राष्ट्रपतिले राजपाका शीर्ष नेताहरुलाई भेटिन्

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनबाट प्राप्त जनमत मुलुकको शान्ति, समृद्धि र स्थायित्वका लागि सदुपयोग गर्न राष्ट्रिय जनता पार्टी (राजपा)लाई सुझाव दिएकी छन्।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवलगायत राजपाका शीर्ष नेतासँग राष्ट्रपति भवन शीतल निवासमा मंगलबार साँझ भएको भेटमा राष्ट्रपतिले यस्तो सुझाव दिएकी छन्।

उक्त अवसरमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशलगायत मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए।

राष्ट्रपति भण्डारीले चुनावीमा सहभागी भई निर्वाचित भएकामा राजपाका नेताहरुलाई बधाई दिदैं मुलुकका मुख्य राजनीतिक पार्टी जिम्मेवार हुनुपर्ने र वर्तमान अवस्थामा देखिएको गतिरोधलाई धैर्यतापूर्वक अगाडि बढाउनुपर्ने बताएको प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिइन्।

मुलुकको शान्ति, स्थायित्व र समृद्धिमा लाग्न राष्ट्रपति भण्डारीले शुभकामना दिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए।

पुस ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्