औद्योगिक व्यापार मेलाका लागि स्टल बुकिङ धमाधम

पोखरा- प्रदर्शनी केन्द्र नयाँबजारमा हुन गइरहेको लक्ष्मी पोखरा राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला २०७४ मेलाका लागि स्टलहरु धमाधम बुकिङ भइरहेको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ।

पुस २७ देखि माघ ८ गतेसम्म सञ्चालन हुने मेलामा डोमभित्रका अधिकांश स्टलहरु बुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमितिका संयोजक तथा संघको वाणिज्यतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीले जानकारी दिइन्। मेलामा साधारण, मेड इन नेपाल तथा कृषि, हस्तकला,अटोतर्फका स्टलहरुको बुकिङ पनि उत्साहप्रद रहेको उनले बताइन्। मेलामा करिब ३ सयवटा स्टल रहेको सुवेदीले जानकारी गराइन्।

मेलामा यसपटक मोबाइल प्रदर्शनी तथा बिक्रीलाई विशेष प्राथमिकता दिइएकाले पनि मेलाप्रति आम पोखरेलीको चासो बढेको संघका उद्योगतर्फका उपाध्यक्ष तथा मेलाको प्रायोजक व्यवस्थापन उपसमिति संयोजक गोकर्ण कार्कीले बताए। कार्कीले भने, ‘मोबाइलको बृहत प्रदर्शनीले मेलामा युवा सहभागिता बढ्नेमा विश्वस्त छौँ।’

मेलाका साँस्कृतिक व्यवस्थापन उपसमितिका संयोजक तथा कोषाध्यक्ष पवनकुमार प्रजापतिका अनुसार मेलामार्फत अवलोकनकर्तालाई भरपूर मनोरञ्जन दिन सम्पूर्ण तयारी गरिएको छ।

उनका अनुसार मेलामा दैनिक रुपले आयोजना हुने लोकदोहोरी, हास्यव्यङ्ग्य,पप तथा आधुनिक गीत, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, फेसन सो र लाइभ कन्सर्टका लागि कलाकार चयन भइसकेका छन्। मेलामा आवश्यकता अनुसार थप मनोरञ्जनात्मक कार्यक्रमलाइ समावेश गरिने उनले जानकारी दिए।

संघका महासचिव तथा प्रचार प्रसार समितिका संयोजक दामु अधिकारीका अनुसार मेला तयारीलाई तीव्रता दिने क्रममा सम्पूर्ण उपसमितिहरुले आआफ्नो जिम्मेवारी कुशलतापूर्वक अगाडि बढाइरहेको बताए। ‘मेला र महोत्सवको प्रवर्तक पनि भएकोले हाम्रो अनुभव र संघको देशव्यापी सञ्जालले समेत मेलालाई देशकै उत्कृष्ट मेला बनाउन हामी जुटेका छौँ।’

पुस १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्