मेरो कुनै स्वार्थ छैन भन्दै रोइन् उपमेयर खड्गी

काठमाडौँ-एकाएक चुलिएको रानीपोखरी विवादमा काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आफ्नो कुनै स्वार्थ नभएको बताउँदै मंगलबार आँसु नै झारिन्। बुधबार आफ्नै कार्यालय बागदरबारमा भेटिएकी उनले रानीपोखरी विवादका विषयमा कुरा गर्दागर्दै आफूमाथि उठाइएका राजनीतिक तथा कमिशनको प्रश्नले चित्त दुखाएको बताइन्।

रानीपोखरी विवादले यति ठूलो रुप लिन्छ भन्ने अनुमान नै नगरेकी उनले विषय संवेदनशील बन्दै जाँदा बजारमा उठेका प्रश्नहरु आफ्नो कल्पनाभन्दा बहिर भएको बताइन्। आँसु झार्दै उनले भनिन्, ‘सम्पदा जोगाउनेबाहेक मेरो कुनै उद्देश्य छैन, भगवानको कृपाले मसँग अरु सबै थोक छ, कमिशनको विषयमा सोच्न पनि सक्दिन।’ यस्ता प्रश्नहरु उब्जिँदा आफू रातभरि निदाउन नसकेको उनले बताइन्।

सोमबार दिउँसो मात्र पुरातत्वविद्हरुसँगको भेटमा रानीपोखरीको विषयमा जानकारी पाएकाले चासो देखाएको उनको भनाइ छ। अरुले यस विषयमा बताएपछि मात्र उनी छर्लङ्ग भइन्। यसअघि खड्गीलाई रानीपोखरी पुनर्निर्माणको विषयमा कुनै जानकारी थिएन। मंगलबार बिहान उनी आफैँ रानीपोखरी अवलोकन गर्न पुगिन्। त्यहाँ कंक्रिट प्रयोग भएको देखेपछि तुरुन्त काम रोक्न लगाइन्।

रानीपोखरीको गेटमा उनकै नेतृत्वमा ताला लगाइएको समाचार झुट भएको बताइन्। भनिन्, ‘मैले काम रोक्न लगाएको हो, तर ताला कसले लगायो मलाई थाहा छैन।’

यसलाई उनले कुनै पनि छलफलमा आफूलाई सहभागी नगराउँदाको परिणाम भनेकी छन् उनले। मेयर विद्यासुन्दर शाक्यलाई पनि उनले कुनै आरोप लगाएकी छैनन्। भनिन्, ‘उहाँलाई पनि यो सबै विषयमा जानकारी नहुन सक्छ, बसेर छलफल गरौँ र समाधान खोजौँ भनेकी हुँ।’

मंगलबार खड्गी फर्केपछि रानीपोखरी अवलोकनका लागि पुगेका मेयर शाक्यले त्यहीँबाट फोन गरेर उनलाई बोलाए। तर, रानीपोखरीमा पुगेर विवाद गर्नु उचित नभएको भन्दै खड्गी त्यहाँ गइनन्। भनिन्, ‘कार्यालय फर्केपछि छलफल गरौँला भनेकी थिएँ, तर उहाँले एकपटक पनि बोलाउनुभएको छैन।’ बुधबार बिहानदेखि मेयर शाक्य कार्यालयमा छैनन्। भनिन्, ‘उहाँ महानगरको पिता हो, म आफैँ भेट्न जान्छु भनेको तर अफिस नै आउनुभएको छैन, म आफैँ झुकेर उहाँलाई भेट्छु, कुरा गर्छु।’

महानगरपालिकाको कार्यभार सम्हालेको सात महिना बितिसक्दा पनि मेयर र उपमेयरबीच सहकार्य नभएको प्रमाण यही विवाद हो। एमालेबाट निर्वाचित मेयर र काँग्रेसबाट निर्वाचित उपमेयरको तालमेल नमिल्नुले सिधै राजनीतिक कारण प्रस्ट्याउँछ । तर, खड्गी भने यसमा कुनै राजनीतिक कारण नभएको बताउँछिन्। जनताको विश्वास जितेर पाएको यो पदको सदुपयोग गर्ने जानकारी दिँदै उनले आफैँ लचिलो बनेर समस्या समाधान गर्ने बताइन्।

महानगरपालिकाको निर्देशनमा रानीपोखरीको छेउछाउको भागमा कंक्रिट प्रयोग गरेर पुनर्निर्माण थालिएको थियो। मेयर र उपमेयर आउनुपूर्व नै यसको टेन्डर प्रकृया पुरा भइसकेको थियो। रानीपोखरीमा कंक्रिट प्रयोग गरेर यसको सम्पदा नस्ट हुने सम्पदा प्रेमीहरुको भनाइ छ। पहिले जे भएपनि आफूहरु आएपछि गलत हुन दिनु हुँदैन भन्ने तर्क खड्गीको छ। शाक्य भने कंक्रिट प्रयोग गरेर सम्पदा मास्न भन्दा पनि बलियो बनाउन खोजेको बताउँछन्।

पुस १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्