विराटनगरका अधिकांश पेट्रोलपम्प ‘जोखिममा’

विराटनगरस्थित एक पेट्रोलपम्प। विराटनगरका पेट्रोल पम्पहरुले न्यूनतम मापदण्ड पनि पूरा गरेका छैनन्। तस्बिर: अभयकुमार राई

विराटनगर महानगरपालिकाको करिब १० किलोमिटर क्षेत्रफलभित्र यहाँ २० वटा पेट्रोलपम्प सञ्चालनमा छन्। वीरगञ्जको सुपर ग्यास उद्योगजस्तो आगलागीको अवस्था सिर्जना भए यी पेट्रोलपम्पहरुका कारण विराटनगर नै आगोको लपेटामा पर्ने जोखिम छ।

त्यसविपरीत यहाँका पेट्रोलपम्प व्यवसायी भने आफूहरु पूर्णरुपमा सुरक्षित र सुसज्जित रहेको दाबी गरिरहेका छन्। पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष मुकुन्दप्रसाद न्यौपानेका अनुसार पेट्रोल पम्पका कारण भयावह अवस्था आउने छैन।

सीमावर्ती जोगबनीदेखि विराटनगर ढाटसम्मको करिब १० किलोमिटरको बलभद्र राजमार्गमा अवस्थित पेट्रोलपम्पहरुमा आगो निभाउने फायर एक्सिटिनगाइजर, सामान्यतयाः देखिने गरी झुण्ड्याएर राख्नुपर्ने बालुवा भरिएको बाल्टी, बेल्चा लगायतका सामग्री देखिँदैन।

अध्यक्ष न्यौपाने स्पष्ट पार्छन्, ‘हामीसँग सबैकुरा छन्। तर, बाहिर राख्दा चोरी हुने गरेको छ र ती सामानहरु भित्र राख्छौँ।’

उनले दाबी गरे, “हामी जोखिममा छैनौँ भन्दैनाैँ तर, सक्दो जोखिमबाट जोगिन सक्ने अवस्थामा रहेका छौँ।’

पम्पहरु करिब १ किलोमिटरको दूरीमा हुनुपर्छ तर यहाँ त्यस्तो देखिँदैन भन्नेमा अध्यक्ष न्यौपाने भन्छन्, ‘धेरै पुराना पम्प छन्। जतिबेला क्षेत्रफल गौण हुन्थ्यो। अब बन्ने नयाँका लागि उक्त मापदण्ड हो। नयाँ पम्पहरुले यो नियम अवलम्वन गर्नुपर्छ।’

सामान्यतयाः पेट्रोलपम्पहरुमा दश लिटर क्षमताका चारवटा बाल्टिनमा रातो रंग लगाई बालुवा भरेर राख्नुपर्ने, नांगो तार, बिजुलीको खम्बाको सिधामुनि पम्प राख्न नहुने, शौचालय, पम्पमा कार्यरत कर्मचारीहरूले सामान्यरुपमा अग्नि नियन्त्रण सम्बन्धी तालिम लिनुपर्ने, पम्प वरपर चुरोट खान रोक्नुपर्नेलगायत मापदण्ड पूरा गर्नुपर्छ। तर, महानगरपालिकामा भएका अधिकांश पम्पहरुमा ती मापदण्ड पालना भएको देखिँदैन।

क्षेत्रीय आयल निगम विराटनगरका प्रमुख भानुभक्त खनाल भने केही पेट्रोलपम्प अझै आयल निगमको नयाँ मापदण्डबाट बाहिर रहेको बताउँछन्। उनी भन्छन्, ‘नयाँ मापदण्ड अनुसार फ्लोरिङ, सेज, इलेक्ट्रिकल सरसमान लगायतमा पम्प व्यवसायी चुकेका छन्।’

पुराना पम्पहरुको स्तरोन्नति गराउनुपर्नेमा जोड दिँदै उनी भन्छन्, ‘केही पेट्रोलपम्पहरु फ्लोरिङ, सेड, आगो निभाउने बाल्टी, बालुवा राख्नुपर्नेजस्ता सामान्य विषयमा चुकेका छन्।’

यस विषयमा नियमन गर्ने निकाय निगम किन चुकेको भन्ने विषयमा प्रमुख खनाल भन्छन्, ‘श्रोत साधन र जनशक्तिको कमी।’

यसै विषयमा जोड दिँदै डिलर्स एसोसिएसनका अध्यक्ष न्यौपाने पनि पम्पहरुमा फ्लोरिङ, सेडजस्ता विषयमा निर्माण हुन नसकेको स्वीकार गर्छन्। उनी भन्छन्, ‘हाल सडक निर्माण, ड्रेनेज निर्माणको कार्य सकिएपछि सबै पेट्रोलपम्पहरुले आआफ्नो स्तरोउन्नति गर्नेछन्।’

अर्कोतर्फ, महानगरपालिकाभित्र अवस्थित सबै पेट्रोलपम्पको मापदण्डको विषयमा महानगरपालिकाले चेकजाँच नगर्ने सूचना अधिकृत नन्दीकेशर भण्डारीले बताए। उनले भने, ‘चेकजाँच, सुरक्षाको अवस्था आयल निगम र पम्प आफैँले हेर्ने हो। महानगरपालिकाले भने प्रदूषणको विषय हेर्ने हो।’

पछिल्लो समय महानगरपालिकाले त्यस विषयमा समेत चासो दिएको छैन। अब बन्ने पम्पहरु कम्तीमा पनि एक बिगाह क्षेत्रफलमा रहनुपर्छ। तर, नगरभित्रका धेरै पम्पहरु कम क्षेत्रफलमा रहेका छन्। त्यसले पनि जोखिम बढ्दो छ। पम्पको वरपर कुनै समयमा आगलागी भयो भने ठूलो धनजन क्षति हुने निश्चित छ। यसतर्फ सरोकारवाला कसैको पनि ध्यान जान सकेको छैन।

विराटनगरस्थित क्षेत्रीय आयल निगममा हाल ७ हजार १ सय किलोलिटर डिजेल र ५ सय ६० किलोलिटर पेट्रोल भण्डारण हुनेगर्छ।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्