शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै

कञ्‍चनपुर-कृषि क्षेत्रमा दक्ष प्राविधिकको अभाव पूर्ति गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले सञ्चालन गरेको बाली विज्ञान(पिजेटिए) विषय शहरका विद्यार्थी गाउँमा बसेर पढ्न थालेका छन्।

प्राविधिक बाली विज्ञान विषयको पढाइ गाउँकै विद्यालयमा सञ्चालन भएपछि धनगढी, महेन्द्रनगर, बैतडीलगायत क्षेत्रका विद्यार्थी झलारीमा रहेको विद्यालयमा पढ्न थालेका छन् ।

थोरै शुल्कमा प्राविधिक शिक्षा पढेर सहजै सरकारी र गैरसरकारी संस्थामा रोजगारी पाइने भएकाले बाली विज्ञानप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको हो।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बसोवास गर्दै आएका हिक्मत धामीले कृषि विषयमा पढाइ हुने विद्यालय बजार क्षेत्रमा नहँुदा ग्रामीण क्षेत्रमा रहेको विद्यालयमा भर्ना भएर पढ्दै आएको बताए।

अठार महिना पढेर सहजै रोजगारी पाउन सकिने भएकाले यस विद्यालयमा भर्ना भएर पढ्दै आएको उहाँले बताउनुभयो । विद्यालयमा बैतडी, कृष्णपुर, कैलाली, रैकवार विचवा, बेदकोट र शुक्लाफाँटा नगरपालिका विद्यार्थी पढ्दै आएका छन्।

फलफूल बाली, तरकारी, बीउ, फूल, माटो, रोग किरा, माछा, माहुरी, रेशम, च्याउ, फार्म मेसिनरी, कृषि उपकरण, आइपिएम पाठशालालगायतका ११ विषयमा पढाइ हुने गरेको विद्यालयका प्रमुख कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताए।

विद्यार्थीलाई ८० प्रतिशत प्रयोगात्मक र बाँकी २० प्रतिशत सैद्धान्तिक रुपमा पढाइ गर्ने व्यवस्था गरिएको छ । ‘सैद्धान्तिकका लागि १३० घण्टा र प्रयोगात्मकका लागि एक हजार २४० घण्टा पढाइ गर्ने गरी समय निर्धारण गरेका छौँ’ संयोजक पाण्डेयले भने। विद्यालयमा पढ्दै आएका विद्यार्थीलाई सहजता प्रदान गर्नका लागि दुई किस्तामा शुल्क लिने व्यवस्था विद्यालयले गरेको छ ।

विद्यार्थीको पढाइ शुल्कबापत विद्यालयले लिने रु ७४ हजार ४०० रकममध्ये पहिलो किस्ताका रुपमा रु ४७ हजार ४०० र दोस्रो किस्ताका रुपमा रु २० हजार रकम लिने व्यवस्था गरेको छ।’यसबाट विद्यार्थीका अभिभावकमा एकै पटक भार नपर्ने भएकाले दुई किस्तामा रकम लिने व्यवस्था गरेका हौँ” संयोजक पाण्डेयले भने। अठार महिने बाली विज्ञान विषय पढेर विद्यार्थीले प्राविधिक खरिदारसरहको रोजगारी पाउने उनले बताए।

विद्यालयको स्वामित्वमा रहेको अढाइ बिगाह जग्गामा विद्यार्थीले प्रयोगात्मक कक्षा लिँदै आएका छन् । बाली विज्ञान विषय पढ्ने ४० विद्यार्थीमध्ये अतिविपन्न परिवारका पाँच प्रतिशत विद्यार्थीको शैक्षिक शुल्क मिनाहा गरिएको छ।

प्राविधिक विषयका कक्षा सञ्चालन गर्न, भौतिक तथा कृषि सामग्री खरिदका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान ब्लकअन्तर्गत रु तीन लाख र शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले रु पाँच लाख सहयोग रकम उपलब्ध गराएको छ। रासस

यो पनि हेर्नुहोस्:

कृषि औजार प्रयोगमा किसानको पहुँच बढ्दै

जागिर नपाएपछि माछापालन, लाखौंको कमाइ

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्