भोलिबाट लेकसाइडमा सडक महोत्सव, तयारी पुरा

पोखरा-‘सडकमै खाऊँ, सडकमै नाचौँ र सडकमै रमाउँ’ भन्ने नारासहित भोलि अर्थात पुस १३ गतेदेखि १७ गतेसम्म हुन गइरहेको १९ औँ संस्करणको सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक रेवान पोखराले जनाएको छ।

अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित सो सडक महोत्सव लेकसाइडको सहिदचोकदेखि डिहिकोपाटनसम्मको ३ किमी सडक क्षेत्रमा हुन गइरहेको छ। विभिन्न पर्यटक लक्षित कार्यक्रमसाथ हुन गइरहेको सो महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रेवान पोखराका उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए।

महोत्सवमा यसपटक कृषि मेलालाई पनि जोड दिइएको छ। महोत्सवमा सुन्तला प्रदर्शनी तथा कृषिजन्य उत्पादन तथा प्रविधिको प्रर्दशनी समेत राखिने भएको बरालले जानकारी दिए।

यसअघि रेबान पोखराका अध्यक्ष एवम् महोत्सव संयोजक चौबहादुर गुरुङको नेतृत्वमा सडक महोत्सवको प्रचार प्रसारका लागि पाल्पा, बुटबल, लुम्बिनी र सौराहामा समेत टोली पुगेको थियो।

पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण गर्ने महोत्सवको आयोजना गरेको गुरुङले बताए। ‘सडक महोत्सवले पोखरालाई विश्व वजारमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ, छुट्टै ब्रान्ड बनिसकेको यो महोत्सव यो वर्ष अझै भब्य बनाउने तयारीमा छौँ,’ उनले महोत्सवमा पोखरा र यस क्षेत्रको वरिपरिका प्राचीन कला, संस्कृति र रहनसहनको प्रचारसँगै विदेशीमाझ नेपाली कला संस्कृति चिनाउने माध्यम बन्दै गइरहेको बताए। महोत्सवमा झण्डै ५ लाख दर्शकले अवलोकन गर्ने उनको भनाइ छ ।

महोत्सव सम्पन्न गर्न फेवाताल किनारमा रहेको कोमागाने पार्कमा एक सयभन्दा बढी स्टलहरु राखिएको छ भने महोत्सव अवधिभर पर्यटकले सडकमै खानपिन र मनोरञ्जनको मजा लिनेछन्। महोत्सव आकर्षणको रुपमा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, देशका सातवटै प्रदेशवाट लोपोन्मुख साँस्कृतिक कार्यक्रम, सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम, हस्तकला प्रदर्शनी रहेको अध्यक्ष गुरुङले बताए। उनले महोत्सवबाट ९० लाख रुपैयाँ आम्दानी गर्ने र ७० लाख खर्च हुने जानकारी दिए।

पुस १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्