विदेश जाने घटे, रेमिटेन्स घट्न थाल्यो

काठमाडौँ- वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा कमी आएपछि रेमिटेन्स आय घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाहमा १.४ प्रतिशतले कमी आई २ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको हो।

गत बर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १ प्रतिशतले घटेको थियो।

निर्यातभन्दा आयातमा उच्च वृद्धि हुनुको साथै रेमिटेन्स आयमा गिरावट हुँदा चालू खाता घाटामा रहेको राष्ट्रको प्रतिवेदनमा उल्लेख गरिएको छ।

गत वर्षको चार महिनामा १ अर्ब ८६ करोडले बचतमा रहेको चालू खाता चालु बर्षको पहिलो ४ महिनामा २५ अर्ब ८१ करोडले घाटामा रहेको छ।

गत वर्षको पहिलो चार महिनामा १७ प्रतिशतले वृद्धि भएको निर्यात चालु आर्थिक बर्षको सोहि अबधिमा ७.५ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक बर्षको पहिलो चार महिनामा २६ अर्ब ३५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

चालु आर्थिक बर्षमा पहिलो चार महिनामा १०.८ प्रतिशतले आयात बढेर ३ खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ८७.४ प्रतिशतले बढेको थियो।

चालु आर्थिक बर्षको पहिलो ४ महिनामा व्यापार घाटा ११.१ प्रतिशतले बढेर ३ खर्ब ७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष सोही अवधिमा व्यापार घाटा ९७.९ प्रतिशतले बढेको थियो।

नाकाबन्दी र भूकम्पका गत बर्ष अघिल्लो बर्षको तुलनामा उच्च कारोबार हुँदा गत बर्ष आयात र व्यापार घाटा उच्च अंकले बढेको थियो।

विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकोले मुलुकको आर्थिक अवस्था मजबुत रहेको राष्ट्र बैंकले जनाएको छ।

२०७४ असार मसान्तमा १० खर्ब ७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ कात्तिक मसान्तमा २.४ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब ५ अर्ब ५२ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको ९ खर्ब २७ अर्ब २७ करोड रहेकोमा २०७४ कात्तिक मसान्तमा २.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ४८ अर्ब १८ करोड पुगेको छ।

कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले वृद्धि भएको छ । कर्जा प्रवाह र निक्षेप परिचालन बीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

त्यसैगरी, गत वर्षको पहिलो चार महिनामा २१ अर्ब ९८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु बर्षको ४ महिनामा २ अर्ब ४० करोडले बचतमा छ।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्