अमेरिकाले युद्धको लागि उक्सायो-उत्तर कोरिया

सोल-उत्तर कोरियाले आफूमाथि संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धको आलोचना गर्दै युद्धको लागि उक्साएको आरोप लगाएको छ। उत्तर कोरियाली विदेश मन्त्रालयले राष्ट्रसंघद्वारा हालै लगाइएको प्रतिबन्ध अस्वीकार गरेको छ।

राष्ट्रसंघले शुक्रबार उत्तर कोरियामाथि थप प्रतिबन्ध घोषणा गरेको हो। नोभेम्बर १९ मा उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि राष्ट्रसंघले पेट्रोलियम पदार्थमा प्रतिबन्ध लगाएको हो। उत्तर कोरियाले ९० प्रतिशत पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ।

उत्तर कोरियाली सरकार न्यूज एजेन्सी केसीएनएका अनुसार हालै लगाइएको प्रतिबन्धले आफ्नो देशको सम्प्रभुता उल्लंघन गरेको स्पष्ट पारेको छ । मन्त्रालयले भनेको छ, ‘यो कदम युद्ध उन्मादपूर्ण छ र यसबाट कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरतामा असर पुग्‍नेछ।’ उत्तरको अथर्तन्त्र धराशायी बनाउन अमेरिकाले यस्तो प्रस्ताव ल्याएको उत्तरको भनाइ छ।

आफ्नो शक्तिसँग डराएर अमेरिकाले राष्ट्रसंघलाई प्रयोग गरेर यस्तो काम गर्न लगाएको उनले दाबी गरे। यसबाट उत्तर कोरियामा पेट्रोलियम पदार्थको हाहाकार हुने छ। यो प्रतिबन्धपछि वार्षिक पाँच लाख ब्यारेल प्रशोधित पेट्रोलियम पदार्थ र ९० लाख ब्यारेल कच्चा पदार्थ मात्र उत्तरले आयात गर्न पाउनेछ। यसबाट उत्तर कोरियामा ऊर्जा संकट उत्पन्‍न हुनेछ।

यसअघि पेट्रोलियममा ५५ प्रतिशत कटौती गरिएको थियो। यसबाट पनि उत्तरले आफ्ना क्षेप्यास्त्र परीक्षण र आणविक कार्यक्रम जारी राखेको थियो । सुरक्षा परिषद्मा भएको मतदानमा १५ वटै सदस्यले अमेरिकी प्रस्तावको समर्थन गरेका थिए।

उत्तरको परमाणु शक्ति देखेर अमेरिका अत्तालिएको विदेश मन्त्रालयको भनाइ छ । यसबाट आफ्नो क्षमता बढेको स्पष्ट भएको पनि उत्तरको भनाइ छ । उत्तरको क्षमता र शक्तिसँग चिन्तित भएर अमेरिकाको निद्रा हराम भएको उसको दाबी छ।

उत्तर कोरियाले भनेको छ, ‘हामी आफ्नो आत्मरक्षाका निम्ति परमाणु शक्ति मजबुत बनाउनेछौं । हामीले अमेरिकासँग परमाणु आक्रमण, ब्ल्याकमेलिङ र शत्रुतापूर्ण व्यवहार ध्वस्त गर्नेछौं।’ यसैगरी विदेशमा काम गरिरहेका उत्तर कोरियाली नागरिक २४ महिनाभित्र स्वदेश फिर्ता भइसक्नुपर्नेछ। यसपछि विदेशी मुद्रा आयात पनि ठप्प हुनेछ । उत्तरमा आवश्यक पार्टपुर्जा र विद्युतीय सामानमा पनि प्रतिबन्ध लागिसकेको छ।

अमेरिकाले भने आफूले कूटनीतिक समाधान चाहँदा चाहँदै पनि उत्तर कोरियाका कारण यस्तो स्थिति आएको दाबी गरेको छ। यसै कदमअनुसार थप प्रतिबन्ध लगाउनुपरेको बताएको छ। अमेरिकी प्रस्तावको पक्षमा उत्तर कोरियाका मुख्य व्यापारिक सहयोगी चीन र रूसले पनि समर्थन गरेका थिए। उत्तर कोरियामाथि अमेरिका, युरोपेली संघ र राष्ट्रसंघले कैयौं प्रतिबन्ध लगाएका छन्।

अमेरिकाले सन् २००८देखि नै उत्तर कोरियाली नागरिक र कम्पनीको सम्पत्ति जफत गर्न, सामान निर्यात गर्न रोक लगाउँदै आएका छन्। नयाँ प्रतिबन्धपछि राष्ट्रसंघका लागि अमेरिकाका तर्फबाट स्थायी प्रतिनिधि निकी हेलीले उत्तर कोरियालाई सजाय दिएको र असफल बनाउने स्पष्ट सन्देश दिएको बताइन् । उनले भनिन्, ‘पहिलेदेखि कटौती गरिँदै आएको ५५ प्रतिशत पेट्रोलियम पदार्थ कटौती थपिएको छ।’

यो पनि हेर्नुहोस्:

उत्तर र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान

 

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्