
काठमाडौं- नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले सरकारको नेतृत्व आलोपालो नहुने जिकिर गरे। उनले भने, ‘आलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओलीले नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैन, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्न पनि सक्नुहुन्छ, अहिले हामी छलफलमा जुटेका छौं।’
उनले पार्टीको अध्यक्षमा ओलीबाहेक गठबन्धनका शीर्ष नेताहरु पुष्पकमल दाहाल, झलनाथ खनाल र माधव नेपाल पनि बन्न सक्ने सम्भावना भएको बताए। तर, अध्यक्ष पनि र प्रधानमन्त्री पनि ओली नै बन्ने उनको विश्वास थियो।
साक्षात्कारमा नवनिर्वाचित सांसद पण्डितले गठबन्धनमा रहेका नेताहरुलाई उचित किसिमले व्यवस्थापन गर्नेबारे पनि छलफल चलिरहेको जानकारी दिए।
उनले भने, ‘हिजो चुनावमा तालमेल गर्दा पनि एउटा मापदण्ड बनाएर हामी भाग लिएका थियौं, अब एकताको लागि पनि विशेष मापदण्ड बनाएर छलफलमा जुट्छौं, यति हो कि सबै नेताहरुको उचित व्यवस्थापन हुन्छ, यसमा कुनै द्विविधा र दुई मत छैन।’
उनले सरकार गठनपछि मात्रै पार्टी एकता हुने जनाए। उनले भने, ‘पार्टी एकता हुनेमा कुनै शंका छैन, पहिले सरकार गठन हुन्छ, अनिमात्रै हामी पार्टी एकतामा जुट्छौं।’
यो पनि हेर्नुहोस्: