
काठमाडौं- गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘ तमु ल्होसार ’पर्व हर्षोल्लासका साथ मनाएका छन्।
बुधबार राजधानी लगायत देशभरका गुरुङ समुदायले सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाए।
काठमाडौंको टुंडीखेलमा समेत गुरुङ समाजले तमु ल्होसार हर्षोल्लासका साथ मनाए। कोही गुरुङ भेषभूषामा चुडका नाँचमा रमाइरहेका थिए भने कोही घाटु नाचमा मग्न थिए।
बुढापाकाहरु झ्याली र खैजडीमा रमाएका थिए भने शेर्का नाँचको रौनक पनि हेर्न लायकको थियो।
गुरुङ भेषभूषामा सजिएर आएका युवायुवतीले शीरमाथि घाटु लगाएर नाचगान गर्नुका साथै संस्कृतिको जगेर्ना गर्ने जनचेतानमूलक कार्यक्रम आयोजना गरेका थिए।
यस्तै गुरुङ समुदायले धादिङ मुग्लिनमा प्रभातफेरीको आयोजना गर्यो। गुरुङ भेषभूषामा सजिएका गुरुङ युवायुवतीहरु लामबद्ध लाइनमा सभागी थिए।
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिए। प्रधानमन्त्री शेर बहादुर देउवा समेत टुंडीखेलमा आयोजित ल्होसारमा उपस्थित भएका थिए।
‘तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ, उनले भने।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताए।
तस्बिरहरु: देश सञ्चार