक्ने गरी अध्यादेशलाई अनिर्णयको बन्दी बनाउनुको सट्टा त्यसलाई अहिले अनुमोदन गरी आवश्यक परेमा संसद गठन भएपछि संशाेधन गर्नु बुद्धिमानी हुनेछ,’ उनले देशसञ्चारसँग भने।
त्यस्तै प्रदेशसभा र त्यहाँ प्रादेशिक सरकार गठनको मार्ग प्रसस्त गर्न पनि गभर्नर यही सरकारले नियुक्त गर्न मिल्ने उनले बताए। त्यस्तै शनिबार एमाले अध्यक्ष केपी ओलीको बालकोट निवासमा भएको वार्ताबारे उनले भने, ‘यो निर्वाचनको परिणामले बाम गठबन्धनलाई सरकार गठन गर्ने जनादेश दिएको छ तर यथास्थितिमा फोरम उक्त गठबन्धनमा प्रवेश गर्न चाहँदैन।’
उनले फोरम निश्चित राष्ट्रिय तथा मधेससम्बन्धी मुद्दालाई लिएर चुनावमा गएको र ती मुद्दाबारे स्पष्ट समझदारी नबनेसम्म बाम गठबन्धनको सरकारमा सहभागी हुने प्रश्नै नआउने पनि ओलीलाई बताएको जानकारी दिए। ‘तर, ती मुद्दाहरुमा सहमति बन्छ भने फोरम गठबन्धनसँग सहकार्य गर्न तयार हुनेछ,’ उनले केपी ओलीसँग भनेका थिए।
यो पनि हेर्नुहोस्:
राष्ट्रियसभासम्बन्धी अध्यादेश अनुमोदन हुने संकेत
अध्यादेश तत्काल अनुमोदन गर्न प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई आग्रह