बाम नेतृत्वको सरकारमा जान राजपा लचिलो

फाइल तस्बिर।

काठमाडौँः बाम गठबन्धनको नेतृत्व गर्ने नेकपा एमाले र त्यसका शीर्ष नेता केपी शर्मा ओलाीलाई मधेस विरोधीका रुपमा लगातार चित्रित गर्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल आफ्ना माग सम्वोधन भएमा बाम नेतृत्वको सरकारमा जान तयार देखिएको छ।

हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न सफल राजपाका नेता महन्थ ठाकुरले संविधान संशोधनमार्फत आफ्ना माग पूरा भएमा सरकारमा जान सक्ने बताएका छन्।

तपार्इँहरुलाई बाम गठबन्धनले सरकारमा बोलाएको हो? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘उहाँहरुसँग फोनमार्फत कुराकानी भएको छ। भेटमा बाँकी कुरा हुन सक्ला।’

ठाकुरले सरकारमा जानेबारे बाम गठबन्धनका कुन नेतासँग कुराकानी भएको थियो भन्नेबारे भने खुलाएनन्। ठाकुरले मंगलबार सुरु भएको अध्यक्षमण्डल र राजनीतिक समितिको बैठकमा पनि सरकारमा जाने/नजानेबारे छलफल हुने बताए। आफूहरु जनताको समान अधिकार प्राप्तिका लागि संघर्षमा रहेको र त्यो प्राप्त नभएसम्म संघर्षको अन्त्य नहुने उनको भनाइ छ।

संविधान स्वीकार्य हुने छैन
समान अधिकारबाट आफूहरुलाई बञ्चित गराएको संविधानले सत्ताका दाबेदार दलहरुलाई समेत बाधा पुर्याएको ठाकुरको भनाइ छ। उनले भने, ‘यो संविधानबाट हामी त कुण्ठित छौँ नै, सरकार गठन लगायत विषयमा पनि यो बाधक बनेको छ। संविधानलाई संस्थागत गराउने उद्देश्य पनि असफल भइसकेको छ।’

प्रदेश २ को सरकार गठनको तयारी
ठाकुरले संगठन राम्रो बन्न नसक्दा थरुहट आन्दोलन लगायतका कारण सोचेजस्तो परिणाम निर्वाचनमा पाउन नसकेको बताए। तर प्रदेश नम्बर दुईमा आफूहरुको राम्रो मत आएको र प्रान्तीय सरकार गठनको गृहकार्य सुरु गरेको उनको भनाइ छ। उक्त प्रदेशमा कुनै पनि दलको एकल बहुमत नभएकाले राजपासँगै संघीय समाजवादी फोरम र एमालेका नेताहरु मुख्यमन्त्रीको दौडमा छन्।

राष्ट्रिय पार्टी बनेपछि भूमिका बढ्यो
ठाकुरले आफ्नो पार्टी राष्ट्रिय बनेसँगै त्यसको भूमिकाको दायरा पनि बढेको बताएका छन्। ‘हामीले उठाएको माग सबै नागरिकसँग सम्बन्धित छ। विभेद पहाड, हिमाल र तराई सबैतिर छ। हाम्रो देशको विविधतालाई व्यवहार र अवसर दुवैमा स्वीकार गर्नुपर्छ,’ ठाकुरले भने, ‘हामी सबै नागरिकलाई सम्मान गर्छौँ र त्यसैअनुसार जिम्मेवारी वहन गर्ने छौँँ।’

सरकारमा
राजपा नेता राजेन्द्र महताे। तस्बिर: दीपा दाहाल

संविधानले आफ्ना माग सम्बोधन नगरेको भन्दै त्यसको वहिस्कार र भारतको सहयोगमा पाँच महिनासम्म जारी आर्थिक नाकाबन्दीको जिम्मेवारी लिँदै आएका पाँच मधेस केन्द्रित पार्टी भारतको प्रत्यक्ष दबाबमा स्थानीय निर्वाचनमा सहभागी भएका थिए। त्यसै क्रममा ती समूहको पार्टी एकीकरणमार्फत राजपाको जन्म भएको थियो।

छलफलका लागि दुई दिनको बैठक
पार्टी कार्यालय बबरमहलमा मंगलबारदेखि सुरु भएको राजपाको अध्यक्षमण्डलको बैठक दुई दिन चल्ने भएको छ। बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायत विषयमा छलफलमा हुने छ। पार्टीका नेता रेशम चौधरीलाई चुनावको विजयी प्रमाणपत्र आफैँ लिन आउन सर्वोच्च अदालतले दिएको आदेशबारे बैठकमा पनि छलफल हुनेछ ।

सरकारमा
राजपा बैठकमा सहभागी नेताहरु। तस्बिर: दीपा दाहाल

समानुपातिक सिट बाँडफाटमा विवाद

समानुपातिक सांसद छनौटमा विवाद उत्पन्न भएको छ। अध्यक्षमण्डलका नेताहरुले आफू निकटलाई मात्रै सिट दिन थालेको भन्दै समानुपातिकका दाबेदारहरु लविङका लागि काठमाडौं आएका छन्। उनीहरु पार्टी कार्यालयमा नेतृत्व गरिरहेका नेताहरुलाई भेट्न तँछाडमछाड गरिरहेका छन्। प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ११ सिट जितेको राजपाले सामानुपातिकमा ६ सिट पाउने छ।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्