भेट्न पाए अमिताभलाई दिन्थेँ उनकै मुहारचित्र

आशा भोसलेको मुहारचित्र हातमा लिएका कलाकार रन्जित वाइन। तस्बिर: विनीता मरहट्टा

काठमाडौँ-पोलियोले खाएको शरीर देखेर उनलाई दयाको भावले हेर्दै हुनुहुन्छ भने माफ गर्नुहोस्, तपाईँ गलत हुनुहुन्छ। उनको कलाकारिता तपाईंको दयाभावभन्दा धेरै उच्च छ। सामान्य पेन्सिल आर्टबाटै उनी तपाईंको मन जित्न सफल छन्।

ठमेलस्थित ‘मिथिला ऐँ आर्ट ग्यालरी’मा पाँच दिनसम्म चलेको ‘कलर्स अफ विन्टर’ प्रदर्शनीमा तीन देशका कलाकारसँगै उनका चित्रहरु सार्वजनिक भए।

प्रर्दशनीका एक से एक मन लोभ्याउने चित्रसँगै एक छेउमा सजाइएका भारतीय गायिका आशा भोसले र वैज्ञानिक एपिजे अब्दुल कलामको पेन्सिल आर्ट बनाउने रन्जित बाइन उनी नै थिए।

मुहार चित्रमा उनीहरुको अनुहारको मसिनो चाउरी, रसिक मुस्कान यसरी कोरिएको थियो, चित्र हेर्ने जो कोहीलाई पनि यी चर्चित व्यक्ति सामु नै पुगेजस्तो लाग्थ्यो। रोचक त के भने रन्जितले यी चर्चित पात्रलाई कहिल्यै पनि प्रत्यक्ष देख्न पाएका छैनन्।

गुगलमा भेटिने चित्रलाई जुम गरेर नियाल्दै चित्र कोर्ने गर्छन् उनी। पहिलोपटक नेपाल आएका यी कलकत्ते कलाकारले यत्ति दुई जनाको चित्र यहाँ ल्याउन पाए। उनको संकलनमा त हजारभन्दा बढी कलाकारहरुका चित्र छन्। उनको विशेषज्ञता मुहार चित्रमा छ। थाहा पाए जति कलाकारको मुहार चित्र बनाउँदै जाँदा सबैभन्दा बढी चित्रचाहिँ अमिताभ बच्चनको बनेछ। सयभन्दा बढी चित्र अमिताभकै बनाएका छन्।

अमिताभ रन्जितका सबैभन्दा मन पर्ने कलाकार हुन्। उनको आदर्श पनि हुन्। कुनै दिन नजिकबाट भेट्न पाए दिन्थे होलान् उपहार स्वरुप अमिताभलाई उनकै मुहार चित्र।

रन्जितको कलायात्रा २५ वर्षअघि सुरु भएको थियो, जति बेला उनी कक्षा तीनमा पढ्दै थिए। चित्रप्रतिको यो रस आफ्नै पिताबाट पाएको गुण हो। उनका पिता पनि कलाकार हुन्। पिताले बनाएको चित्र हेर्दा ‘यति सुन्दर चित्र कसरी बन्ला’ भनेर सोच्थे। पिताले चित्र बनाउने प्रेरणा त दिन्थे तर चित्र बनाउने तरिका कहिल्यै सिकाएनन्। आफैँ बनाउँदै अभ्यास गर्दै अनि बुझ्दै जानुपर्छ भन्ने सिद्धान्त उनका पिताको थियो। त्यही सिद्धान्तलाई अभ्यास गर्दै उनले आफ्नो कला यात्रा थालनी गरे।

पिताको कलाले मात्र परिवार चल्थ्यो। चित्र बनाउन आवश्यक सामग्री खरिद गर्ने पैसा हुँदैनथ्यो। त्यसमाथि दुई वर्षकै उमेरमा पोलियोले गाँजेका उनी। चाहेजस्तो चित्र बनाउन गाह्रै थियो। परिवार र साथीसंगतको हौसलाले उनको आत्मविश्वास कमजोर हुन दिएन। उनलाई कहिल्यै आफ्नो शारिरीक कमजोरीको अनुभूति पनि भएन। भन्छन्, ‘आइ डोन्ट केयर माई फिजिकल प्रोब्लेम, आर्ट इज इन माइ ब्लड।’

उनको सपनाले साकार रुप त्यतिबेला लियो जति बेला उनी बिएन फाइन आर्ट्सको दैलोमा पुगे। उनी लगायत चार जना भारतीय कलाकारलाई नेपाल ल्याउने बिएन फाइन आर्ट्सका संचालक विष्णु मैतीलाई देखाउँदै भने, ‘उहाँको साथ र सहयोगले नै मलाई यहाँसम्म ल्याइपुर्‍यायो।’

अनाथ र फरक क्षमता भएका व्यक्तिहरुलाई प्रोत्साहन गर्दै आएको बिएन फाइन आर्टका प्रमुख विष्णु मैती आफैँ पनि कलाकार हुन्। सन् २०१० देखि यस्ता व्यक्तिहरुलाई लिएर चित्रकला तथा अरु साँस्कृतिक कार्यक्रम गर्दै आएका छन्।

प्रदर्शनीमा तीन देशका २६ कलाकारको चित्रहरु थिए। पहिलो पटक देश बाहिर चित्र प्रदर्शन गर्दा पाएको प्रतिक्रियाबाट रञ्जितमा कलाकारिताको जाँगर अझ थपिएको छ । भने, ‘एक दिन मैले बनाएको पोट्रेट संसार घुम्नेछ ।’

पुस १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्