‘कन्सिस्टेन्ट’ हायातका आक्रमण

काठमाडौं–एक साताअघि एभरेस्ट प्रिमियर लिग (ईपीएल) सुरु हुनुअघि त्यति चर्चामा थिएनन्, हङकङ राष्ट्रिय टोलीका बाबर हायात । विराटनगर वारियर्सबाट ईपिएल खेलिरहेका हायातले प्रतियोगिताको सुरुवातदेखी गतिलो छाप छाडे।

नतिजाः विराटनगर अपराजित रहँदैं फाइनल पुग्यो । नतिजा यत्तिमै सिमित छैन । हायात प्रतियोगिताको फाइनल खेल बाँकी रहँदासम्म सर्वाधिक रन र सर्वाधिक अर्धसतक बनाउने खेलाडी बनेका छन्।

उनको ब्याटिङले नेपाली तथा विदेशबाट आएका खेलाडीको प्रदर्शन समेत ओझेलमा परेको छ। हायातले ६ खेलमा तीन अर्धसतकसहित तीन सय दुई रन बनाएका छन् । प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सुचीमा उनीभन्दा पछाडि रहेका अंशुमान रठ पनि विराटनगरकै खेलाडी हुन् र हङकङबाट खेल्न आएका हुन् ।
रठले दुई अर्धशतकसहित दुई सय ३० रन बनाएका छन् ।

प्रतियोगितामा एकभन्दा बढी अर्धसतक बनाउने यी दुई  ब्याट्सम्यान मात्र हुन् । त्यसमा पनि हायातको निर्धक्क र ‘कन्सिस्टेन्ट’ प्रदर्शन लोभलाग्दो रहेको छ।
बुधबार भएको पहिलो क्वालिफायरमा हायातले भैरहवा ग्लाडियटर्सविरुद्ध शानदार ६२ रन बनाए । उनी त्यतिबेला ब्याटिङमा आएका थिए जतिबेला विराटनगर एक सय २८ रनको लक्ष्य पछ्याउँदै थियो र एक रनमै पहिलो विकेट गुमाएको थियो।

तर हायातले निर्धक्कसाथ आफ्नो खेल देखाए । उनले ४४ बलमा पाँच छक्का र चार चौका प्रहार गरे। हायातसामु भैरहवाका बलरको केही लागेन। आफु आउट हुनुअघि टोलीलाई जित नजिक पु¥र्याइ सकेका थिए।

हायातले पहिलो खेलमा ललितपुर प्याट्रियट्सविरुद्ध २५ बलमा एक छक्का र पाँच चौकासहित ३४ रन बनाएका थिए। उनले पोखरा राइनोजविरुद्ध १९ बलमा तीन चौकासहित २२ रन जोडे। तेस्रो खेलमा उनले अर्धसतक बनाए, चितवन टाइगर्सविरुद्ध । उनले ४२ बलमा ६ छक्का र पाँच चौकासहित ८१ रन बनाएका थिए।
राउन्ड रोबिनमा भैरहवाविरुद्ध भएको खेलमा पनि उनले ३५ बलमा एक छक्का र दुई चौका प्रहार गर्दै ३६ रन जोेडेका थिए । हायातले पाँचौं र छैटौं दुवै खेलमा अर्धशतक हिर्काए ।
काठमाडौं किंग्स इलेभेनविरुद्ध भएको खेलमा हायातले ५० बलमा चार छक्का र पाँच चौका प्रहार गर्दै ६७ रन जोडेका थिए । प्रतियोगितामा हायात र अंशुमानको जोडी जमेको देखिन्छ। टोली संकटमा परेको बेला कम्तीमा यी दुईमध्ये एकले राम्रो खेलेका छन्, साझेदारी गरेका छन् ।

२६ वर्षिय हायात पाकिस्तानको एट्टकमा जन्मिएका हुन् । उनले हङकङ टोलीबाट हालसम्म १६ वटा एकदिवशिय अन्तर्राष्ट्रिय खेल खेल्दै आठ अर्धसतक बनाएका छन् । उनले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २४ खेल खेल्दै एक शतक र दुई अर्धसतक बनाएका छन् ।

उनी हङकङ राष्ट्रिय टोलीको प्रारम्भिक ब्याट्सम्यान हुन् । सन् २०१४ मा अफगानिस्तानविरुद्ध खेल्दै एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका बाबरले सोही वर्ष विश्वकपमा नेपालविरुद्ध खेल्दै टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

पुस १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्