रेखा थापा र कार्की गाउँगाउँमा भेट्दैछन् छोरीहरु

सुर्खेत-बालबिवाह रोक्ने अभियानमा होमिएका अभियन्ताहरुले ग्रामीण भेगका बालबालिकालाई सचेत बनाउन थालेका छन्। जिल्लामा बालविवाह बढेसँगै महाअभियान सुरु गरेका अभियन्ताले घरघरमा पुगेर बालविवाहका असरबारे सचेत गराउन थालेका हुन्।
बालविवाह रोक्न समुदायको बुझाइ र गलत संस्कारमा परिवर्तन ल्याउन नायिका रेखा थापा र अन्तर्राष्ट्रिय प्रशिक्षक नरबहादुर कार्की ‘छोरीका लागि स्वर्णिम नेपाल’ महाअभियानका क्रममा ग्रामीण बस्ती पुगेका हुन्।
शनिबार सुर्खेतको पूर्वी सिम्ता गाउँपालिकामा कार्यक्रम गरेका उनीहरुले सोमबार पश्चिमको पञ्चपुरीमा सचेतनामूलक कार्यक्रम गरेका छन्। कार्यक्रमबाट स्थानीय सरकारका रुपमा रहेको नगरपालिका र गाउँपालिकाले बालविवाह न्यूनिकरण गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।
स्वच्छ तथा समृद्ध समाज निर्माणका लागि बालविवाह अन्त्य हुनुपर्ने भन्दै महाअभियान अन्तर्गत विभिन्न जिल्लाहरुमा कार्यक्रम गरिने अभियन्ता कार्कीले बताए।
बालबिवाह न्यूनीकरणसँगै अन्य सामाजिक कुरीतिका बिषयमा समेत प्रशिक्षण दिँदै उनले बालविबाह बढ्दै जानु मौन महामारी भएको बताए।
महाअभियानका अर्का अभियन्ता अभिनेत्री थापाले महिला पछि पर्नुको मुख्य कारण बालबिबाह भएको बताइन्। ‘छोरीको निम्ति स्वर्णिम नेपाल’ महाअभियानलाई साथ दिन अनुरोधसमेत गरिन् उनले। अभियानका क्रममा पञ्चपुरीबासीले बालविवाह नगर्नेसमेत प्रतिवद्धता जनाएका छन्।
