‘पार्टीलाई घाटा होला भनेर उकुसमुकुस हुँदा पनि बाेलेनाैँ’

गगन थापा। तस्बिर: आरजु हमाल।

कांग्रेस पराजयपछि पार्टीभित्र आरोपप्रत्यारोप भइरहेका बेला खासगरी पार्टीका दोस्रो पुस्तामा देखिने खालको प्रभाव राख्ने सांसद गगन थापाले यसको जिम्मेवारी सामूहिकरुपमा लिनु पर्ने र बदलिँदो परिस्थितिमा पार्टीको पुनर्संरचना हुनुपर्ने सुझाव अघि सारेका छन्।

७० वर्षभन्दा माथिका नेताहरुलाई अभिभावकीय भूमिकामा बस्न पनि उनले आग्रह गरेका छन्। त्योसँगै आगामी पाँच वर्ष आफूले कुनै पदको आकांक्षा नराखी संगठन विस्तारमा राष्ट्रिय स्तरमै अभियान चलाउने घोषणा पनि उनले गरेका छन्। उनीसँग देशसञ्चारकी दीपा दाहालले गरेको विस्तृत कुराकानीः

निर्वाचन परिणाम, कांग्रेस र मुलुक
नेपाली कांग्रेसका लागि निर्वाचनको यो परिणाम एकदमै अस्वाभाविक हैन। नेकपा माओवादी केन्द्र र नेकपा एमाले छुट्टाछुट्टै चुनावमा होमिएको भए यो पटकको निर्वाचनको परिणाम २०७० सालको जस्तै हुन्थ्यो। तर माओवादी र एमालेको भोट ‘ट्रान्सफर’ हुँदैन भन्ने हाम्रो अनुमान गलत सावित भएको छ। एमाले उम्मेदवारलाई माओवादीका मतदाताले र माओवादी उम्मेदवारलाई एमालेका मतदाताले सर्लक्कै भोट हाले। कांग्रेसले कम मत ल्याउनुमा त्यो नै सबैभन्दा महत्वपूर्ण कारण बन्यो। तर, उनीहरुले पार्टी एउटै बनाए र अबको पाँच वर्षपछि कांग्रेस एक्लै उनीहरुसँग एक्लै लड्नुपर्ने भयो भने उसले जित हासिल गर्न कम्तिमा पनि १७/१८ लाख मत धेरै ल्याउनुपर्ने देखिन्छ।

त्यतिबेला स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचनसम्म पुगेर त्यो संख्या थप्न सांगठनिक हिसाबले ठूलो चुनौती कांग्रेसका लागि निम्तिएको छ। प्रयास गरेमा सक्छ पनि। तर हाम्रो संगठन निकै बलियो हुनु पर्छ।

बाम गठबन्धनले पार्टी एउटै बनाए र अबको पाँच वर्षपछि कांग्रेस एक्लै उनीहरुसँग एक्लै लड्नुपर्ने भयो भने उसले जित हासिल गर्न कम्तिमा पनि १७/१८ लाख मत धेरै ल्याउनुपर्छ

कांग्रेसले पाएको यो मतले राष्ट्रको सन्दर्भमा के अर्थ लाग्छ भन्ने चाहिँ हेर्न बाँकी छ। यसबारे अहिले केही बताउँदा धेरै छिटो हुन्छ। हामीले निर्वाचनअघि केही आशंका जनताबीच प्रस्तुत गर्यौं। यो गठबन्धनले प्रजातन्त्रका आधारभूत विषयलाई चलाउने कोसिस गर्छ कि भन्ने आशंका थियो। त्यो आशंका गलत सावित होस्। तर, यदि त्यो बाटोमा जान खोजियो भने हामी रोक्ने प्रयास गर्छौँ।

बामगठबन्धले मात्रै कांग्रेसलाई पछि पारेको होइन
दुईवटा पार्टी मिलेका कारण मात्रै कांग्रेसले यो परिणाम भोगेको हो भनियो भने आत्मरतिमा रमाएको भन्ने बुझिन्छ। कांग्रेसले परम्परागत मत बाहेक नयाँलाई आकर्षक गर्नै सकेन। एमालेका मतदाता तर म कम्युनिष्ट हुँ भन्न हिच्किचाउनेलाई तान्न सक्ने अवसर हामीसँग थियो। त्यसमा हाम्रो कार्यशैली, नेतृत्वको अनि उम्मेदवारको छवि र विश्वसनीयता, एजेण्डा तय गर्ने शैली, आफ्नै प्रस्तुति र उनीहरुलाई जिताउन कस्तो वातावरण बनाउने भन्ने जस्ता विषयले महत्वपूर्ण अर्थ राख्छन्। समानुपातिक उम्मेदवार कस्तो छान्यौँ? पार्टीभित्रको संगठनको परिचालन कस्तो छ? भन्ने जस्ता विषयसँग पनि त्यो जोडिन्छ। यी सबै कुरामा ध्यान दिएको भए अहिलेकै अवस्थामा पनि कम्तीमा २० सिट हाम्रो बढ्ने थियो।

