पूर्वकवि-पत्रकार, जोगी र बह्माण्डको एक सदस्य

ज्ञान मित्र।

भर्खरैको कुरा हो। गोटीखेल, ललितपुरका मेरा मित्र गंगा काठमाडौं आएका थिए।

गंगा “गंगा” झैँ बग्दै अहिले जनप्रतिनिधि बन्न पुगेका छन्। अमृता प्रीतमका शब्द सापटी लिदैं भन्ने हो भने ‘सैडिस्टिक गार्जियन अफ अवर कल्चर’ ले गंगालाई राजनीतिमा होम्यौँ। नत्र उनको सम्भावना एउटा एंटरप्रेनर, अन्वेषक, लेखक, दार्शनिक, ड्रगिस्ट (अल्डुअल हक्सले), स्वप्न दृष्टा (सारा स्वप्न ‘स्वप्न’ नै रहे पनि) आत्महन्ता वा केही नभएर मजस्तो जोगी हुने प्रवल रहेको थियो।

गंगा, सावधान तिमी सामाजिक परम्पराको ठेलाइ र थिचाइले व्यापारी हुँदै नेता बन्न पुगेका हौ। सम्भावनाको बिउ अंतस र मनसको कुनाकाप्चामा कतै दबिन त सक्छ मित्र! नष्ट भने हुँदैन।

गंगाले कफी खान बोलाए, म गएँ, संयोगले कफीटेबलमा एक जना अन्य मित्र पनि आइपुग्नु भयो। उनले आफ्नो परिचय दिँदै मेरो परिचय सोधे। मलाई आफ्नो परिचय दिन कहिल्यै सहज हुन्न। अपरिचितलाई जे भनिदिए पनि त भयो? समाधान गंगाले गरिदिए, ‘उहाँ पूर्वकवि तथा पत्रकार एवम् वर्तमानमा जोगी।’

परिचय प्रसंगको खुल्दुली मैले कफीटेबलमा छाड्न सकिन। आफ्नो परिचय के हो, त्यसको साङ्गोपाङ्गो बुझ्ने लालसा ममा प्रबल हुँदै गयो। यसै क्रममा आफूलाई आफ्नोबारे थाहा भएका डाटा संकलन गर्ने मनोविनोदमा रमेँ, परिणाम यस्तो आयो।

म सन्यासी ज्ञानमित्र, परिवारले २४ जून १९६६ मा जन्मिँदा राखेको नाम अच्युतम भट्टराई। शिक्षा आइएस्सी। नागरिकता प्रमाणपत्र नम्बर को.मो. १०६, नागरिकता विराटनगर, मोरङबाट। बसाइसराइले काठमाडौं महानगरपालिकाको वडा नं. ३१ खरीबोटको मतदाता, मतदानकेन्द्र ईपीएस स्कूल। बसाइको निश्चित ठेगान नभएको कहिल्यै कपन, त कहिल्यै कीर्तिपुर।

५’३’’ ‘हाइट’ को गहुँगोरो वर्ण र तालु खुइले। शरीर भार ६७ किलोग्राम, कालो आँखा, कालो केश (मन कालो भए/नभएको खुल्न नसकेको)। नेपाल सरकारले जारी गरेको राहदानी नम्बर ३०५५७९८ बोक्ने यो प्राणी जाग्रत अवस्थामा नेपाल र भारतबाहेक अन्य कतै गएको छैन।

नेपाल टेलिकमको मोबाइल नम्बर ९८६१९७७९७९ तथा divinitycallsyou@gmail.com मेरा सम्पर्क माध्यम हुन्।

म नेपाली नागरिक, नेपाल विश्व रैकिङमा क्षेत्रफलका हिसाबले ९३ औँ स्थानमा पर्छ। भारत र चाइना(तिब्बत)को बीचमा अवस्थित। बुद्ध पनि म जस्तै नेपालमै जन्मिएका थिए। पृथ्वीको सबैभन्दा अग्लो संरचना माउन्ट एभरेस्टले पनि नेपाल चिनिन्छ। साउथ एसियाको 28o00 N 84o00 मा पर्ने कुल क्षेत्रफल १,४७,१८१  स्क्वायर किमीको भूभाग नेपाल हो। यसको उत्तरी छिमेकीसँग १२३६ किमी. तथा दक्षिणी छिमेकीसँग १६९० किमी. लामो बोर्डर लाइन छ। देश नै लामो र सबैभन्दा अग्लो भएकाले नेपालीले जीवनका अरु क्षेत्रमा लामो र अग्लो हुने चेष्टा गरी राख्नु पर्दैन!

