
ललितपुर- इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल आन्दोलनग्रस्त बनेपछि प्रशव पीडासहित प्रसूति सेवा लिन पुगेका महिलालाई समेत अन्यत्र फर्काउन थालिएको छ।
मंगलबार प्रशव पीडामा अस्पताल पुगेकी एक महिलालाई त्यहाँ प्रसूति सेवाउपलब्धनहुने भन्दै थापाथलीस्थित प्रसूति गृह र एक महिलालाई पाटन अस्पतालतर्फ पठाइएको छ।
सेवा सुविधा वृद्धिको माग गर्दै अस्पतालका झण्डै तीन सय कर्मचारी आन्दोलनमा होमिएको मंगलबार १३ दिनपुगेको छ।
आन्दोलनकाकारण ओपीडी सेवा त ठप्प छ नै आकास्मिक कक्षमा पनि चोटपटकको बाहेकको उपचार भएको छैन।
आन्दोलनवार्ता समितिको सदस्य सुष्मा कट्टेल घिमिरेले आफूहरुको माग सम्बोधनमा अस्पताल व्यवस्थापन पक्षले बेवास्ता गर्दा बिरामीलाई ठूलो मर्का परेको बताइन्।

उनका अनुसार आकस्मिक कक्षमा कार्यरत कर्मचारीले समेत आफूहरुमाथि श्रम शोषण गरेको भन्दै काम गर्न छोडेका छन्।
अस्पतालमा हरेक दिन बिरामी फर्किदा र आन्दोलनले कलेजकै छवीको नकारात्मक बनाउँदा पनि अस्पताल व्यवस्थापन पक्षले आन्दोलन टुंगाउन अग्रसरता देखाएको छैन।
अस्पतालका प्रशासन प्रमुख अक्षय गौतम लगायत पदाधिकारी सम्पर्क बाहिर छन्।
लामो समयदेखि अस्पताल आन्दोलनको अखडा बन्दा र बिरामीले सेवा नपाउँदा पनि सरोकारवाला निकाय स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिल मौन छन्।