सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु

धनगढी- पुस २१ देखि माघ १ सम्म धनगढीमा हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु भएको  छ। चौधरी ग्रुप नेपाल आइसले मुख्य प्रायोजन गरेपछि आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लब प्रतियोगिताको तयारीमा जुटेको हो।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ। देशकै सर्वाधिक धनराशीको गोल्डकपलाई भव्य रुपमा आयोजना गर्न विभिन्न उप समितिहरु तीव्र रुपमा काम गरिरहेका छन्।

कैलालीको धनगढीमा यसै महिनाको तेस्रो सातादेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताका लागि मुख्य प्रायोजकसँग सम्झौता भएपछि अन्य प्रायोजकहरुको खोजीसँगै आवश्य तयारीका लागि विभिन्न समिति र उपसमिति जिम्मेवारमा परेको काम गरिरहेको आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले बताए।

आयोजक क्लबका अध्यक्ष हमालले खेलकुदको विकासमा सहकार्य गरी सुदूरपश्चिमलाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास विकास र खेल पर्यटनको विकास गर्न अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउन लागिरहेको प्रतियोगिताका संयोजक धुव्र भट्टराईले जानकारी दिए।

धनगढी रंगशालामा पहिलो पटक प्रदेश नम्बर ७ मा कृत्रिम प्याराफिट वनाएर दर्शकहरुलाई खेल हेर्ने व्यवस्था मिलाउन पनि आयोजक टोली सक्रिय भएको उनले बताए।

आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब र सिजी ग्रुपको  नेपाल आइसबीच मुख्य प्रायोजनमा केही दिनअघि मात्रै सम्झौता भएको थियो। अब प्रतियोगिताको नाम दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप २०७४ रहनेछ।

प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ। अन्य प्रायोजकको पनि खोजी भइरहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

झण्डै १ करोड १० लाख रुपैयाँ खर्च हुने गोल्डकपमा देशका विभिन्न र विदेशका समेत गरी १२ टीम सहभागी हुनेछन्। ए डिभिजनका क्लबहरु, तीनवटै विभागीय टीम र भुटानको एउटा विदेशी क्लबसहित आयोजकको टीमले प्रतियोगितामा भाग लिनेछन्।

नकआउटका आधारमा हुने प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, साविक बिजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, सिएमजी क्लब संकटा, च्यासल युथ क्लब, रमपम झापा ११, सहारा क्लब, अग्नि रुपन्देही ११, धरान फुटबल क्लब र आयोजक सुदूरपश्चिम ११ का टीम सहभागी हुनेछन्।

त्यस्तै भुटानको ड्रुक स्टारले पनि प्रतियोगितामा भाग लिनेछ। थ्री स्टार एक वर्षपछि घरेलु फुटबलमा यही प्रतियोगिता मार्फत फर्कन लागेको सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका महासचिव प्रकाश शाहीले बताए।

प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। गत वर्ष विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो। यसपालिको रकमले यो देशकै सर्वाधिक धनराशीको गोल्डकप प्रतियोगिता बनेको क्लबका उपाध्यक्ष योगेन्द्र चन्दले बताए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन्। त्यस्तै उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले १५/१५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै हरेक खेलेको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका मिडिया संयोजक ओम चन्दले जानकारी दिए।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्