छोरी जगाउँदै रेखा थापा र अभियन्ता कार्की

सुर्खेतमा बालविवाह रोक्ने महाअभियानमा सहभागी हुँदै अभिनेत्री रेखा थापा, अभियन्ता नरबहादुर कार्कीलगायत। तस्बिर: देशसञ्चार

बालविवाह रोक्ने महाअभियानलाई सुर्खेतमा तीव्र पारिएको छ।सुर्खेतबाट सुरु भएको ‘छोरीका निम्ति स्वर्णीम नेपाल–महाअभियान’ लाई सफल बनाउन अभियन्ताहरू लागिरहेका छन्। अभिनेत्री रेखा थापा र अभियन्ता नरबहादुर कार्की यो महाअभियानका क्रममा अहिले गाउँगाउँ चहारिरहेका छन्।

महाअभियानका क्रममा अभियन्ताहरूको सक्रियतामा स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। बालबालिका सामाजिक विकृतिका रूपमा रहेको भन्दै राष्ट्रिय रूपमा महाअभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्।

किशोर–किशोरी केन्द्रित गरी शनिबार पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा सचेतनामूलक कार्यक्रम गरिएको छ। यस्तै, अभियानका क्रममा आज सोमबार पश्चिमको पञ्चपुरी नगरपालिकामा पनि कार्यक्रम सुरु भएको छ।

सन् २०२० सम्म सरकारले बालविवाह नगन्य बनाउने नीतिलाई सहयोग पुग्ने गरी ‘छोरीका लागि स्वर्णीम नेपाल महाअभियान’ सुरु गरिएको अन्तर्राष्ट्रिय प्रशिक्षक एवम् अभियानका अभियन्ता नरबहादुर कार्कीले बताए। बालविवाह मौन महामारीका रूपमा फैलिएको भन्दै उनले बालविवाह न्यूनीकरणका लागि समाजको नियम बदल्नुपर्ने बताए।

‘बालविवाह न्यूनीकरण हुन सकेको छैन,’ उनले भने, ‘बालविवाह गर्ने स्वीकार गर्ने समाजलाई सचेत बनाउनुपर्छ, जसको लागि हाम्रा अभियानमा सबैको साथ आवश्यक छ।’

उनले स्थानीयस्तरमा पुगेर छोरीहरूलाई सचेत गराए मात्रै बालविवाह न्यूनीकरण हुने बताए।

बालविवाहले छोरीहरूको आर्थिक, सामाजिक र बौद्धिक विकासमा असर पर्ने भन्दै उनले राज्यको नयाँ संरचना अनुसार स्थानीय सरकारलाई जिम्मेवार बनाउने अभियान थालेको बताए।

देशको आर्थिक समृद्धि र विकासका लागि छोरीहरूमा जागरण ल्याउनुपर्ने उनको भनाइ छ। ‘नेपालमा महिलाहरूको आधा जनसंख्या अनुपात्दक बनेको छ,’ उनले भने, ‘जबसम्म महिलाहरू आत्मनिर्भर हुँदैनन् तबसम्म देशले गति लिने कल्पना पनि गर्न सकिदैंन।’

बालविवाहका कारण छोरीहरू अर्थतन्त्रको बलियो स्रोतबाट बाहिर रहनुपरेको भन्दै अभियन्ता कार्कीले छोरीहरूलाई जगाउन अभियान तीव्र पारिएको बताए। नारीहरू सशक्त नभएसम्म देश विकास नहुने अर्काे अभियन्ता एवम् नायिका रेखा थापाले बताइन्।

उनले घर–घरमा पुगेर छोरीलाई सशक्तीकरण सिकाउने बताइन्। ‘राज्यले नेतृत्व तहमा महिलालाई कोटामा सीमित राखेको छ,’ उनले भनिन्, ‘अब नारीहरू सशक्त छन् भन्ने सन्देश दिन हामी घरदैलोमा जाँदैछौं।’

देशव्यापी रूपमा सञ्चालन गरिने उक्त अभियान पहिलो चरणमा मध्य तथा सुदूरपश्चिममा र तराईका आठ जिल्लामा गरिनेछ। अभियानका क्रममा स्थानीय निकायले छोरीहरूको तथ्यांक संकलन गरी सूची तयार पार्ने प्रतिबद्धता गर्ने गरेका छन्।

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्