म्यादी प्रहरी मारिएको विरोधमा सुर्खेतमा प्रदर्शन
सुर्खेत- कालिकोटमा म्यादी प्रहरी मारिएको विरोधमा सुर्खेतमा प्रदर्शन गरिएको छ। कर्णाली जनएकता समाजले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेको हो।
आफ्नो ज्याला माग्दा नेपाल प्रहरीले गोली हानेर म्यादी प्रहरी विवेक ऐडीको हत्या गरेको भन्दै सुर्खेतमा बसोबास गर्दै आएका कालिकोटका नागरिकले विरोध जनाएका हुन्। विरोध स्वरूप र्यालीसहित उनीहरूले वीरेन्द्रनगर बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
गोली हान्न आदेश दिने प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र गोली हान्ने व्यक्तिलाई तत्काल कारवाही गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, निष्पक्ष छानबिन समिति बनाएर घटनाको छानबिन गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखिएको छ।
समाजका अध्यक्ष पूर्णबहादुर शाहीले आफ्नो ज्याला माग्दा गोली हानेर मार्नु अक्षम्य अपराध भएको भन्दै दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए। उनले कर्णालीमाथि राज्यले पटक पटक यस्तै विभेद र दमन गर्दै आएको भन्दै आपत्ति जनाए।
म्यादी प्रहरी र नेपाल प्रहरीबीच दोहोरो झडपका क्रममा शुक्रबार प्रहरीको गोली लागी कालिकोटका म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो। सोही घटनापछि तीन दिनदेखि कालिकोट सदरमुकाम मान्म बजार तनावग्रस्त बनेको छ। स्थानीय प्रशासनले मान्ममा कर्फ्यू लगाएको छ।
यो पनि हेर्नुहोस्:
‘म्यादी प्रहरीलाई हामीले भेदभाव गरेका छैनौँ’