साउथ एशियामा नेपालबाहेक भिन्नभिन्न भूभागका ७ वटा अरु देश छन्। अरु कुनै गर्व गर्ने उपलब्धि ‘साउथ एसियन कंट्री’सँग नभए पनि यो क्षेत्र जनसंख्यामा अग्र छ। १.७४९ अर्ब जनसंख्या छ, नेपाल अवस्थित साउथ एशिया क्षेत्रको।

‘वेस्ट एशिया’, ‘सेन्ट्रल एशिया’, ‘इस्ट एशिया’, ‘साउथेस्ट एशिया’ सबै जोडेर एशिया महादेश बन्न पुग्छ। म बसेको ‘एशिया कन्टिनेट’ नै सबैभन्दा ठूलो ‘कन्टिनेन्ट’ हो, विभिन्न ४८ देश छन् यहाँ। अधिकांश पीर, पैगम्बर, मसीहा, म्यासेन्जर, ईश्वरपुत्र, अवतार यहीँ जन्मेका छन्। एशिया जस्तै अरु ६ वटा ‘कन्टिनेन्ट’ ‘अफ्रिका’, ‘नर्थ अमेरिका’, ‘साउथ अमेरिका’, ‘युरोप’, ‘अष्ट्रेलिया’ एवम् अन्टार्कटिका छन्।

संयुक्त राष्ट्रसंघका हिसाबले यी सबै ‘कन्टिनेन्टमा’ १९३ देश छन्। होली सी, स्टेट अफ प्यालेस्टाइन, ताइवान, कुक आइसल्यान्ड, नियु र अन्य कतिपय स्वतन्त्र भूभाग संयुक्त राष्ट्रसंघको परिभाषामा देश होइनन्। यी सबै कन्टिनेन्ट मिलेर बनेको कुल भूभाग भन्दा झन्डै अढाइ गुणा पानीको साम्राज्य छ, भूभाग २९%, महासागर ७१%। भूभाग र महासागर मिलेर बनेको गोलालाई पृथ्वी नाम राखिएको छ, विज्ञानले यसलाई ग्रह भन्छ, यही ग्रहमा मेरो गृहवास छ।

यस अखिल ब्रह्मांडको ‘मिल्की वे’ नामक आकाशगंगाको केन्द्रबाट ‘ओरियन आर्ममा’ २७ हजार प्रकाश वर्ष टाढा अवस्थित सूर्य नामक ताराको सौर्य परिवारका सदस्य हौँ हामी पृथ्वीवासी। सूर्यको ‘ह्याभिटेबल जोनमा’ १४ करोड ९६ लाख किमी टाढा छ, हामी मानवको बसोबास रहेको पृथ्वी। मर्करी, भेनस, मार्स, जुपिटर, सैर्टन, यूरेनस, नेप्चुन हाम्रो सौर्य मण्डलका सदस्य हुन्। विगत ४० वर्षदेखि प्रत्येक मिनेटमा १८ किमीको गतिले उडिरहेको भायेजर यानले २१ अर्ब किमीको यात्रा गरिसकेको छ।

मेरो यस पृथ्वी नामधारी ग्रहका जस्तै अन्य ग्रह पनि छन्। पृथ्वी नामक मेरो ग्रहको एउटा मात्र उपग्रह छ चन्द्रमा। ५ सेप्टेम्बर १९७७ मा ‘भायेजर’ यान पठाउने बेलामा पृथ्वीको परिचय यसरी लेखिएर पठाइएको थियो।

यस अखिल ब्रह्मांडको ‘मिल्की वे’ नामक आकाशगंगाको केन्द्रबाट ‘ओरियन आर्ममा’ २७ हजार प्रकाश वर्ष टाढा अवस्थित सूर्य नामक ताराको सौर्य परिवारका सदस्य हौँ हामी पृथ्वीवासी। सूर्यको ‘ह्याभिटेबल जोनमा’ १४ करोड ९६ लाख किमी टाढा छ, हामी मानवको बसोबास रहेको पृथ्वी। मर्करी, भेनस, मार्स, जुपिटर, सैर्टन, यूरेनस, नेप्चुन हाम्रो सौर्य मण्डलका सदस्य हुन्। विगत ४० वर्षदेखि प्रत्येक मिनेटमा १८ किमीको गतिले उडिरहेको भायेजर यानले २१ अर्ब किमीको यात्रा गरिसकेको छ।

