धनुषा ३ को चुनावी परिणाम विवादमा

जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

धनुषा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोले चुनाव जितेपछि यादवले पुनः निर्वाचनको मागसहित मंसिर २१ गतेको निर्वाचन बदरको माग गर्दै रिट दायर गरेका थिए भने उक्त रिटमा सर्वोच्चले शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ।

प्रधानन्यायधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीकककुमार कार्कीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। गत मंगलबार सर्वोच्चमा दायर गरिएको यादवको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै पुस १४ गते दुवै पक्षलाई बोलाएको छ।

यादवको रिटमा वरिष्ट धिवक्ता रमण श्रेष्ठ, हरिप्रसाद उप्रेती, रामनारायण यादव, अमरनाथ सिंह, अधिवक्ता सुनिल खरेल, पंकजलाल कर्णलगायतले बहस गरेका थिए। माओवादी केन्द्र, एमाले र रामसिंह यादव विरुद्ध प्रचारवाजी गराएर राजेन्द्र महतोले चरित्र हत्या गराएको यादवको आरोप छ।

महतोले मौन अवधिमा अनर्गल प्रचारबाजी गराएर आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै यादवले पुनः चुनाव गराउन माग गरी  निर्वाचन आयोगमा निवेदन दर्तासमेत गराएको बताएका छन्।

यादवले जनता मिडिया, मधेश डटकममा समेत मौनअवधिमा राजेन्द्र महतोको पक्षमा प्रचार गरेको आरोप लगाउँदै कार्वाही माग गरेका छन्। मौन समय र निर्वाचनको दिन बाम गठबन्धनले राजपा उम्मेदवार राजेन्द्र महतोलाई समर्थन गरेको हल्ला चलाएकाले निर्वाचन परिणाम बदर गर्नुपर्ने माग यादवको छ।

मौन अवधिमा समेत राजपाले प्रचार प्रसार गरेको भन्दै यादवले चुनावकै दिन जनकपुर उपमहानगरपालिका १ स्थित जनकपुर भन्सार कार्यालयको मतदान स्थल नजिकै होहल्ला समेत गरेका थिए। मतदान स्थलमा समान्य झडप समेत भएको थियो । उनले राजपाका महतोलाई गालीगलौज समेत गरेका थिए।

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धनुषा क्षेत्र नं. ३ बाट वाम गठबन्धन घटक नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभाका लागि चुनाव लडेका विनाविभागीय राज्यमन्त्री समेत रहेका यादवको जमानत जफत भएको थियो। उनले २ हजार ३ सय ४६ भोट मात्र प्राप्त गरे।

उक्त क्षेत्रबाट राजपा नेपालका नेता राजेन्द्र महतो ३० हजार ७ सय ५० मत ल्याएर चुनाव जितेका थिए। महतोका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २७ हजार ८ सय ४७ मत ल्याएर पराजय व्यहोर्नुपर्‍यो। स्थानीय निकायको निर्वाचनमा उक्त क्षेत्रभित्र पर्ने स्थानीय तहमा एमाले र माओवादी दुइटै मिलाएर झन्डै १५ हजार मत पाएका थिए।

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्