काङ्ग्रेसको ‘थर्ड वे’ अर्थात तेस्रो मार्ग

केन्द्रीय र प्रादेशिक चुनावमा नेपाली काङ्ग्रेसको लज्जास्पद हार भयो भनेर जुन कोणबाट ब्याख्या बिश्लेषण आइरहेका छन्, पंक्तिकार ती कुरा मान्न तयार छैन। दुईभन्दा बढी दलहरु चुनावमा लड्दा प्रत्यक्ष जित्नेको मत बाँकी हार्ने उम्मेदवारहरुको मतको योगफलभन्दा कम हुन सक्छ। सामान्य बहुमत ५१% भन्दा कम मत ल्याउने उम्मेदवार बिजयी हुन सक्छ।

हठात गरिएको बाम गठबन्धनको उद्गम, दिशा, गति र प्रस्थान बिन्दु पहिचानमा नेपाली काङ्ग्रेस व्यवहारत: असफल भएकै हो। संसदीय र प्रादेशिक सिट नजितेपछि त्यसलाई पराजय पनि भन्न मिल्छ तर लज्जास्पद पराजयचाहिँ लोकतन्त्रमा कुनै पनि शक्तिको हुँदैन। अल्पमतको प्रतिनिधित्व गर्न पाउनु लज्जास्पद पराजय होइन।

धेरैको मष्तिस्कमा एउटा जल्दोबल्दो प्रश्न आउन सक्छ, अब नेपाली काङ्ग्रेसको भविष्य के हुन्छ? काङ्ग्रेसको भविष्यको कुरा गर्दा मूलरूपमा दुईवटा पक्षलाई हेर्नुपर्छ। सिद्धान्तत: काङ्ग्रेसको धरातल के हो र नेपाली राजनीतिमा काङ्ग्रेसले कुन सापेक्षमा कस्तो ब्यबहारिक नीति अख्तियार गर्छ भन्ने दुईवटा मूलभूत आचरणमा नेपाली काङ्ग्रेसको भविष्य अडिएको छ।

१. काङ्ग्रेसको सामाजिक लोकतन्त्र 

सामाजिक लोकतन्त्र एक संक्रमणपूर्ण अवस्था हो। पुँजीको विकास र त्यसलाई सामाजिक कल्याणमा लगाउने, जसको लागि कुनै अप्रिय आन्दोलन, अप्रिय संघर्षको बाटो प्रयोग नगर्ने या भनौं कुनै पनि प्रकारको रक्तपातरहित रुपान्तरणमा बिश्वास गर्नु सामाजिक लोकतन्त्रको अवधारणा हो। २०४७ सालपछि नेपाली काङ्ग्रेस पटकपटक सामाजिक लोकतान्त्रिक धार हुनुको उत्तरदायित्व बहन गर्नबाट पन्छेको छ। उत्पादनका साधनहरुको तीव्र निजीकरणलाई आधार बनाएर पुँजीको विकास गर्ने सोचलाई बढावा दिएको काङ्ग्रेसको तत्कालीन अर्थनीतिले पुँजीको ब्यबस्थापनमा राज्यको नियमन र अनुगमनलाई बस्तुत: खारेज गर्दियो, त्यसैको फलस्वरूप अहिले नेपालले आर्थिक अराजकता भोगेको छ।

सामाजिक लोकतान्त्रिक प्रणाली ‘सेन्टर टु लेफ्ट’ प्रणाली हो। नेपालका कम्युनिस्ट भनिनेहरुले सैद्धान्तिक अर्थशास्त्रमा उग्र क्रान्तिकारिता देखाउने तर ब्यबहारिक अर्थशास्त्रलाई सम्झौतापरस्त मान्ने गरेका छन्। उनीहरु जतिजति आफ्नो अर्थशास्त्रीय नीतिलाई बाँयाबाट केन्द्रतर्फ धकेल्छन्, काङ्ग्रेसले आफ्नो नीतिलाई केन्द्रबाट दाँया धकेल्दै लगेको पाइन्छ। अर्थात काङ्ग्रेसको नीति कम्युनिस्टहरुको नीतिको सापेक्षतामा चल्छ। यसको अर्थ हो, नेपाली काङ्ग्रेसले टेक्ने गरेको खाँबो सरिरहन्छ। जबसम्म खाँबो सरिरहन्छ, कहिँ पनि ओत लाग्दैन। यसलाई काङ्ग्रेसले पुनरावलोकन गर्नुपर्छ।

२. के समाजवाद बामपन्थीहरुको मात्र एजेन्डा हो?

बिपी कोइरालाले बनाएको काङ्ग्रेस अहिलेको बामपन्थी शक्तीहरुभन्दा पनि प्रगतिशील हो। राजनीतिक रुपमा बिपी कोइराला भारतको तत्कालीन काङ्ग्रेस संस्थापन र प्रधानमन्त्री जवाहरलाल नेहरुसँग नजिक भए पनि उनमा ‘नेताजी सुभासचन्द्र बोस’को व्यक्तित्वको ठूलो छाप परेको थियो। महात्मा गान्धीको आदर्शबाट भारत स्वतन्त्र हुन कठिन देखेका सुभासचन्द्र बोसले रसियाको सहयोगमा भारतमा हस्तक्षेप गर्न चाहन्थे। उनी स्टालिनबाट पनि प्रभावित थिए। तर अन्त्यमा बेलायती साम्राज्यवादबाट जसरी पनि छुटकारा पाउने शर्तमा हिट्लरसँग पनि हात मिलाउन तयार भएका थिए।

