पारसको कप्तानीलाई शरदको चुनौती

काठमाडौं– राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा बुधबार विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदानमा हुने यो खेलको विजेता फाइनल पुग्ने छ।
राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा विराटनगर छ भने भैरहवा राष्ट्रिय टोलीका महत्वपुर्ण सदस्य शरद भेषावकरको कप्तानीमा छ। राउन्ड रोबिनमा विराटनगरले सबै खेलमा जित हात पारेको थियो भने भैरहवाले विराटनगरसँग मात्र हार ब्यहोरेको थियो। विराटनगर ब्याटिङ र भैरहवा बलिङमा बलियो देखिएको छ।
प्रतियोगिताको बलिङ र ब्याटिङ दुवैमा विराटनगरका खेलाडी शिर्षस्थानमा छन् । ब्याटिङतर्फ विराटनगरका बाबर हायातले पाँच खेलमा दुई सय ४०, अंशुमान रठले दुई सय चार र पारस खड्काले एक सय चार रन बनाएका छन्। भैरहवाका आरिफ शेखले एक सय आठ, पुनित विष्टले तीन खेलमा एक सय सात र शरद भेषावकरले ८७ रन बनाएका छन् ।
बलिङतर्फ विराटनगरका बसन्त रेग्मीले पाँच खेलमा ११, अविनाश कर्णले सात र पारस खड्काले ६ विकेट लिएका छन् । भैरहवाका दिपेश श्रेष्ठले नौ, शरदले आठ, हरिशंकर शाहले ६, सुबोृथ भाटीले ६ विकेट लिएका छन् ।
राउन्ड रोबिनमा विराटनगरले ललितपुर प्याट्रियट्सलाई ६ रन, पोखरा राइनोजलाई तीन विकेट, चितवन टाइगर्सलाई ७१ रन, भैरहवाले ३५ रन र काठमाडौं किंग्स इलेभेनलाई आठ रनले हराएको थियो। यसैगरि भैरहवाले काठमाडौंलाई सात विकेट, ललितपुरलाई चार विकेट, पोखरालाई सात विकेट र चितवनलाई चार विकेटले हराएको थियो।