ज्यान हत्केलामा राखेर हिमालपारिको यात्रा

मनाङ- माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मर्स्याङ्दी नदी ।

यो हो मस्र्याङ्दी नदीको किनारै किनार बेँसीशहरदेखि हिमालपारिको जिल्ला मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौँ यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन् ।

लमजुङ सदरमुकाम बेँसीशहरदेखि मनाङसम्म पुग्ने सडकको स्तरोन्नति हुन नसक्दा सो बाटोमा ओहोरदोहोर गर्ने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

लमजुङको खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजार, भार्ताङ, पिसाङ, माथिल्लो मनाङ र त्यसमाथिको खाङसारसम्म जिप यात्रा गर्ने सुविधा छ । बेँसीशहर–चामे ६५ किलोमिटर, चामे–माथिल्लो मनाङ ३५ किलोमिटर र माथिल्लो मनाङदेखि खाङसारसम्म करिब सात किलोमिटर सडकखण्ड गरी करिब १०७ किलोमिटर यात्रा निकै जोखिमपूर्ण रहेको यात्रु बताउँछन् ।

व्यक्तिगत कामकाज, घुमफिरदेखि व्यापार–व्यवसाय गर्ने, सरकारी तथा गैरसरकारी निकाय र विद्यालयका शिक्षक, कर्मचारी यस सडकका नियमित यात्रु हुन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले निकै जोखिमपूर्ण छ भने अग्लो भिर, ससाना मोड, ग्रेडिङ नमिलेको र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको लोकप्रिय मावि चामेका शिक्षक सुरेश थापा बताए।

लमजुङतर्फका ताघृङ, स्याँगे, अर्खले, च्याम्चे र जगतखण्ड र मनाङतर्फका तालबजार आसपास, म्यार्दीभिर, तिमाङ छहरा, तिमाङभिर, भार्ताङ–स्वर्गद्वारी खण्डका सडकमा उच्च जोखिमयुक्त ‘प्वाइन्ट’ भएको डिभिजन सडक कार्यालय दमौलीका इञ्जिनियर गौतम श्रेष्ठले बताए।

सडकखण्डका अप्ठ्यारा केही ठाउँमा कंक्रिट गरिएको र कतिपय स्थानमा ढुंगा ‘सोलिङ’ गरेर सजिलो बनाइएको उहाँ बताउनुहुन्छ । ठूला सवारी गुडाउन निकै असहज हुने भएकाले सो सडकमा मुख्य गरी जिप नै चल्ने गर्दछन्।

नेपाली सेनाको सडक निर्माण कार्यदल गणले ट्रयाक खुलाएपछि २०६९ सालदेखि सो सडकमा गाडी गुडाइएको भए पनि सडक कतै निकै साँघुरो, कतै छङ्गाछुर भिर त कतै पहरो कोपेर बनाइएको सानो गल्छी र उकालोजस्ता अनेकौँ अप्ठ्यारा भएकाले सो सडकको यात्रा निकै जोखिमपूर्ण रहेको जिप चालक टीकाराम नेपाली बताउँछन्।

तत्कालीन नेपाली सेनाको सडक निर्माण कार्यदलले २०६९ सालमा निर्माण कार्य सम्पन्‍न गरी सडक डिभिजन कार्यालय, दमौलीलाई हस्तान्तरण गरेको हो। त्यसयता सो सडकको स्तरोन्नति हुन नसक्दा विशेष गरी मनाङका स्थानीयवासी निकै निराश बनेका छन् ।

लमजुङ–मनाङ सडकमा दैनिक कम्तीमा ७० वटा जिप गुड्ने गरेका मस्र्याङ्दी यातायात एण्ड ट्रान्सपोर्ट कम्पनीका कार्यालय प्रमुख जिबी घिमिरे बताए। राजमार्गमा गुड्ने ठूलो बस गुड्न नसक्ने भएकाले सो सडकमा साना सवारीसाधनले यात्रु तथा सामान ढुवानी गर्दै आएको उनले बताए।

आफ्नो कम्पनीमा बोलेरो जिप ७० वटा, एलएक्स र एक्सएलएक्स १० वटा गरी कुल ८० थान सवारीसाधन दर्तामा रहेको घिमिरेले बताए। नियमित गुडाउने चालकबाहेक बाहिरबाट आउने चालकले सो सडकमा सवारी गुडाउन निकै जोखिम ठान्‍ने भएकाले पनि सोही रुटका सवारीबाट नै यात्रु आवतजावत गर्ने गरेको चालक यामबहादुर गुरुङ बताउँछन् ।

ठाउँठाउँमा रहेका मोडलाई फराकिलो बनाउने, खोला, खोल्सीमा आवश्यकताअनुसार कजवे, कल्भर्ट र पुल निर्माण गर्नुपर्ने, ग्रेडिङ मिलाउने र आवश्यकताअनुरुप केही स्थानमा फराकिलो बनाउनेजस्ता कार्य गरेमा सडक सुविधाजनक र जोखिममुक्त हुने भएकाले सडक विभागले ध्यान दिनुपर्ने मनाङको तालका बासिन्दा राजन गुरुङ बताए।

लमजुङ–मनाङ सडकखण्डमा हालसम्म एक दर्जन सवारी दुर्घटना भएकोमा छ जना यात्रुले ज्यान गुमाएको पनि मनाङ प्रहरीले जनाएको छ।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्