१२ वर्षीया बालिकालार्ई छिमेकीबाटै यौन दुर्व्यवहार

जनकपुरधाम-जनकपुर उपमहानगरपालिका ४ मा एक १२ वर्षीया बालिकाको  सामूहिक बलात्कार भएको छ। बालिकालार्ई छिमेककै चार जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बालिका आफ्नो घर फर्किने क्रममा बाटोबाटै दुई युवाले उनलाई जवर्जस्ती मोटरसाइकलमा राखेर लगेको पीडित बालिकाले जनाएकी छिन्। पीडित बालिकाका अनुसार मोटरसाइकलमा रहेका युवाले उनको मुख थुनेर कोठामा लगेको र अन्य दुई जना युवाहरु सँग मिलेर जवरजस्ती गरेको थियो। पीडित् बालिकाले भनिन्, ‘म भाग्न खोज्दा उनीहरुमध्ये एक युवाले मलाई तीनचार झापड हाने। रातभर उनीहरुले मलाई शोषण गरे।’

अर्काको घरमा काम गर्ने ती बालिकाको आमाबुबाले राति छोरी घर नफर्केपछि खोजबिन सुरु गरे पनि भेटाउन सकेनन्। बिहान सबेरै छोरी असामान्य अवस्थामा घर पुगेको देखेपछि सोधीखोजी गर्ने क्रममा बलात्कारको घटना खुलेको हो। घटना गत साताको शुक्रबार भए पनि ढिलो गरी खुलेको हो। बलात्कार गर्नेमध्येका केही युवाले शनिबार दिउँसो घरमा आएर घटना सार्वजनिक नगर्न पीडित युवतीलाई दबाब दिएपछि घटना बाहिर आउन सकेको थिएन। पहिला आफुहरुले घटनालाई लुकाउन खोजेको तर पछि घरमै आएर पिडकले धाकधम्की दिन थालेपछि आफुहरुले छिमेकीलाई खवर गरेको पीडितकी हजुरआमा बताउछिन्।

घटनाबारे थाहा पाएपछि प्रहरीले बालिकालाई स्वास्थ्य जाँचका लागि आइतबार बिहान अस्पताल पठाएपछि बलात्कारमा संलग्न युवाको खोजी कार्य सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीले दोषी युवालाई प्रहरीले पक्राउ गरेरै छाड्ने दाबी गरे।

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्