विराटनगरका सिटी रिक्साबारे मेयरले निकाले उपाय

विराटनगरमा सिटी रिक्साबारे छलफलमा सहभागी हुँदै मेयरलगायत सहभागी।

विराटनगर- विराटनगर महानगरपालिका भित्र रहेका विद्युतीय रिक्सा चालकहरुको समस्या अस्थायी रुपमा समाधान भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आइतबार साँझ जिल्ला प्रशासन कार्यालयका पदाधिकारी, महानगरपालिका प्रमुख, विद्युतीय चालक संघका पदाधिकारी, प्रहरी निकायसँगको छलफलपछि अस्थायीरुपमा समस्याले निकास पाएको हो।

बैठकमा सहभागी ईरिक्सा चालक संघ मोरङ जिल्ला अध्यक्ष आमोद कामतका अनुसार, दुई महिनासम्मका लागि राजमार्गमा सवारीसाधन गुडाउन चालक र सम्बन्धित निकायबीच सहमति बनेको छ। उनले भने, ‘विराटनगरभित्र रोडषेश चौकदेखि बरगाछीसम्म एकतर्फी रुपमा रिक्सा कुद्नेछ।’

त्यसैगरी, रुट परमिट जाँचपास खारेजी, नया रिक्सा बेचबिखनका विषयमा भने यस बैठकले निर्णय लिन नसकेको रिक्सा चालक संघर्ष समितिका संयोजक दिपक मण्डलले जानकारी दिए। उनले भने, ‘नया रिक्सा बेचबिखनमा रोक र रुट परमिट जाँचपास खारेजीको माग यथावत छ।’

महानगरपालिकाले भने अर्को विकल्प नहुन्जेलसम्म दुई महिना विद्युतीय रिक्सा राजमार्गमा एकतर्फी चलाउन दिने निर्णय भएको जनाएको छ।

हाल समस्यालाई निकास दिन महानगरपालिका प्रमुँख भीम पराजुलीद्वारा अस्थायी रुपमा रिक्साहरुलाई एकतर्फी रुपमा राजमार्गमा चल्न दिने निर्णय भएको मोरङका ट्राफिक प्रहरी प्रमुख मदन गिरीले जानकारी दिए।

सडक निर्माणाधीन अवस्थामा रहेको र रिक्साको चाप बाक्लो भएकोले मानवीय क्षति हुनसक्ने सम्भावनाका कारण प्रहरीले चेकजाँच गर्ने गरेको गिरीको भनाइ छ। उनी भन्छन्, ‘सडकमा सानो खाल्डोमा रिक्सा परे पल्टिन सक्छ त्यसले यो अन्य सवारी भन्दा बढी जोखिममा छ।’

विराटनगरमा हाल ५ हजार ४ सयको संख्यामा ट्याम्पो, विद्युतीय रिक्सा गुड्ने गरेका छन् । १ हजार ७ सय विद्युतिय रिक्सा महानगरपालिकाको अनुमतिमा चलिरहेका छन् भने बाँकी रिक्सालाई सुनसरीस्थित यातायात व्यवस्था कार्यालयले अनुमति दिएको छ।

विराटनगरमा शुक्रवारदेखि विद्युतीय रिक्सा चालकहरुले राजमार्गमा सवारी साधन गुडाउन पाउनुपर्ने, रुटपरमिट खारेजी, र नयाँ रिक्सा बेचविखनमा रोक लगायतका माग सार्दै आएका थिए। बैठकमा महानगरपालिका प्रमुख भीम पराजुली, जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख शेषनारायण पौडेल, ट्राफिक प्रहरीका पदाधिकारी र विद्युतीय रिक्सा चालकहरु सहभागि थिए।

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्