दृष्टिविहीन बालबालिकाका लागि सहज पाठ्यक्रम कहिले बन्छ?

कक्षाकोठामा अध्ययनरत दृष्टिवहीनहरु। तस्बिर: देशसञ्चार।

काठमाडौँ- ‘आँखा देख्दैनौँ, सामान्य किताब पढ्न मन लाग्छ तर सक्दैनौँ। परीक्षामा सोचेजस्तो नम्बर आउँदैन। हिसाबमा पनि राम्ररी गर्न सक्दैनौँ। अरुको सहयोग लिनुपर्छ,’ पोखराकी १५ वर्षीय दृष्टिविहीन स्मारिका पोखरेलले मंगलबार देशसञ्चारसँग दुखेसो गर्दैगर्दा उनको वरिपरि रहेका र उनीजस्तै सहपाठी दृष्टिविहिनहरुले मौन सहमति जनाए।

स्मारिकाले कीर्तिपुरको ल्याब्रोटरी विद्यालयमा नेत्रहीन युवा संघ र पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी दृष्टिविहीन बालबालिकालाई समेत प्रतिनिधित्व गर्दै गुनासो पोखेकी थिइन्। उनले आफू अनकूलको पाठ्क्रम उपलब्ध नहुँदा अन्य बालबालिकासरह अध्ययन मुस्किल परेको गुनासो गर्छिन्।

१६ वर्षीय महेन्द्रनगरका मनोज भट्टको पनि समस्या उस्तै छ। उनी भन्छन्, ‘दृष्टिविहीन वालबालिकाको हकहितमा काम गर्ने धेरै संघसंस्था छन्। तर, मजस्ता बालबालिकाको सहज अध्ययन/अध्यापनको व्यवस्था गर्न सरकारले सकेको छैन।’

हाल आँखा देख्ने र नदेख्ने बालबालिका एउटै विद्यालयमा एउटै पाठ्यपुस्तक पढ्दै आएका छन्। त्यतिबेला रेखा, चित्र, नक्सा तथा ज्यामितीय विषयवस्तुहरु दृष्टिविहीन बालबालिकाका लागि अध्ययन गर्न निकै समस्या आउने गर्छ।

पर्याप्त तालिम तथा अनुभवको अभावमा न त शिक्षकहरु नै त्यस विषयमा दृष्टिविहीनलाई राम्ररी बुझाउन सक्छन्, न विद्यार्थी स्वयमले यसबारेमा बुझ्नसक्ने अवस्था छ। चित्र, नक्सा वा ज्यामितीय विषयसँग सम्बन्धित प्रश्नहरुको उत्तर समेत दिननसक्ने अवस्थामा उनीहरु छन्।

एकातिर आफूभन्दा कमस्तरको लेखन सहयोगीमार्फत परीक्षा दिनु पर्ने अर्कातिर आफूले पढ्न नपाएका विषयवस्तुको उत्तर लेखी अन्य सरह प्रतिष्पर्धा गर्नुपर्ने बाध्यताका कारण दृष्टिविहीन विद्यार्थीले आफ्नो क्षमता अनुरुपको दक्षता हासिल गर्न सकेका छैनन्।

संघका अनुसार नेपालमा दृष्टिविहीन १५ सय बालबालिका सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन्। न्यून दृष्टि भएका करिब ८ हजार बालबालिका पनि विद्यालय जाने गर्छन्।

समावेशी शिक्षाविद् वीरेन्द्रराज पोखरेलले मैत्रीपूर्ण पाठ्यक्रमको आवश्यकता रहेको र यसलाई कार्यन्वयन गर्न आवश्यक रहेको बताउँछन्।

उनी भन्छन, ‘दृष्टिविहीन बालबालिकाले पनि सहज वातावरणमा मैत्रीपूर्ण पाठ्यक्रममार्फत अध्ययन गर्न पाउनुपर्छ। त्यसमा सरकारले ध्यान दिनुपर्छ।’ पाठ्यक्रम विकास केन्द्रकी शाखा अधिकृत रमा खतिवडाले मैत्री पाठ्यक्रम निर्माणमा सकारात्मक भएको र पाठ्यक्रम निर्माणमा प्रयास सुरु गरेको बताइन्।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्