एमालेका मतदाता तर म कम्युनिष्ट हुँ भन्न हिच्किचाउनेलाई तान्न सक्ने अवसर हामीसँग थियो।

कांग्रेसमा हारको पूर्वानुमान
एमालेको भोट माओवादीलाई र माओवादीको भोट एमालेलाई जान्छ भन्ने हाम्रो अनुमान कमै थियो। मेरो क्षेत्रमा माओवादीका मतदाताले मलाई मत हाल्छन् भन्ने अनुमान थियो। त्यो अनुमानमा हामी गलत सावित भयौं। तर, दुईवटा पार्टी मिलेपछि हाम्रा लागि चुनौती छ भन्ने कुरा त थाहा थियो। साथै स्थानीय निकायको निर्वाचनमा पनि हाम्रो प्रस्तुति राम्रो थिएन। कतिपय जित्नैपर्ने नेताहरुले हार्नु भयो। शेखर कोइराला, विश्वप्रकाशजस्ता नेताहरुले हार्नु हुन्छ भन्ने नै थिएन।

आन्तरिक कमीकमजोरी लुकाउन बाध्य
निर्वाचनका बेला सकेसम्म हामी आफ्ना कमिकमजोरी ढाकछोप गर्न बाध्य हुन्छौं र यसपालि पनि भयो। ती विषयमा हाम्रो आन्तरिक रुपमा छलफल भने भएको थियो, तर अनकनाई। किनभने त्यो बाहिर जाने डर थियो। मन उकुसमुकस हुँदासमेत हामीले कतिपय कुरा गरेनौँ। त्यो बेला पार्टीलाई क्षति पुग्ला कि भनेर हामी धेरै नबोलेको हो।

समानुपातिकमा बेथिति
कांग्रेसमा समानुपातिकमा पनि बेथिति पाराले टिकट बाँडियो। म त मात्र केन्द्रीय सदस्य हो। हाम्रो संसदीय बोर्ड बन्दै बनेन। आफूलाई प्रभावशाली भन्ने दुई ठूला नेताहरुले बसेर टिकट बाँड्नुभयो। उहाँहरुले आफ्नो हिसाबकिताब मिलाउनुभयो। वरिपरिकाले टिकट हात पारे। बाहिर जाँदैन भन्ने भएपछि नेताहरुले त्यसको फाइदा लिनुभयो। सिधा अर्थमा भन्नुपर्दा हामीलाई हेप्नुभयो।

अहिले समानुपातिकमा पर्नुभएका साथीहरुलाई चित्त दुख्नसक्छ। तर, कोही साथी तेस्रोपटक समानुपातिकमा पर्नुभएको छ। प्रायः सबै दोहोरिएर सांसद बन्दै हुनुहुन्छ। हामीले पार्टीको केन्द्रीय समतिको बैठकबाट सभासद् नदोहोराउने निर्णय गरेका थियौं। जो क्षमतावान थिए, उनीहरुले मौकै पाएनन्। कतिपय नेता आफँैले टिकट नपाउने हो भन्ने डरमा बोल्नु भएन। कुनै सिस्टम छैन। असहमति जनाएमा कोठाबाट निकालिने डर थियो।

कांग्रेसमा समानुपातिकमा पनि बेथिति पाराले टिकट बाँडियो। संसदीय बोर्ड बन्दै बनेन।

बिना एजेण्डा जाँदा
निर्वाचनमा आरोपप्रत्यारोप हुन्छ। म मैदानमा गएपछि मेरोबारेमा भन्छु। मेरो प्रतिष्पर्धीले पनि मेरोबारे केही भनिदिन्छन्। त्यसो हुँदा जनताको मनमा मिश्रित चित्र बस्न पुग्छ। र, उनीहरुले आफ्नै धारणा बनाउँछन्। यसपालि हाम्रोबारे भन्ने ठेक्का नेकपा एमालेले लिएको जस्तो देखियो। उसले आफ्नो बारेमा पनि भन्यो र हाम्राबारेमा पनि भन्यो। उसले २०१५ सालमा सेना लगाएर जननिर्वाचित प्रतिनिधिलाई थुनेर सत्ता आफ्नो हातमा पार्ने राजाविरुद्ध ३० वर्षसम्म कांग्रेसले गरेको संघर्षलाई बिर्सिएर कांग्रेसले लगातार शासन गर्ने मौका पाए पनि केही गरेन भन्न समेत भ्यायो।

