कास्कीमा करेन्ट लागेर किशोरीको मृत्यु

कास्की-कास्कीमा बिजुलीको करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। कास्कीको साविक मिजुरेडाँडा हाल मादी गाउँपालिका वडा नं. ९ गहते ठूलोगाउँकी १५ वर्षीया बालिका एलिसा गुरुङको करेन्ट लागेर ज्यान गएको हो।

उनी बारीमा साग टिप्न जाने क्रममा आइतबार बारीमा प्रवाह भइरहेको करेन्टका कारण उनको मृत्यु भएको हो। साग लिन गएकी बहिनी अवेरसम्म नआएपछि दिदी हेर्न जाँदा उनी मृत अवस्थामा स्थानीय सरस्वती कुञ्ज निमाविका शिक्षक एवं आफन्त उत्तर गुरुङले जानकारी दिए ।

मृतक बालिका एलिशा सोही स्कूलबाट आठ कक्षा पास गरी गोर्जेस्थित हिमालय माविमा कक्षा नौ मा अध्ययनरत थिइन्।

‘बिजुलीको हाइटेन्सन लाइन र पोललाई अड्याउन जमिनमा बिछ्याइएको तार छोइएर जमिनमा करेन्ट प्रवाह भएको रहेछ,’ गुरुङले भने, ‘एक हप्ताअघि मात्रै लप्सी बोट ढल्दा तारहरुमा क्षति पुगेको थियो। राम्ररी मर्मत नगरिदिँदा दुर्घटना भयो।’

गुरुङका अनुसार ६ जना प्राविधिकले साँझसम्म मर्मत गरे भयो भनेर हिँडेका थिए।

घटनास्थलमा डाँडाको नाक प्रहरी चौकीबाट प्रहरी पुगेर मुचुल्का तयार गरेको उनले बताए। घटनापछि गाउँलेहरु आक्रोशित छन्। उनीहरुले विद्युत प्राधिकरणको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै उचित क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका छन्।

विद्युत प्राधिकरणको लापरबाहीको कारण गत साउन महिना २६ गते पनि एक युवा दुर्घटनामा परेका थिए। पोखरा ११ रानीपौवामा मोटरसाइकल सवार एक लेखनाथ २० भलाम विष्णु बस्ताकोटी माथि टाँगिएको करेन्टको तार खस्दा गम्भीर घाइते भएको थिए। उनको उपचारकै क्रममा १७ कात्तिकमा मृत्यु भएको थियो।

 

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्