क्रान्तिकारी राप र तापबाट उत्पन्न भएको नेपाली काङ्ग्रेस पछिल्लो समयमा आइसक्दा वर्गीय रुपमा धनाढ्य, सामाजिक रुपमा भ्रष्टाचारी र ब्यबहारिक रुपमा पतीत शक्तिको रुपमा उदायो। तर इतिहास हेरेर मूल्यांकन गर्ने हो भने नेपालमा समाजवादको पहिलो परिकल्पनाकार नेपाली काङ्ग्रेसको घोषणापत्र थियो।

३. काङ्ग्रेसको ‘थर्ड वे’ 

शीतयुद्धताका अमेरिकाले कम्युनिज्मको फैलावट रोक्नको लागी धेरै ठाउँमा धेरै प्रयासहरु गर्यो। अशान्ति असुरक्षा लडाइ झगडाका बिउहरु रोपिए। पुँजीवादी कित्ता र समाजवादी कित्ताको बिचमा ठूला ठूला बहसहरु छेडिए। संसारभरको आर्थिक संरचनामा ब्यापक फेरबदल आयो। त्यसले नेपाललाई प्रभावित नपार्ने कुरै थिएन। बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउनुको कारण अन्य जे हिसाबबाट लिइए पनि बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन अनुसार नेपालमा कम्युनिज्मको प्रभाव रोक्नु थियो। त्यसपछि नेपाली काङ्ग्रेसले ‘थर्ड वे’ समात्यो।

‘थर्ड वे’ अर्थात तेस्रो मार्ग भनेको ‘सेन्टर टु लेफ्ट’ शक्तिहरुले बिकास गरेको प्रगतिशील आर्थिक ब्यबहारलाई रोकेर राज्यलाई समाजवादमा नितान्त नौलो तरिकाले संक्रमण गराउने बाटो थियो। यो अन्तर्राष्ट्रिय सन्दर्भमा प्रगतिशील शक्तिहरुको आर्थिक नीतिको गम्भीर मूल्यांकन गरेर तयार गरिएको बाटो हो। यद्यपि यो सफल या असफल हुनेमा अझै धेरै मत मतान्तरहरु छन्। राज्यको आर्थिक हस्तक्षेपलाई खुकुलो पारेर उदारीकरणलाई लोकप्रिय बनाउने पश्चिमा नीतिलाई काङ्ग्रेसले राम्रोसँग बुझ्न नसकेको कारणले नेपाली काङ्ग्रेसले स्खलित निजीकरण समात्न पुग्यो। त्यसले काङ्ग्रेसको नेतृत्वमा शान्तिपूर्ण समाजवादको आन्दोलन हुने कुरा तुहाइदियो। त्यही ‘थर्ड वे’ प्रयोग गरेर युरोप, क्यानडा, अमेरिका र कतिपय पूर्वी एसियाली देशहरुमा कल्याणकारी पुँजीवाद लागू भएको छ। संस्थागत आर्थिक आकांक्षाहरुलाई कम नियन्त्रण गर्ने अथवा राज्यले परिआउँदा सहयोग पनि गर्ने र व्यक्तिगत आर्थिक आकांक्षाहरुलाई राज्यले आफ्नो संयन्त्रबाट र बिभिन्न करप्रणाली मार्फत नियन्त्रण गर्ने यो नीतिको सफल प्रयोग नेपालमा काङ्ग्रेसले गर्न जरुरी ठानेन।

४. काङ्ग्रेसको ‘न्यु वे’ अर्थात नयाँ बाटो 

काङ्ग्रेसको नयाँ बाटोलाई नितान्त नेपाली माटोमा राखेर संश्लेषण गरौं। धेरै हदसम्म यो आगामी पाँच बर्षको लागी बामपन्थीहरुले तय गर्ने बाटोमा सापेक्षित रहन्छ। बामपंथीहरुले चिनियाँ समाजवादको पैरवी गर्न थाले भने नेपाली काङ्ग्रेसले स्वाभाविक रुपमा भारतीय लोकतन्त्रको बाटो समात्नुपर्ने हुन्छ। बामपंथीहरुको सेन्टरबाट लेफ्ट सम्मको दूरी बढेन भने काङ्ग्रेसले पनि सेन्टरबाट दाँया तर्फ दूरी बढाउने छैन।

तर, सरकार र सत्तामा आसिन भएका शक्तिहरु नीति नियम निर्माण र त्यसको कार्यान्वयन गर्न जति लचक हुन्छन्, प्रतिपक्षमा बस्नेहरुको लागी त्यो सम्भव हुँदैन। नेपाली काङ्ग्रेस इमान्दार प्रतिपक्ष भएर बसेको खन्डमा केन्द्रबाट दायाँसम्मको दुरी जति तय गरिन्छ, त्यसलाई हलचल नगरी राख्न सक्नुपर्दछ।

नेपाली काङ्ग्रेसको भविष्यमा चिन्तित हुनेहरुले  व्यक्तिवादी सोच त्यागेर सिद्धान्तनिष्ठ राजनीतितर्फ कदम बढाउन जरुरी छ। नेतृत्व परिवर्तनतर्फ मात्र ध्यान दिनु भनेको नयाँ आत्मघाती गोल गर्नु हुनेछ। बिशेष महाधिवेशनमा आफ्ना कमजोरीहरु केलाउँदै नयाँ र नेपाल सापेक्षिक नीतिको निर्माण र त्यही नीति र कार्यदिशा अनुसार सक्षम र उमेरले युवा देखिएका दोस्रा तहका नेताहरुलाई नेतृत्वको अवसर दिन हो भने काङ्ग्रेसको पुनरागमन असम्भव देखिँदैन। नत्र सत्ताको लागि नीतिगत साख गुमाउन तयार हुने हो भने नेपालमा नेपाली काङ्ग्रेसले छोडेको राजनीतिक भ्याकुमलाई अन्य कुनै शक्तिले प्रतिस्थापन गर्नेछ।

twitter : @ishuaryal

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्