२०४८ सालमा हाम्रो आफ्नै घरझगडाले गर्दा हामीले व्यवस्थापन गर्न सकेनौँ। तर, एमालेले २०१५ साल पनि त्यसमा जोडिदियो। हुँदाहुँदा एमालेले २०६२ सालपछि सबैभन्दा धेरै सरकार चलायो तर केही गर्न सकेन भनेर हामीलाई आरोप लगायो। जबकि त्यतिबेला सबैभन्दा धेरै बाम गठबन्धकै सरकार चलेको थियो। एमालेले संविधान संशोधन गरेर देशलाई बर्बाद गर्न थालेको भन्दै हामीलाई आरोप लगायो। जबकी संविधान संसोधन गर्ने प्रस्ताव पुष्पकमल दाहालले गर्नुभएको थियो। प्रधानन्यायाधीशलाई महाअभियोग पनि कांग्रेस एक्लैले लगायो भनियो। त्यो बेला प्रधानमन्त्री त दाहाल नै हुनुहुन्थ्यो। हामीले भने हामी नभए संविधान बन्दैन थियो, निर्वाचन हुँदैन थियो मात्रै भन्यौ। एमालेबारे हामीले केही बोलेनौँ। उनीहरु हाइसन्चो तरिकाले चुनावमा लड्न पाए। यस्तै कमजोरीले गर्दा हामी पछि पर्यौ। शासकीय विषयमा पनि हामीले केही गर्न सकेनौँ।

पार्टी बोलेन
कांगेसको नीतिबारे स्पष्ट चित्र पार्टीका ठूला नेताहरुले कोर्नुपर्छ। त्यसमा मैले मात्रै गरेर हुने थिएन र हुुन्न पनि। पार्टीलाई हाँक्ने मुख्य नेतृत्वको यसमा ठूलो भूमिका हुन्छ जसले बोल्दा कांग्रेसले बोलेको ठानिन्छ। शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा शंसाक कोइरालाले बोल्दा कांग्रेसले नै बोलेको भन्ने गरिन्छ। उहाँहरुबाट त्यो काम हुनुपर्थ्यो। उहाँहरुप्रति मेरो निकै सम्मान छ। तर, ठिक ठाउँमा बस्नुभएका नेताहरुले जे भन्दिनु पर्थ्यो, जनताका अगाडि त्यो भनिदिनु भएन। त्यसैले आज कांग्रेसको हाल यस्तो भएको हो।

सामूहिक दोष
कांग्रेसको हारमा पार्टीका सबै व्यक्ति हिस्सेदार बन्नुपर्छ। कुनै व्यक्ति, वा नेतृत्वको मात्रै गल्ती छैन यहाँ। पार्टीको क्रियाशील सदस्य, गाउँ कमिटी हुँदै पार्टी सभापतिसम्मले यसको जिम्मा लिनुपर्छ। निर्वाचनअघि विभिन्न चरणमा हामी सबैको कमजोरी भएको पक्कै हो। जति हामीले गर्न सक्थ्यौँ, त्यो गर्न सकेनौँ। दोस्रो कुरा कांग्रेसको संगठनमा ह्रास आएको हिजो भर्खरदेखि हैन। यस्तो अवस्था २०४८ सालपछि मध्यावधी निर्वाचनमा गएपछि आएको हो। त्यसैले कांग्रेस हार्यो भन्ने मात्र होइन, अब पाँच वर्षपछि कसरी जित्ने भन्ने चुनौती ठूलो हो।

कांग्रेसको हारमा पार्टीका सबै व्यक्ति हिस्सेदार बन्नुपर्छ। कुनै व्यक्ति, वा नेतृत्वको मात्रै गल्ती छैन यहाँ। पार्टीको क्रियाशील सदस्य, गाउँ कमिटी हुँदै पार्टी सभापतिसम्मले यसको जिम्मा लिनुपर्छ।

नेतृत्वको राजीनामा
हामीले पार्टीका सभापति वा वरिष्ठ नेताले राजीनामा दिएर सबै समस्या समाधान हुन्छ भन्ने खोजेका छैनौँ। हामीले आफूभन्दा अग्रजलाई अनादर गरेर उहाँहरुका कारणले मात्रै पार्टीले हार्यो भन्यौँ भने गलत हुनेछ।