‘मिल्की वे’ आकाशगंगामा ४ सय अर्ब ग्रह, नक्षत्र, ताराहरु जस्ता पिण्ड छन्। प्रकाशलाई नै यस आकाशगंगामा एक कुनाबाट अर्को कुना पुग्न १ लाख वर्षको यात्रा तय गर्नुपर्छ। ‘मिल्की वे’ जस्तै अरबौँ आकाशगंगा छन्। सबैभन्दा नजिकको ‘एण्ड्रोमेडा’ आकाशगंगा जम्मा २५ लाख प्रकाशवर्ष टाढा छ।

कुनै दिन अर्को ‘यूनिभर्स’ कुनै पत्ता लाग्यो भने त्यो मेरो वास्तविक छिमेकी हुनेछ। म बसेको ब्रह्मांड त मेरो घर हो, घरका सदस्यका बीच पनि परिचय आदानप्रदान हुन्छ र? वन युनिभर्स, वन फेमिली।

‘एण्ड्रोमेदा’ ११० किमी. प्रति सेकेन्डको वेगले ‘मिल्की वे’ तिर अग्रसर भइरहेको छ। कुनै दिन यी दुबै ठोक्किएर एक हुन्छन्। चार अर्ब वर्षपछि यी दुवै एक भएर नयाँ नाम हुनेछ, ‘मिल्कड्रोमेदा’।

दृश्य आकाशलाई ८८ ‘कान्स्टिलेसन’ मा विभाजित गरिएको छ। ‘मिल्की वे’ ‘सैगिटेरियस कान्स्टिलेसन’ मा पर्छ। बिग बैंग थ्योरीका अनुसार १३ अर्ब पहिला प्रारम्भ भएको ‘यूनिभर्स’को विस्तार ९३ अर्ब प्रकाश वर्ष पुगेको छ। यही नै दृश्य ब्रह्मान्ड हो। यसको निरन्तर प्रकाशको गतिभन्दा धेरै गतिले विस्तार भइरहेको छ।

वैज्ञानिकहरुका अनुसार दृश्य ब्रम्हाण्ड जम्माजम्मी ५% मात्र छ। बाँकी ६८% डार्क एनर्जी र २७% डार्क मैटरको साम्राज्य छ। विज्ञानले ‘ब्लैक होल’ लाई दृश्य ब्रम्हाण्डभित्रको संरचना मान्छ। ९५% अज्ञात जम्माजम्मी ५% ज्ञात दुवैको जोड हो पूर्ण ब्रह्मान्ड।

गंगा यो हो मेरो पूरा परिचय, यो सिङ्गो ब्रह्मान्ड एउटा ‘यूनिट’ हो। होलान् अरु पनि ब्रह्मान्ड होलान्। ‘पैरेलल यूनिभर्स’ को धारणा फगत धर्मको गफ होइन। १८९५ मा अमेरीकन दार्शनिक एवम् मनोविद् विलियम जेम्सले ‘मल्टी यूनिभर्स’ परिकल्पना गरेका थिए।
१९५२ मा इरभिन श्रोडिन्जरले ‘मल्टी यूनिभर्स’ हुनैपर्छ भनी सैद्धान्तिकरण गरे। अहिले त ‘कस्मोलोजी’, ‘फिजिक्स’ ‘एस्ट्रोनोमी’, ‘फिलोसोफी’ ‘ट्रन्स्पर्सनल साइक्लोजी’ आदिले ‘पैरेलल यूनिभर्स’, ‘अल्टरनेटिभ यूनिभर्स’, ‘क्वाण्टम यूनिभर्स’, ‘इन्टरपेनेट्रेटिङ डायमेन्सन्स्’, ‘पैरेलल डायमेन्सनस्’, ‘पैरेलल वल्र्डस’, ‘पैरेलल रियलटिज’, ‘क्वान्टम रियलटिज’, ‘अल्टरनेटिभ रियलटिज’, ‘अल्टरनेटिभ टाइमलाइन्स’, ‘डाइमेन्सनल प्लेनस’ ले ‘मल्टी यूनिभर्स’ को व्याख्या गर्छन्।

कुनै दिन अर्को ‘यूनिभर्स’ कुनै पत्ता लाग्यो भने त्यो मेरो वास्तविक छिमेकी हुनेछ। म बसेको ब्रह्मांड त मेरो घर हो, घरका सदस्यका बीच पनि परिचय आदानप्रदान हुन्छ र? वन युनिभर्स, वन फेमिली।

पुस १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्