राजमार्गबाट हटेनन् इ-रिक्सा, चालक र प्रहरीको आ-आफ्नै अडान

आन्दोलनमा उत्रेका इ-रिक्सा चालक। तस्बिर-उमाकान्त खनाल

विर्तामोड- इ-रिक्सा चालक र ट्राफिक प्रहरीको आ-आफ्नै अडानका कारण ट्राफिक प्रहरीको इ-रिक्सालाई राजमार्गमा चल्न नदिने प्रयास असफल देखिएको छ। ट्राफिक प्रहरीको राष्ट्रिय राजमार्गमा चल्न नदिने र चालकहरुको जसरी पनि चलाउने अडानका कारण सरकारी निर्णय अन्यौलमा परेको हो।

इरिक्सा चालकहरुका अनुसार जिल्लाभर चल्न पाउने गरि दिइएको आधारमा उनीहरुले राष्ट्रिय राजमार्गहरुमा इरिक्सा चलाइरहेका छन्। उनीहरुले सोही अडान लिएर दिनहुँ जस्तो आन्दोलन गरिरहेका छन् । शनिवार मात्र अञ्‍चल यातायात कार्यालय मेचीमा इरिक्सा चालकहरुले माइकिङसहित धर्ना दिएका थिए।

प्रदुषण कम गर्ने भन्दै विगत केही बर्षदेखि आयात गरिएका व्याट्रीबाट चल्ने इरिक्सा व्यवस्थापन गर्न अहिले सरकारी निकायलाई अप्ठ्यारो परिरहेको छ। केही दिन अघि व्याट्रीबाट चल्ने इरिक्सा राष्ट्रिय राजमार्गमा चल्न ट्राफिक प्रहरीले रोक लगाएपछि सुनसरीको इटहरीमा इरिक्सा चालकहरु विरोधमा उत्रिए।

परिस्थिति तनावपूर्ण भएपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गर्‍यो। त्यस्तै पुस ८ गतेदेखि झापामा पनि इ-रिक्सालाई राष्ट्रिय राजमार्गमा चल्न नदिने भन्दै ट्राफिक प्रहरीले कार्वाही अगाडि बढाएपछि झापाका इरिक्सा चालकहरु विरोधमा उत्रिए।

झापा लक्ष्मीपुरका एकजना इरिक्सा चालक भक्त लिम्बुका अनुसार उनीहरुले जग्गाको धनीपुर्जा बैंकमा राखेर इरिक्सा खरिद गरेका हुन्। लिम्बु भन्छन्, ‘हामीलाई बैंकको ऋणबाट मुक्त गरिदियो सरकारले भने कुनै रहर छैन इरिक्सा चलाउन।’ इरिक्सा चालकहरुको भनाइमा राष्ट्रिय राजमार्ग भन्दा बाहिरका सडकमा इरिक्सा चल्नसक्ने अवस्था छैन।विर्तामोडका इरिक्सा चालक देव लिम्बुले भने, ‘सरकार भन्छ राजमार्गबाट बाहिर चलाउनु । कहाँ छ इरिक्सा चल्ने बाटो?’

ट्राफिक प्रहरीका अधिकारीहरु भन्छन् गत असोज २२ गते यातायात व्यवस्था विभागको निर्देशनमा इरिक्सालाई राष्ट्रिय राजमार्गमा चल्न नदिने परिपत्रका आधारमा कार्वाही अगाडि बढाइएको हो । राष्ट्रिय राजमार्गमा चल्न नदिने निर्णय इरिक्सा चालक तथा यात्रुको सुरक्षाका लागि गरिएको १ नं प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए।

लम्सालले भने, ‘करीब ९० प्रतिशत इरिक्सा चालकसंग सवारी चलाउने अनुमति पत्र छैन । दुर्घटना गरेर उनीहरुले मान्छे मारे भने सिधै जेल जानुको विकल्प छैन। उनीहरु त जान्छन नै इरिक्साका मालिक पनि जेल जान्छन् ।’

ट्राफिक प्रहरीका अधिकारीहरु भन्छन् तराईका राजमार्ग अस्तवयस्त भएका कारण पनि राजमार्गबाट इरिक्सा हटाउनको विकल्प छैन। तर त्यस्का लागि राजनीतिक दल तथा नागरिक समाजको सहयोग नपाएको एसपी लम्सालले दुखेसो गरे।

लम्सालले भने, ‘हामीलाई प्रशासन, राजनीतिक दल तथा नागरिक समाजको सहयोग चाहिन्छ। तर अहिले सहयोग पाएको अवस्था छैन। उहाँहरुले अहिले हटाउने बेला भइहालेको छैन भन्छन्।’

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्