उहाँहरुमाथि सबै कुराको दोष थुपारेर हामी उम्कन खोजेको पटक्कै होइन। तर पनि यो सत्य हो कि नेपाली कांग्रेसमा टालटुले सुधारले हुँदैन। त्यति ठूलो नाकाबन्दीका बेला कोही पनि बोलेन भन्ने आरोप कांग्रेसमाथि लागेको छ। त्यस्तै राष्ट्रियताबारै सबै नेपालीको चित्त बुझाउन सकेन भन्ने आरोप पनि लागेको छ। कांग्रेसले विविधतालाई एकै ठाउँमा राखेर समावेसी लोकतान्त्रिक व्यवस्थालाई ग्रहण गर्यो, त्यो जनतालाई बुझाउन पनि सकेन।

७० कटेका अभिभावक
कांग्रेसले मौका पाउँदा सुशासन पनि कायम गर्न सकेन भन्ने आरोप पनि लागेको छ। अर्को कांग्रेसको महाधिवेशन भएको डेढ वर्ष मात्रै भएको छ। स्वभाविक रुपमा हाम्रो महाधिवेशन हुन अझै दुई वर्ष कुर्नुपर्छ। हिजो हामीले महाधिवेशन गर्दै गर्दा नेपाल एकात्मक थियो। अहिले व्यवस्था फेरिएको छ। कांग्रेसले राम्रै मत ल्याएको भए पनि तत्कालै अधिवेशनमा जानुपर्छ भन्ने धारणा मेरो हुने थियो। किनभने अहिले गाउँपालिकादेखि प्रान्तसम्ममा हाम्रो संरचना नै छैन।

त्यसैले संघीयताअनुसार पार्टीको पुनर्संरचना हुनुपर्छ। महाधिवेशन पनि छिट्टै बोलाउनुपर्छ। त्यो बेला मेरो आग्रह हुने छ, विशेषगरी ७० काटेका पार्टीभित्रका नेताहरुले आफैँ घोषणा गरिदिनुहोस्। सक्नुहुन्छ भने अहिले नै घोषणा गरेर अब हामी पार्टीभित्र अभिभावकको भूमिका निर्वाह गर्छौ या हामी संरक्षणकको भूमिकामा देखिन्छौं भनिदिनुहोस्। उहाँहरुले पार्टी सभापति बन्ने, संसदीय दलको नेता बन्ने वा पार्टीको मुख्य नेता बन्ने काम जति गर्यौं गर्यौंँ, अब पुग्यो भन्नुपर्छ। उहाँहरुले अब नयाँ साथीहरु आउनुहोस् भन्न सक्नुपर्छ।

७० काटेका पार्टीभित्रका नेताहरुले आफैँ घोषणा गरिदिनुहोस्। सक्नुहुन्छ भने अहिले नै घोषणा गरेर अब हामी पार्टीभित्र अभिभावकको भूमिका निर्वाह गर्छौ या हामी संरक्षणकको भूमिकामा देखिन्छौं भनिदिनुहोस्।

साधारण सदस्यमै खुसी हुन सक्छु
कसैले तपाई संसदीय दलको नेता बन्नुहोस् भनेका छन्। कसैले तपाईँ पार्टी सभापति बन्नुपर्यो भन्छन्। मेरो हकमा मलाई कुनै पनि पद चाहिन्न। न संसदीय दलको नेता चाहिएको हो, न त पार्टी साभापतिको पद नै। पार्टीको महामन्त्रीमा लड्दा महामन्त्रीका लागि योग्य छैनस् भनियो। त्यसपछि योबीचमा कुनै हल्ला गर्ने हक पनि राख्दिन मैले। म सांसद भएको छु। अर्को पाँच वर्षपछि चुनाव आउँछ। त्यतिञ्जेल कांग्रेसको साधारण वा क्रियाशील सदस्य भएर मेचीमहाकालीसम्मका गाउँगाउँमा गएर पार्टीको संगठन बनाउने चाहना छ। हामीलाई १७ लाख मत बढाउनु छ। हामीमात्र पार्टीलाई जरादेखि नै बलियो बनाउन चाहन्छौँ। त्यसैगरी पार्टीका पहिलो पुस्ताका नेताहरुलाई तपाईँहरु पनि छोड्दिनुहोस् भन्न खोजेको हो। उहाँहरु हटेपछि दोस्रो पुस्ताले काम गर्ने मौका पाउँछ। हैन भने अब अर्को चुनावमा जित हासिल गर्न कांग्रेसको पहिलो पुस्ताले दोस्रो पुस्तालाई काम गर्ने मौका दिनुपर्छ। हारेपछि राजिनामा दिएर अरुलाई काम गर्ने मौका दिने चलन अन्तर्राष्ट्रियस्तरमा छ। त्यो नेपालमा पनि कार्यान्वयन होस् भन्ने चाहना मेरो हो।

अर्को चुनावमा जित हासिल गर्न कांग्रेसको पहिलो पुस्ताले दोस्रो पुस्तालाई काम गर्ने मौका दिनुपर्छ।

कांग्रेस खुला पार्टी
हाम्रो पार्टीभित्र एमालेको जस्तो संगठन हुनुपर्छ भन्ने आवाज पनि उठ्छ। त्यसलाई तुरुन्त रोक्नुपर्छ भन्छु म। कांगे्रसमा अहिले पाँच लाखका हाराहारीमा क्रियाशील सदस्य छन्। मजस्ता उम्मेद्वारलाई सबैभन्दा बढी तिनै सदस्यसँग मत माग्नुपर्यो। त्यसैले भन्छु यो सदस्यताको व्यवस्था नै खारेज गर्नुपर्छ। कांग्रेसमा जो पनि आउन मिलोस् र मत हाल्न पनि पाओस्। खुल्ला सदस्यबाटै पार्टीको कार्यकारी पदमा चुनिनुपर्छ। त्यो गरेको खण्डमा केन्द्रसम्म सदस्य छान्ने तरिका फेरिन्छ। त्यो गरियो भने कांग्रेस स्वयमसेवकहरुको पार्टी बन्न पुग्छ र सबैले मन पराउँछन्। कांग्रेस अब खुला पार्टी बन्नुपर्छ। कुनै क्षेत्रमा विशेष योगदान पुर्याएकालाई सिधै पार्टीमा प्रवेश गराउने व्यवस्था पनि गर्नुपर्छ। त्यसपछि कांग्रेस सबैभन्दा बढी आकर्षित पार्टी बन्ने छ।

पुनर्जागरण
कांग्रेसका नीति र यसको महत्वबारे हरेक कुनाका जनतालाई थाहा हुनु जरुरी छ। कांग्रेसको पोजिसन, नीति, कार्ययोजना पनि नयाँ बनाउन जरुरी छ। यसको सदस्यताबारे व्यापक छलफल गर्न जरुरी छ। त्यसका लागि महासमितिको बैठक तुरुन्त बोलाउनु पर्यो। त्यसले तुरुन्तै विधान संसोधन गर्दै महाधिवेशन बोलाउनु पर्यो। कांग्रेसले जनताको आधारभूत सेवालाई सुलभ बनाउन विशेष ध्यान दिन जरुरी छ। आधारभूत हक अधिकार प्राप्तिपछि मात्रै नागरिकले अन्य विषयमा सोच बनाउन सक्छ र राजनीतिमा पनि उसको सक्रियता बढ्छ। यो विषयलाई कांग्रेसले आफ्नो बनाउनुपर्छ भन्ने मलाई लाग्छ। बाँकी व्यवसाय नागरिक आफैँले गर्ने हो त्यसमा सरकारले उत्प्रेरणा जगाउने हो। जसरी २००४ सालमा पार्टीका सदस्यले सदस्यताको कार्ड लुकाएर माया गरेर राख्थे, त्यस्तै मायाको अहिले आवश्यक छ।

संघीयता सुहाउँदो कांग्रेस
कांग्रेसले मुलुकको संघीय संरचना अनुसार संविधानसँग मिल्नेगरी आफ्नो संगठन विस्तार गर्नुपर्छ। त्यो भयो भने प्रदेशको टिकट प्रदेशले नै वितरण गर्छ। गाउँपालिका र नगरपालिकाको टिकट पनि उसैले वितरण गर्छ। जो केन्द्रको राजनीतिमा लाग्न चाहन्छन्, उनीहरुले त्यहीबाट काम गर्ने छन्।

राष्ट्रियतामा अडिग
राष्ट्रियताको सवालमा हामी अडिग छौं। घरभित्र पनि हामी एकआपसमा मिल्नु पर्छ। सबै जातजाति, भाषा, धर्म सबैलाई मिलाएर लग्नुपर्छ। त्यहाँ विभाजन ल्याउने काम रोक्नुपर्छ। घर बाहिरको सम्बन्ध अर्थात छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध पनि प्रगाढ हुनुपर्छ। तर, सम्बन्ध सुमधुर बनाउने नाममा आफ्नो स्वाभिमान र स्वाधीनतामाथि ठेस लाग्न दिनुहुन्न। हाम्रो स्वाधीनता सबैभन्दा ठूलो कुरा हो।

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू